१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

केदार मगर

खोटाङ, २५ माघ । “भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु।”

सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भन,  “सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म । मेरो पालामा जुत्तै पाइँदैनथ्यो । मेरो खुट्टा पनि ठूलो थियो । जुत्ता पनि अट्दैनथ्यो । अहिले पनि १६ नम्बरको जुत्ता लाउँछु । यो पनि विदेशबाट ल्याइएको ।”

गुल्म उद्घाटनका लागि हेलिकप्टरमार्फत सोमबार खोटाङ आएका महानिरीक्षक राईले विगत सम्झँदै भने – “जुत्ता बनाइ माग्न उसबेला गाउँमा बल्लबल्ल एकजना सार्की मामालाई नमस्कार गरेँ । उहाँले उत्तिसको काठ हालेर जुत्ता बनाइ दिनुभयो । गाईको नसुकेको छाला परेछ । के लाउन सकिँदो रहेछ र !” महानिरीक्षक राईले हाँस्दै भन्नुभयो – “एक दिन लगाएको खुट्टामा घाउ नै घाउ भएछ । त्यो देखेपछि बुबाले सुङ्गुरको बोसो बेस्सरी दल भन्नुभयो । बोसो दलेर घाममा सुकाएर स्कुल गएँ बेलुका आउँदा त कुकुरले खाइदिएछ । त्यो देखेर बाँकी रहेको अर्को पनि खा भनेर त्यही कुकुरलाई दिएँ ।”

गाउँमा जन्मिएर हरेस नखाई अघि बढेको चर्चा गर्दै उनले भने, “जुत्तै नलगाई भलिबल खेलेँ । भलिबल खेल्दा हामीलाई सिकाउने जापानिज गुरु छक्क परेका थिए । गुरुलाई एक दिन भोजपुरमा पु¥याउँदा कसैको खुट्टामा पनि जुत्ता नदेखेपछि उनी छक्क परेका थिए । जुत्ताको सोलजत्तिकै कडा त हाम्रो खुट्टाको पाइताला हुन्थ्यो । यो हँस्यौली पनि हो सत्य पनि हो ।”

गुल्मका जवानलाई महानिरीक्षक राईले सुझाव दिए– “मैले भन्न खोजेको जवान भाइहरुलाई हो । म निवृत्त हुन लागेको छु । मैले यसरी देश र जनताका लागि गरेँ । ढिँडो खाएर हिँडे । दुःख गरेको भन्नुहोला । हाँस्नु होला । हाँस्ने होइन । हाम्रो आइजिपी सा’वले यत्रो दुःख गरेर यत्रो हुनु भएछ हामी पनि सक्छौँ भन्ने अठोट लिनुस् ।” उनले थपे – “हाम्रो सा’व त ढिँडो खाँदो रहेछ भनेर हाँस्ने होइन । ढिँडो खाएकै मान्छे बलियो हुन्छ । स्वस्थ हुन्छ । आफू स्वस्थ भएमात्रै देश र जनताको सेवा गर्न सकिन्छ ।”

महानिरीक्षक राईले काम छैन भनेर डाँडामा बसेर जाडो भयो भन्दै कुक्रुक्क भएर नबस्न जवानहरुलाई निर्देशन दिए। “खाली समयमा पढ्ने हो । अहिले असईको भर्ना खुलेको छ । सबैले आवेदन दिनुस् । एकपल्ट फेल भएर के हुन्छ ? अर्को चोटी पक्कै पास हुन्छ । प्रहरीमा शिक्षा पनि उत्तिकै आवश्यक छ ।”

सेवाबाट अवकाश भएपछि जन्मथलो फर्कने सोचाई बनाएका का उनले भने, “ जागिर सकिएपछि घर फर्कन्छु र दुई चार हल गोरु पाल्छु, नसके भेडा गोठाला गर्छु ।”

कार्यक्रममा गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई प्रहरी महानिरीक्षक राईले सम्मानपत्र प्रदान गरे। दिक्तेल नगरपालिका–११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो ।

करिब ७४ रोपनी क्षेत्रफल जमिनमा रहेको गुल्म मझुवागढीमा छ । विसं २०६६ स्थापना भएको गुल्मको भवन सोमबार औपचारिक उद्घाटन गरिएको हो । रासस

प्रकाशित: २५ माघ २०७३ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App