१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कुकलाई राहत मिल्ने स्ट्राउसको विश्वास

लन्डन(एएफपी)– इङल्यान्डको टेस्ट कप्तानीको जिम्मेवारीबाट सोमबार राजीनामा दिए पनि एलेस्टर कुकले देशबाट अझै केही वर्ष खेल्न बाँकी रहेको पूर्व कप्तान एन्ड्रयु स्ट्राउसले बताएका छन्।

इङल्यान्डलाई कीर्तिमानी ५९ खेलमा कप्तानी गरेका ओपनिङ ब्याटसम्यान कुकले इङल्यान्ड र वेल्स क्रिकेट बोर्डसमक्ष राजीनामा बुझाउदै आफ्ना लागि निर्णय कठिन भए पनि त्यसले टोलीलाई फाइदा पुग्ने बताएका थिए । उनले खेलाडीका रुपमा भने टेस्ट करियरलाई निरन्तरता दिने आशा गरेका थिए।

सन् २०१२ को अगस्टमा स्ट्राउसले कप्तानी छाडेपछि जिम्मेवारी सम्हालेका कुकले टेस्ट क्रिकेटमा टोलीका लागि सर्वाधिक ११ हजार ५७ रन जोडेका छन्।

दक्षिण अफ्रिकाविरुद्ध पराजित भएको टेस्ट शृंखलामा लय गुमाएपछि स्ट्राउसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए  । तर २०१४ मा कुक नेतृत्वको टोलीले अस्ट्रेलियासँग एसेज शृंखलामा ५–० को लज्जास्पद हार बेहोरेपछि ब्याटस्म्यान केभिन पिटरसनलाई राष्ट्रिय टोलीबाट हटाइँदा उनको बर्हिगमन छायाँमा परेको थियो ।

तर इङल्यान्ड क्रिकेट बोर्डका वर्तमान निर्देशक स्ट्राउसले कप्तानको जिम्मेवारीबाट हटेपछि आफ्ना पूर्व ओपनिङ पार्टनर कुकले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

‘मेरो विचारमा उनी दुई वटा जिम्मेवारीबाट गुज्रिरहेका थिए । एक टोलीको नेतृत्व गर्ने र अर्को राम्रो प्रदर्शन गर्ने,’ स्ट्राउसले भने, ‘कप्तानीको जिम्मेवारीबाट हटेपछि उनलाई धेरै राहत र आराम मिल्छ भन्ने मेरो विश्वास छ । उनी अहिले मात्र ३२ वर्षको भए । उनीसँग अझै तीन÷चार वर्ष टेस्ट क्रिकेटमा केन्द्रित हुदै स्वतन्त्रतापूर्वक खेल्ने समय छ ।’

कुकले इङल्यान्डको नेतृत्व गर्दै २०१३ र २०१५ मा घरेलु मैदानमा एसेज शृंखला तथा दक्षिण अफ्रिका र भारतमा शृंखला जितेको थियो ।

तर गत वर्षको अन्त्यमा भारत भ्रमणमा ४–० ले टेस्ट शृंखला गुमाएपछि उनीमाथि नेतृत्व छोड्ने दबाब बढ्दै आएको थियो ।

उनले पछिल्लो १० दिनमा आफूले कुकसँग भेट गरेको तर उनलाई निर्णयमा पूर्नविचार गर्न अनुरोध नगरेको बताए ।

उनले २०१५ मा एसेज शृंखलामा पाएको जितको श्रेय कुकलाई दिँदै उनी इङल्यान्डका महान कप्तान भएको बताए ।

‘मलाई उनको कप्तानीको कुनै सम्झना छ भने, त्यो उनले टोलीलाई सन् २०१५ मा ट्रेन्ट ब्रिजमा जिताएको एसेज शृंखला हो,’ स्ट्राउसले भने, ‘उनी टोलीले राम्रो गर्दा सधै खुशी हुन्थे । उनले व्यक्तिगत उपलब्धीका बारेमा कहिल्यै सोचेनन् ।’

टेस्ट टोलीका उप–कप्तान जोए रुटलाई सम्भावित कप्तानको रुपमा हेरिएको छ ।

तर स्ट्राउसले एक दिवसीय टोलीका कप्तान इयोन मोर्गानले टेस्ट टोलीको कप्तानीलाई निरन्तरता दिनु पर्ने बताए ।

प्रकाशित: २६ माघ २०७३ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App