१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रभावकारी भएन अख्तियार : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताएका छन्। आयोगको २६औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आयोग स्थापना भएको २६ वर्षमा पनि भ्रष्टाचार नियन्त्रणमा नआएकोमा आयोगले आत्ममूल्यांकन गर्नुपर्नेमा जोड दिए। 'आयोग स्थापनाको २६ वर्ष भनेको लामो अवधि हो,' प्रधानमन्त्री दाहालले भने, 'यति लामो अवधिसम्म पनि किन भ्रष्टाचार नियन्त्रण हुन सकेन? आयोगले आत्ममूल्याकंन गर्नुपर्ने अवस्था आएको छ।'

भ्रष्टाचार रोक्न अहिलेसम्म भएका प्रयासले केही सकारात्मक नतिजा देखाए पनि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अझै धेरै गर्न बाँकी रहेको उनले बताए। संविधानले परिकल्पना गरेका बृहत्तर उद्देश्य प्राप्तिका लागि आयोगले खेल्ने भूमिकाको महत्वपूर्ण स्थान हुने उनको भनाइ थियो।

आयोगले अनुसन्धान गर्दा व्यक्तिको प्रतिष्ठालाई ध्यानमा राख्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, 'विगतमा तीता अनुभव बेहोरेका छौं। म प्रधानमन्त्री भएर राजकीय भ्रमणमा छिमेकी देशहरूमा जाँदा जेजस्ता अनुभव भोग्नुपर्‍यो फेरि यस्तो कहिल्यै नदोहोरियोस्।'

दाहालले संविधान र आयोगको क्षेत्राधिकारसम्बन्धमा आयोगका प्रमुख, अन्य आयुक्त र नागरिक समाजका तर्फबाट पनि समयसमयमा ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रुपमा लिएको उनले बताए। आयोगको सम्बन्धमा नयाँ संवैधानिक व्यवस्था कति ठीक वा बेठीक भन्ने विषयको समीक्षा गर्ने सन्दर्भमा अख्तियारका कामकारबाही र अन्य निकायबीचको समन्वय, नेपालमा भ्रष्टाचारको अवस्था र नियन्त्रण सन्दर्भमा व्यवहारमा महसुस गरिने कानुनी उल्झन, भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र अन्य देशको अभ्याससमेतलाई आधार बनाउनु उपयुक्त हुने दाहालले बताए। 

सरकारले नयाँ संवैधानिक व्यवस्था कार्यान्वयनका लागि विद्यमान कानुनमा आवश्यक संशोधन, शंखघोषकर्ताको संरक्षणलगायत गर्नेगरी नयाँ कानुन तर्जुमासहितको दरिलो संस्थागत बन्दोबस्तलाई प्राथमिकताका साथ अगाडि बढाउने उनले बताए।

आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रणका लागि आयोग अविचलित रुपमा लागिरहेको बताए। 'आयोग आफ्नो कर्तव्य पथमा अविचलित र अविराम छ, त्यसैले आयोग कतै सुस्ताएको हो कि भन्ने टिप्पणी आफैँमा अर्थहीन छन्,' उनले भने, 'आयोगमा प्रतिदिन उजुरीको संख्या बढिरहेको छ, यो आयोगप्रतिको जनअपेक्षा र विश्वासको द्योतक हो।'

बस्न्यातले भ्रष्टाचार नियन्त्रणप्रति जनताको चासो र चिन्ता बढिरहेकोले आयोगका लागि चुनौती र जिम्मेवारी पनि थपिँदै गएको बताए। उनले भ्रष्टाचारको शैलीमा आएको परिवर्तनसँगै छानबिन, तहकिकात र अनुसन्धानको तौरतरिकामा समेत परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए।

आयोगले हाल गरिरहेको उजुरी फर्स्योट र मुद्दाको सफलतामा मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताउँदै उनले भावी दिनमा आयोग नयाँ रणनीति र कार्य पद्धतिका साथ प्रस्तुत हुने प्रतिबद्धता जनाए।

प्रकाशित: २९ माघ २०७३ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App