१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप विजेता कप्तान लाहमले संन्यास लिने

बर्लिन- जर्मनीका विश्वकप विजेता कप्तान फिलिप लाहमले मंगलबार जारी सिजनको अन्त्यबाट व्यवसायिक खेल जीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्। बायर्न म्युनिखको खेलकुद निर्दैशक बन्ने प्रस्ताव अस्विकार गर्दै लाहमले संन्यास लिने निर्णय लिएका हुन्।

‘मैले यो सिजनको अन्त्यबाट खेल जीवन टुंगाउने निर्णय लिएको छु,’ मंगलबार उल्फसबर्गलाई १–० ले पराजित गर्दै जर्मन कपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि लाहमले भने, ‘म यो सिजन भरीमात्र मैदानमा रहने छु, त्यसपछि होइन। मलाई फुटबल खेल मनपर्छ र यसले मलाई धेरै कुरा दिएको छ। तर सबै कुराको अन्त्य आउछ, मेरो खेलाडी जीवनको पनि आएको छ। मुख्य कुरा म आफ्नो करियर टुंगाउने निर्णय आफै गर्न चाहन्छु।’

लाहमले क्लबमा खाली रहेको खेलकुद निर्देशकको पद लिने प्रस्ताव अस्विकार गर्नुबारे समय नआइसकेको बताए।

‘यो विषयमा छलफल भएको थियो। तर छलफलको अन्त्यमा मैले मेरा लागि बायर्न एफसीको माथिल्लो पदमा जाने सही समय नआइसकेको बताएँ,' उनले भने, ‘सिजन सकिएपछि म फेरी स्वतन्त्र हुनेछु। त्यसपछि मैले अन्य कुरामा पनि ध्यान दिनु जरुरी छ। मसँग यसबारे विचार गर्न धेरै समय हुनेछ।'

३३ वर्षे लाहमले गत शनिबार बार्यनको तर्फबाट ५ सयौं खेल खेलेका थिए। सम्झौता अवधि एक वर्ष बाँकी रहे पनि उनी यसै जुनबाट क्लबसँग विदा हुनेछन्।

जर्मनीबाट १ सय १३ खेल खेलेका लाहमले ब्राजिलमा सम्पन्न विश्वकप २०१४ पछि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका थिए।

सन् १९९५ मा ११ वर्षको उमेरमा जर्मन महारथीमा आवद्ध भएका उनले दुई वर्ष लोनमा भिएफबी स्टुटगार्टबाट खेले पनि उनले बाँकी करियर बायर्नमा बिताएका थिए।

सन् २००१ मा डच मिडफिल्डर मार्क भान बोमेलले कप्तानी छोडेपछि लाहमले मैदानमा बायर्नको नेतृत्व सम्हालेका थिए।

उनको कप्तानीमा क्लबले सन् २०१३ मा वेम्बलीमा सम्पन्न फाइनलमा बोरुसिया डर्टमन्डलाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

त्यो सिजन बायर्नले च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप गरी तीन प्रमुख उपाधि जितेको थियो।

प्रकाशित: २७ माघ २०७३ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App