१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिलामा एपिएफ र पुरुषमा पुलिस सफल

पोखरा- नेपाली भलिबलमा विभागीय टिमको बर्चस्व कायम राख्ने क्रममा बुधबार सशस्त्र प्रहरी बलको एपिएफ महिला टोली तथा नेपाल पुलिसको पुरुष टोलीले पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेका छन्।

बुधबारको सेमिफाइनलमा एपिएफको महिला टिमले पुलिसमाथि सोझो सेटमा २५–१५, २५–१४, २५–१५ को रवाफ जमाउँदै शनिबारको फाइनलमा स्थान पक्का गर्‍यो। पुरुषमा पुलिसले फाइनल यात्रा पक्का गर्दा महिलातर्फको हारको बदला लिँदै एपिएफलाई सिकार बनायो। तर पुलिसको जित सहज भने थिएन। चार सेटसम्म संघर्ष गरेको पुलिसले ३०–२८, १९–२५, २५–१६, २५–१४ को प्रतिस्पर्धात्मक जित हासिल गर्दै फाइनलमा पाइला राख्यो।

महिलाको सेमिफाइनलमा विजयी टोली एपिएफकी रेश्मा भण्डारी वुमन अफ दी म्याच भइन्। पुरुषतर्फ पुलिसका कुलबहादुर थापाले म्यान अफ दी म्याचको उपाधि हात पारे। महिलाको फाइनलमा एपिएफले न्यु डायमन्ड वा पश्चिमाञ्चलमध्ये एकसँग खेल्नेछ भने पुरुषमा पुलिसले पश्चिमाञ्चल र आर्मीमध्ये एकको सामना गर्नेछ। पुरुष र महिलातर्फका बाँकी सेमिफाइनल खेल बिहीबार हुनेछन्।

एपिएफका प्रशिक्षक प्रकाश थपलियाले मुख्य स्पाइकर नेविका चौधरीको ठाउँमा खेलेकी हिरा केसीको प्रदर्शनको प्रशंशा गरे। 'नेविका यतिबेला नभए पनि विकल्पमा खेलेकी हिराको प्रदर्शनका कारण पुलिससँग जित सहज भयो,' उनले भने, 'पुलिस पनि सशक्त टिम हो। तर, हाम्रा खेलाडीले राम्रो खेलेकोले जित सहज भयो।' खेलकै बीचमा पुलिसकी मुख्य खेलाडी कामना विष्ट घाइते भएर खेल्न नसक्दाको फाइदा आफूलाई मिलेको थपलियाले बताए।

पुलिसका प्रशिक्षक भरत शाहले महिला टिममा सशक्त खेलाडी अभाव रहेको पुरानै भनाई दोहोर्‍याए। नयाँ र पुराना खेलाडीको संयोजनमा बनेको टिमले सुरुदेखि नै रिसिभमा कमजोरी गरेको उनको भनाई थियो।

'खेलाडीको संयोजन नमिल्दा प्रदर्शन राम्रो हुन सकेन,' कामनाको चोटले थप समस्या परेको विचार राख्दै उनले भने, 'यसैपनि खेलाडीले सर्भिस बिगारिरहेका थिए। त्यसमा कामना घाइते भएपछि अरुको आत्मबल झनै कमजोर बन्यो,' उनले भने, 'सशक्त खेलाडी चुडा खड्काको अभाव पनि खट्कियो।' चुडा व्यक्तिगत कारणले खेल्न नसकेको उनले बताए।

केही समयअघि ढोरपाटन कपमा पनि यिनै दुई टिमबीच खेल हुँदा एपिएफले पुलिसलाई हराएको थियो। पुलिसमा थुप्रै नयाँ खेलाडी थपिएको र तिनलाई परिपक्व हुन कम्तिमा २ वर्ष लाग्ने प्रशिक्षक शाहले बताए।

एपिएफका प्रशिक्षक थपलियाले पुरुषको सेमिफाइनलमा रिसिभ र डिफेन्समा कमजोरी भएको बताए। उनले स्पाइकर राजकुमार निरौलाबाट अपेक्षित प्रदर्शन हुन नसक्दा खेल थप कठिन बनेको प्रतिक्रिया दिए। 'मुख्य स्पाइकर चल्न नसकेपछि अंक आएन,' खुट्टाको चोटका कारण स्पाइकल विजय तामाङ पनि अनुपस्थित रहेको जानकारी गराउँदै उनले भने, 'रिसिभमा निकै नै कमजोरी भयो। अपेक्षा गरेको खेलाडीबाट राम्रो प्रदर्शन नभएपछि हार निश्चित हुन्छ।'

पुलिसका प्रशिक्षक शाहले पुरुषतर्फ सही समयमा रणनीति परिवर्तन गरेकाले जित सम्भव भएको प्रतिक्रिया दिए। उनले भने, 'विपक्षी टिमका खेलाडीको खेलअनुसार मार्क गरेर खेल्दाको फाइदा लिन सकियो।'

प्रकाशित: २७ माघ २०७३ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App