१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्बपति क्लबमा पुग्ने बैंक बढे

काठमाडौं- लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुकोे नाफा भने बढेको पाइएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ। पुस महिनासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको नाफा बढेको हो। उनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २–३ बैंकले मात्र नाफा अर्ब पुर्‍याएका थिए। तर, चालु आर्थिक वर्षको सोही अवधिमा ६–७ बैंकले अर्ब रुपैयाँ कमाउने अनुमान गरिएको छ।

२८ वटा वाणिज्य बैंकमध्ये हालसम्म १८ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। तीमध्ये चारको नाफा एक अर्बभन्दा बढी छ। अन्य बैंक अर्ब क्लबमा पुग्न नसके पनि उच्च नाफा कमाउन सफल छन्।

हालसम्म सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार अर्बभन्दा बढी नाफा कमाउनेमा एक सरकारी र तीन निजी बैंक छन्। 

सरकारी स्वामित्वको नेपाल बैंकलेले सबैभन्दा बढी नाफा कमाएको छ। उसले ६ महिनमै एक अर्ब ८९ करोडभन्दा बढी नाफा गरेको छ। नियमित रुपमा गर्ने कमाइ र रकम फिर्ता (राइट व्याक) गरेका कारण बैंकको नाफा उल्लेखनीय रुपमा बढेको हो। उसले गत आवमा भन्दा ८९ करोड बढी नाफा गरेको छ।

धेरै नाफा कमाउने सूचीको दोस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट बैंक छ। उसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा एक अर्ब ५८ करोड रुपैयाँ नाघेको छ। इन्भेस्टमेन्टको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो।

बढी नाफा कमाउने तेस्रो प्रभु बैंक हो। यसले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा एक अर्ब ११ करोड नाघेको छ। अघिल्लो वर्षको तुलनामा उसको यो नाफा पनि बढी हो। प्रभु बैंकले पुरानोे ऋण उठाएका कारण नाफा बढेको वित्तीय विवरणमा देखिन्छ।

अर्बभन्दा बढी कमाउने चौथोमा हिमालयन बैंक परेको छ। यसले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा एक अर्ब दुई करोड नाघेको छ। अघिल्लो वर्षको तुलनामा उसको यो नाफा पनि बढी हो।

वित्तीय विवरण सर्वजनिक नगरिसकेका नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि एक अर्बभन्दा बढी हुने अनुमान बैंकरले गरेका छन्।

अर्बपति क्लबमा पर्न नसके पनि एभरेष्ट बैक, ग्लोबल आइएमई र कृषि विकास बैंक अर्ब क्लबको ढोकैमा पुगेका छन्। एभरेष्टको नाफा ९७ करोड छ भने अन्य दुई बैंकको नाफा ९० करोड रुपैयाँभन्दा बढी छ। यस्तै, नेपाल एसबिआइ बैकले करिब ७६ करोड नाफा गरेको छ।

एनआइसी एसिया र सिद्धार्थ बैंकको नाफा पनि ७२ करोडभन्दा माथि छ। यसैगरी, सिटिजन्स बैंकले ६३ करोड, सानिमाले ६२ करोड, बैंक अफ काठमाण्डू लुम्बिनीले ६० करोडभन्दा बढी नाफा गरेका छन्।

प्राइम कमर्सियल बैंकले करिब ५६ करोड र नेपाल बंगालादेश बैंकले ५४ करोडभन्दा बढी नाफा गरेका छन्। लक्ष्मी बैंकले ४० करोड र मेगा बैंकले ३७ करोडभन्दा बढी नाफा गरेका छन्। सबैभन्दा कान्छो बैंक सेन्चुरीले २२ करोड ३९ लाख कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीका कारण बैंकको नाफामा ठूलो वृद्धि गर्न नसकिएको बैंकरको भनाइ छ।

बिग्रेको ऋण उठेका कारण नाफा बढाउन सकिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। 'खुद नाफा पनि अघिल्लो वर्षभन्दा बढ्ेको छ,' उनले भने, 'सम्भावित जोखिम व्यवस्थाका लागि छुट्ट्याइएको रकम फिर्ता (राइटब्याक) गरेपछि बैंकको नाफा अर्ब नाघेको हो।'

नियमित कमाइका कारण पनि बैंकको नाफा बढेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको भनाइ छ। बैंकहरुको व्यवसाय आकार बढेकोले नाफा पनि बढेको बैंकरको भनाइ छ। खराब कर्जा उठेपछि बैंकको नाफामा उच्च सुधार भएको उनीहरुले बताए।

अघिल्लो असारमा सार्वजनिक नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी चार गुणासम्म पुर्‍याउनुपर्ने प्रावधान ल्याएको थियो। यस अनुसार वाणिज्य बैंकहरुले २०७४ असार मसान्तभित्र आठ अर्ब पुँजी पुर्‍याउँदै छन्।

पुँजी वृद्धि र त्यही अनुसार लगानी गर्दा बैंकहरुको नाफा पनि बढ्दै गएको छ। नाफा बढाउन बैंकहरुले आक्रामक रुपमा लगानी गर्दै छन्, जसका कारण लगानीयोग्य पुँजी अभाव उनीहरुले खेपिरहेका छन्।

प्रकाशित: २७ माघ २०७३ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App