१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उपाधिमा मनाङको ह्याट्रिक

झापा- घरेलु मैदानमा उपाधि जित्ने आयोजक झापाको सपना १–० ले समाप्त पार्दै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार रमपम झापा गोल्डकप च्याम्पियन बनेको छ। झापा गोल्डकपको उपाधि जितेसँगै मनाङले महिना दिनभित्र लगातार तीन प्रतियोगिता जित्ने दूर्लभ सफलता आत्मसात गरेको छ।

पुसमा काँकडभिट्टा गोल्डकपमा सशस्त्र प्रहरीलाई उपाधि ह्याटि्रक गर्नबाट रोक्दै च्याम्पियन बनेको झापाले मनाङलाई भने रोक्न सकेन। मनाङको उपाधि ह्याटि्रक अभियानमा खेलाडी ओलावाले नायक सावित भए। उनकै गोलमा मनाङले सोमबार घरेलु टोलीमाथि बाजी मार्यो। यसपटक पनि झापा अघिल्लो संस्करणमा जस्तै उपविजेतामा सिमित भयो। गतवर्ष आर्मीसँग १–० ले पराजित भएपछि झापा उपविजेतामा सिमित भएको थियो।

मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जित्नुअघि मनाङले गत महिना सुदूर पश्चिमको धनगढीमा सम्पन्न खप्तड गोल्डकप र गत साता पोखरामा भएको आहा–रारा गोल्डकपमा उपाधि जितेको थियो। झापा गोल्डकपमा उपाधिसँगै टोलीले ७ लाख  रुपैयाँ पुरस्कार जित्दा उपविजेता झापाले ३ लाख ५० हजार रुपैयाँ पायो।

विर्तामोडको डोमालाल रंगशालामा फाइनल हेर्न उपस्थित १५ हजारभन्दा बढी दर्शकको समर्थन पाएको झापाले अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा घरेलु समर्थकको आशा पूरा गर्न सकेन। झापाले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नुपर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मनाङले खेलको पहिलो १५ मिनेट निकै आक्रामक खेलेको थियो । १५ मिनेटपछि लय समाउँदै घरेलु टोलीले पहिलो हाफभरी मनाङलाई दबाबमा राख्न सफल भयो। तर गोल गर्न नसक्दा त्यो प्रभावको अर्थ रहेन।

मध्यान्तरपछि दुवै टोली आक्रामक रुपमा प्रस्तुत भए। तर, गोलको अवसर निकाल्न सकेका थिएनन्। यसैबीच ६३औं मिनेटमा ओलावालेले गरेको गोल मनाङलाई उपाधि जिताउन पर्याप्त भयो। निराजन मल्लको कर्नरमा बल नियन्त्रण गरेर अर्का विदेशी सिसोकोले पोस्टमा बल प्रहार गरेका थिए। सिसोकोको प्रहार झापाका गोलकिपर एलेन न्यौपानेले राम्ररी नियन्त्रणमा लिन नसक्दा गोल सम्भव भएको थियो। एलेनको हातबाट फुत्किएको बललाई हुलमुलका बीच पेनाल्टी बक्स भित्रबाट ओलावालेले गोलमा परिणत गरेका थिए।

'फुटबलमा एक गोल नै जीतका लागि काफी हुन्छ,' मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने 'आज त्यही भयो। उपाधि जित्दा खुशी छौं।'

खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए। १५औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूको हेडले पोस्टको दिशा लिएन। ३२औं मिनेटमा पनि कर्णको प्रहार बाहिरियो। मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा रजिन धिमालको कडा फ्रि–किक मनाङका गोलरक्षक दिनेश थापाले जोगाउँदा घरेलु समर्थक निराश भए। त्यसको चार मिनेटपछि झापा अर्को अवसरमा चुक्यो। ४३औं मिनेटमा झापाका विदेशी खेलाडी मार्टिनको प्रहार मनाङका गोलकिपर दीनेश थापाले बचाए। त्यस्तै ५३औं मिनेटमा सञ्जोग राईको प्रहारले सही दिशा लिन सकेन भने ७२औं मिनेटमा कर्णको अर्को प्रयास पनि दीनेशले असफल पारे समय सकिन तीन मिनेट बाँकी रहँदा रञ्जित श्रेष्ठको प्रहारले सही दिशा लिन नसक्दा झापाले खेल १–१ को बराबरीमा ल्याउँदै अतिरिक्त समयतर्फ धकेल्ने मौका गुमायो।

उता मनाङका पनि थुप्रै अवसर खेर गएका थिए। १३औं मिनेटमा निराजन मल्लको प्रहार पोस्टभन्दा बाहिर गयो भने १६औं मिनेटमा मनाङका कप्तान सुजल श्रेष्ठले प्रहार गरेको बल झापाका गोलकिपर एलेन न्यौपाने बिट भइसक्दा पनि पोस्टमा लागेर फर्किएको थियो। १७औं मिनेटमा सुजलकोे अर्को प्रहारले सही दिशा नलिँदा चुक्चुकाएको मनाङ त्यसको दुई मिनेटपछि ओलावालेको प्रहार झापाका गोलकिपर एलेन न्यौपानेले बचाउँदा निराश भयो।

फाइनलकोे म्यान अफ दी म्याच मनाङका निराजन मल्ल भए। उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरियो।

रोहितलाई बाइक

मनाङका नेपाली राष्ट्रिय रक्षक रोहित चन्दले झापा गोल्डकपको उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कारस्वरुप बाइक जितेका छन्। उनले सयपत्री ट्रेड लिंक बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे। सर्वाधिक ३/३ गोल गरेका झापाका कर्ण लिम्बू र बुद्व चेम्जोङले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट रक्षक झापाका देवेन्द्र तामाङ भए भने उत्कृष्ट मिडफिल्डरको पुरस्कार झापाकै रञ्जित श्रेष्ठले हात पारे। यसैगरी झापाका एलेन उत्कृष्ट गोलकिपर हुँदा मनाङका छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए। उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ बनेका छन्।   

प्रकाशित: २५ माघ २०७३ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App