१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोल पम्पमा पाँच अर्ब लगानी थपिँदै

काठमाडौं- पेट्रोल पम्प सञ्चालकले आफ्नो व्यवसाय धराशयी भएको बताइरहँदा  पेट्रोलियम कारोबारमा लगानी गर्न आकर्षण देखिएको छ। निजी क्षेत्रसहित सरकारी स्वामित्वका संस्थान पेट्रोलियम कारोबारमा लगानी गर्न तत्पर भएका हुन्।

नेपाल आयल निगमले नमूना पेट्रोल पम्प सञ्चालन गर्न गरेको आह्वानमा करिब पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेका छन्। २०६९ देखि नयाँ पम्प दर्ता गर्न बन्द गरेको निगले नयाँ मापदण्ड बनाएर 'नमुना पेट्रोल पम्प' सञ्चालन गर्न अनुमति दिने प्रक्रिया सुरु गरेपछि यो क्षेत्रमा लगानी गर्न आकर्षण देखिएको हो। निगमले 'पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैटौं संशोधन २०७३' मा नयाँ मापदण्ड तयार गरेर 'नमुना पेट्रोल पम्प' सञ्चालनको प्रस्ताव आह्वान गरेको थियो। नयाँ मापदण्ड अनुसार एउटा नमुना पम्प सञ्चालन गर्न करिब १० करोड रुपैयाँ लगानी गर्नुपर्छ।

अहिले सञ्चालनमा रहेका पम्प व्यवस्थित नभएको भन्दै निगमले गरेको आह्वानमा ५५ पम्प सञ्चालन गर्न इच्छा देखाएर आवेदन परेको छ। सडक, सवारी थपिएसँगै पेट्रोलियम पदार्थको बजारमा माग बढेकोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका पम्प सञ्चालन गर्ने तयारी गरिएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए। 'नमुना पम्प सञ्चालन गर्न उत्साह देखिएको छ,' खनालले भने, 'अब बन्ने पेट्रोल पम्प अत्याधुनिक पूर्वाधारसहितका हुनेछन्।'

अहिले मुलुकभर करिब १४ सय पेट्रोल पम्प सञ्चालनमा छन्। करिब ४० अर्ब रुपैयाँभन्दा धेरै लगानी छ। नमुना पम्पको बिक्रीस्थल तराई र भित्री मधेसमा एक बिघा, पहाडी र हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्ने व्यवस्था छ। नमुना पम्पमा न्यूनतम आठवटा सवारी साधन कम्तीमा एकपटकमा ४–४ वटा पेट्रोल र डिजेल नोजलबाट रिफ्युलिङ गर्ने व्यवस्था गर्नुपर्ने, न्यूनतम २० वटा साना–ठूला गाडी पार्क गर्न मिल्ने पाँच सय वर्गमिटरको पार्किङ एरिया राखिएको छ। इलेक्ट्रोनिक कार्डबाट समेत खरिद गर्न मिल्ने, न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने कफी सप, रेस्टुरेन्ट, एटिएम काउन्टरको व्यवस्था गर्न सकिने, चौविसै घन्टा सुरक्षा गार्डको प्रबन्ध मिलाउनु पर्ने, स्वचालित बिलिङ प्रणाली भएको हुनुपर्ने व्यवस्था छ। बिक्रीस्थलमा पुरुषको हकमा न्यूनतम दुई शौचालयसहित ६ युरिनरी र महिलालाई न्यूनतम ४ शौचालय र एक अपांगमैत्री शौचालय, स्वस्थ्यकर पिउने पानी लगायत सर्त छन्।

नमुना पेट्रोल पम्पको लागि अहिलेको मापदण्ड अनुसार एउटा पम्प निर्माण गरेर सञ्चालन गर्न करिब १० करोड रुपैयाँ लगानी गर्नुपर्ने पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ। नमुना पेट्रोल पम्प ठूलो क्षेत्रफल तथा आधुनिक सेवा हुने भएकाले यसमा निजी क्षेत्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, साझा र साल्ट ट्रेडिङ कर्पोरेसन इच्छुक देखिएका छन्। यी संस्थामार्फत व्यवस्थित पम्प निजी क्षेत्रलाई देखाउनको लागि सञ्चालन गर्न लागिएको आपूर्ति मन्त्रालयले जनाएको छ। राजधानीमा अहिले पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, साझा सहकारी, नेसनल ट्रेडिङ कर्पोरेसनले पम्प सञ्चालन गरेका छन्।

सरकारले नमुना पेट्रोल पम्प सञ्चालन गर्न पहल गर्नु सकारात्मक भए पनि अहिलेको मापदण्ड पूरा गर्न निजी क्षेत्रलाई कठिनाइ हुने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। 'पम्प सञ्चालनको इच्छा जाहेर गर्नुमात्र ठूलो कुरा होइन,' प्रधानले भने, 'लाइसेन्स होल्ड गरेर राख्ने संस्कार छ। त्यसलाई हटाउन सक्नुपर्छ।' निगमले पेट्रोलियम पदार्थ बिक्रीस्थलमा कार्यालय, बिक्रीकक्ष, पिउने पानी, अपांगमैत्री शौचालयसहित महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था हु'नुपर्ने बाध्यात्मक व्यवस्था कार्यान्वयन गर्न कठिन भएको अवस्थामा एउटै पम्पमा १० करोडभन्दा बढी लगानी गर्न जटिलता रहेको उनको दाबी छ। 'व्यवसायीलाई २.६५ प्रतिशतमात्र नाफा दिएर कसरी मापदण्ड पूरा हुन सक्छ? अध्यक्ष प्रधानले भने, 'अहिलेको मापदण्ड अनुसार १० करोडभन्दा बढी लगानी गरेर पम्प सञ्चालन गर्न सक्ने अवस्था छैन।'

निगमले नमुना पेट्रोलसँगै अहिले सञ्चालनमा रहेका पम्पको समेत पूर्वाधार परिवर्तन गर्न सुझाव दिएको छ। विनियमावलीमार्फत चार महिनामा पूर्वाधारमा सुधार ल्याउन निर्देशन दिएको हो। अधिकांश पम्पले मापदण्ड पूरा नगरेकोले व्यवस्थित गर्न निर्देशन दिएको निगम वितरण विभाग प्रमुख सीताराम पोखरेलले बताए। 'पुराना साधारण बिक्रेताको मापदण्ड अनुसार सञ्चालन रहेका पम्पलाई पनि व्यवस्थित गर्न लागेका छौं,' पोखरेलले भने, 'पेट्रोलियम बजारलाई व्यवस्थित गर्दै लैजान्छौं।'

मापदण्ड पूरा गर्न नसक्ने पम्पलाई मर्जर, जग्गा थप वा अन्य स्थानमा स्थानान्तरण गर्न सक्ने व्यवस्था गरेको छ। अहिले ड्रमबाट पेट्रोलियम कारोबार गर्ने बिक्रेतालाई नमुना पम्प बिक्रेतामा परिवर्तन गर्नुपर्ने सर्त अघि सारको छ। सञ्चालनमा रहेका पम्प राजमार्गबाट ४० मिटर र चौडाइ कम्तीमा १७ मिटर राख्नुपर्ने, पम्प परिसरमा बिक्रेताको प्रमाणपत्र, परिमाण र गुणस्तरसम्बन्धी विवरण, मूल्यसूची, हजार लिटर पानी भरिएको ट्यांकी, विश्रामस्थल हुनुपर्ने छ।

प्रकाशित: २५ माघ २०७३ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App