१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपा जिल्ला अधिवेशन आज

काठमाडौं- एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ। पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माका अनुसार जिल्ला अधिवेशनले ७५ जिल्लामा कार्यसमिति निर्वाचित गर्नेछ। 'माघ २१ गते हामीले दुई सय ४० वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्‍यौं। मंगलबार ७५ वटै जिल्लामा अधिवेशन हुँदैछ,' प्रवक्ता शर्माले भने, 'अधिवेशनका लागि सबै केन्द्रीय नेता आआफ्ना जिल्ला पुगेका छन्।' निर्वाचित जिल्ला कार्यसमितिले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चुनेर पठाउने उनले बताए।

'पार्टी विधानअनुसार केन्द्रीय महाधिवेशनमा सबै प्रतिनिधि जिल्ला वा क्षेत्रीय समितिबाट चुनिएर आउनुपर्छ,' उनले भने, 'एउटा जिल्ला र क्षेत्रबाट नौ–नौ जना महाधिवेशन प्रतिनिधि चुनेर पठाउनुपर्छ, जसमा दुई महिला र एक  दलितको प्रतिनिधित्व अनिवार्य छ।'

केन्द्रीय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता पशुपतिशमशेर राणालगायतका नेताहरू आआफ्नो क्षेत्रबाट प्रतिनिधिमा छनोट भइसकेको उनले बताए। उनले भने, 'अधिकांश केन्द्रीय नेताहरू क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि चुनिएका छन्। बाँकी जिल्लाबाट प्रतिनिधि बनेर आउनुहुनेछ।'  

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच गत मंसिर ६ गते एकीकरण घोषणा भएको थियो। दुई राप्रपा एकतापछि आगामी फागुन ६ गते पार्टीको एकता महाधिवेशन हुन लागेको हो। महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्ने शर्माले बताए।

केन्द्रीय महाधिवेशनमा देशभरबाट करिब ३३ सय प्रतिनिधि सहभागी हुनेछन्। पार्टीले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा  विधान संशोधन समिति बनाएको छ। 'क्षेत्रीय र जिल्ला अधिवेशनका कारण विधान संंशोधन रोकिएको छ,' प्रवक्ता शर्माले भने, 'जिल्ला अधिवेशन सम्पन्न भएपछि यो कार्य अगाडि बढाउनेछौं।' विधानको मस्यौदा केन्द्रीय कार्यसमिति बैठकले पारित गरेपछि महाधिवेशनमा प्रस्तुत गरिने उनले बताए।

प्रकाशित: २५ माघ २०७३ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App