१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जहाज मर्मत गर्न दर्जन चिनियाँ इन्जिनियर

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मत गर्न जहाज निर्माता कम्पनीबाट एक दर्जन इन्जिनियर काठमाडौं आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिग्रिएर थन्किएको १७ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको उक्त चिनियाँ जहाजलाई निगमले मर्मत गरी नौ महिनादेखि उडाउन गरेको प्रयास सफल नभएपछि ती चिनियाँ इन्जिनियर आएका हुन्।

'वाई–१२ई जहाजको प्राविधिक सहयोगका लागि काठमाडौंमै रहेका प्राविधिक र इन्जिनियरको टोलीले मर्मत गरी उडाउने प्रयास गरे पनि सफल भएनन्,' सम्बद्ध स्रोतले बुधबार नागरिकसँग भन्यो, 'त्यही भएर जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनलबाट एक दर्जन चिनियाँ इन्जिनियर ल्याइएको हो।'

यहाँ रहेका चिनियाँ प्राविधिकले यसअघि नै इन्जिन निर्माता कम्पनीबाटै इन्जिनियर नल्याई जहाज मर्मत हुन नसक्ने बताएका थिए। त्यसपछि निगमले इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीबाट इन्जिनियर ल्याउनुअघि जहाज निर्माताबाटै इन्जिनियर ल्याउने निर्णय गरेको थियो।

 

२०७२ कात्तिकमा थन्किनु अघिसम्म वाई१२–ई जहाजले नियमित उडान गरिरहेको थियो। त्यसबेला चिनियाँ जहाज निर्माता कम्पनीले उपलब्ध गराइदिएको प्रशिक्षक पाइलट फिर्ता जानु र निगमसँग आफ्नै प्रशिक्षक पाइलट नभएपछि 'ग्राउन्डेड' भएको थियो। 

लामो समय ग्राउन्डेड भएपछि निगमले आफैं प्रशिक्षक पाइलट तयार गरेको थियो। त्यसपछि गत वैशाखमा यो जहाजको परीक्षण उडान गरिएको थियो। उडान सकेर अवतरण गरेपछि जहाजको एउटा इन्जिनमा समस्या उत्पन्न भएको थियो।

'चीनबाट आएका इन्जिनियरले जहाज मर्मत कार्य सुरु गरिसकेका छन्,' स्रोतले भन्यो, 'केही दिनभित्रै मर्मत सकेर जहाजलाई उडानयोग्य बनाउन सकिने ती इन्जिनियरले बताएका छन्।'

वाई१२–ई जहाजले पुनः उडान सुरु गरे पनि निगमलाई फाइदा भने हुनेछैन। निगमले नै तयार पारेको विवरणअनुसार २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो। त्यति अवधिमा इन्धनका लागि १ करोड ४९ लाख खर्च भएको थियो।

यसको बिमावापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना/खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो। यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ। यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँबराबर हो।

जहाज निर्माताले १८ सिटयुक्त भने पनि १७ यात्रु अट्ने वाई१२–ईलाई उडाउन निगम व्यवस्थापनले लामो समयदेखि प्रयास गरे पनि सफल भएको छैन। चीनबाट पनि प्रशिक्षक पाइलट ल्याउन नसक्दा थप समस्या थियो। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ।

चिनियाँ जहाज 'सेतो हात्ती' प्रमाणित भएपछि निगम व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरी चिनियाँ जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सबै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालकदलको तालिम खर्च कटौती र बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने जानकारी गराएको थियो।

अझै तीनथान वाई१२–ई जहाज चीनबाट ल्याउन बाँकी छ। सबै जहाज सहुलियत ऋणमा ल्याउन चीनसँग सम्झौता भइसकेको छ। नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ। ल्याउन बाँकी चार जहाजको कुल रकमको ६० प्रतिशत अर्थात २ अर्ब २३ करोड ६८ लाख रुपैयाँ चुक्ता भइसकेको छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको हो। यी जहाज अर्थ मन्त्रालयले करिब दुई प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ।

प्रकाशित: २३ असार २०७३ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App