१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका १२ कपनस्थित ४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको छ। कपन महायान गुम्बाको पश्चिममा रहेको उक्त जग्गा २०२१ सालको नापीअनुसार २७ नम्बर कित्ताको ७ नम्बर पर्ती (सार्वजनिक) थियो। सो जग्गा हाल ध्रुवतेन शेर्पाका नाममा छ। उक्त जग्गामा महाकाल मन्दिर पनि छ।

महायान गुम्बाले २०५० सालमा वन संरक्षण भन्दै पर्खाल उठाएको थियो। पर्खाल उठाएपछि निजी जग्गा भन्दै स्थानीयलाई मन्दिरमा पूजापाठ गर्न रोक लगाएपछि जग्गासम्बन्धी विवाद सुरु भएको कपन गाविसका पूर्वअध्यक्ष मिठाराम अधिकारीले जानकारी दिए।

'सार्वजनिक जग्गा निजी भनेपछि हामीले सोधीखोजी सुरु गर्‍यौं', अधिकारीले भने। अनुसन्धानका क्रममा उक्त जग्गा व्यक्तिका नाममा दर्ता भएको फेला परेको अधिकारीले जानकारी दिए। 'सुरुमा गुम्बाले सार्वजनिक जग्गामा रहेको वन संरक्षणका लागि बार लगाएको होला भन्दै स्थानीयले प्रतिक्रिया जनाएका थिएनन्। महाकाल मन्दिरमा स्थानीयलाई रोक लागेपछि विवाद चुलिएको हो,' अधिकारीले भने।

यस सम्बन्धमा स्थानीय निकायलाई जानकारी गराउँदा सुनुवाइ नभएपछि गत मंसिर १७ देखि संघर्ष समित बनाएर विरोध सुरु गरेको अधिकारीले बताए।

स्थानीय बासिन्दा विनोद चालिसेका अनुसार स्थानीयले मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग राख्दा जग्गाधनीले मन्दिर उठाएर लैजाऊ भन्ने गरेका छन्। उनले लामो समयदेखि मन्दिरमा पूजापाठ गर्न नपाएको गुनासो गरे। आफूहरू गत शुक्रबार आन्दोलनमा उत्रिएको चालिसेले जानकारी दिए।

यस विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका थिए। अख्तियारले गत असोज ६ गते नापी कार्यालय तथा मालपोत कार्यालय चाबहिललाई उक्त जग्गाबारे जानकारी गराउन पत्र काटेको थियो।

गत पुस २९ गते नापीले अख्तियारलाई उक्त जग्गा व्यक्तिका नाममा नरहेको व्यहोरासहितको पत्र पठाएको छ। यस विषयमा अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ। पुर्जामा उक्त जग्गा व्यक्तिका नाममा देखिए पनि हालसाबिक नक्सामा भने पर्तीकै रूपमा एकै कित्तामा रहेको पूर्वगाविस अध्यक्ष अधिकारीले जानकारी गराए। नापी कार्यालय चाबहिलमा यस विषयमा थप जानकारी लिन खोज्दा सम्बन्धित फाँटका अधिकारीहरूले आफू नयाँ भएकाले जानकारी नभएको जबाफ दिए।

महायान गुम्बाका सञ्चालक पासाङ नुलु शेर्पाले भने आफूहरूले उक्त जग्गा व्यक्तिबाट खरिद गरेको भन्दै स्थानीयको दाबी अस्वीकार गरेका छन्। उनी भन्छन, 'यहाँ कुनै विवाद छैन, हामीले ४० वर्ष पहिले यो जग्गा खड्गकुमारी पण्डितबाट खरिद गरेर लिएका हौं।' जग्गा खरिद गर्दा कुनै प्रश्न नउठेको तर अहिले दोष लगाउनुको अर्थ नरहेको बताए।  

पूर्वजग्गाधनीका बारेमा भने आफूलाई जानकारी नभएको शेर्पाले बताए। ७ नम्बर पर्ती जग्गाका रूपमा रहेको ४१ रोपनी पाँच आना दुई पैसा क्षेत्रफलको उक्त जग्गा २०२५  भदौ ४ मा खड्गकुमारी पण्डितका नाममा दर्ता भएको थियो। सो जग्गा  १५७ तथा १५८ गरी दुई कित्तामा बाँडेर २०३८मा ध्रुवतेन शेर्पाका नाममा नामसारी गरिएको पुर्जामा उल्लेख छ। 

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ २०२१ को नापीअनुसार ७ नम्बर पर्ती जग्गामा परेको जमिन सरकारी तथा सार्वजनिक हुने दाबी गर्छन्। श्रेष्ठका अनुसार त्यतिबेला ७ नम्बरमा राखिएको जग्गा लालमोहर लगाएरै सार्वजनिक वा सरकारी हुने प्रावधान छ। नापीका क्रममा छुटेका धग्गाधनीलाई नापी भएको एक सय २० दिनभित्र आफ्नो जग्गा दाबी गर्ने म्याद दिइने व्यवस्था भएकाले दाबीअनुसार केही समयभित्रै व्यक्तिले आफ्नो जग्गा पाउने श्रेष्ठको तर्क छ।

तर कपनको जग्गा  २०२५ मा मात्र व्यक्तिका नाममा नामसारी भएकाले उक्त जग्गा नियम संगत नदेखिने श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार २०२१ मा जमिनलाई पाखो र धनार गरी दुई वर्गमा बाँडिएको थियो। पाखो जग्गा दुई प्रकारमा वर्गीकरण गरिएको थियो।  व्यक्तिका नाममा रहेको जग्गा १ देखि ६ नम्बरसम्मको हुने र ७ नम्बर सार्वजनिक हुने श्रेष्ठले बताए।

श्रेष्ठ सरकारी कर्मचारीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी हुने गरेको बताउँछन्। उनका अनुसार विवादित जग्गा रहेको गाविस, नगरपालिका वा अन्य स्थानीय सरकारी निकायले अदालतमा मुद्दा दायर गरेमा उक्त जग्गा सार्वजनिक जग्गाकै रूपमा यथावत् रहनेछ।

पोखरा फेवाताल आसपासको जग्गाको उदाहरण दिँदै श्रेष्ठले नागरिकसँग भने, 'फेवाताल आसपासको जग्गा पनि यस्तै प्रकृतिले व्यक्तिका नाममा बनाइएको छ। हाल फेवातालको पानीको भागसमेत व्यक्तिको स्वामित्वमा छ।' काठमाडांैमा पनि सार्वजनिक जग्गा व्यक्तिका नाममा गराउने प्रवृत्ति चुनौतीका रूपमा रहेको श्रेष्ठले बताए। 

प्रकाशित: २५ माघ २०७३ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App