१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रेम सम्बन्ध एक्कासि एसिडमा बदलिएपछि...

भैरहवा- धादिङका एक युवकले आफूसँग बिहे गर्न नमानेको भन्दै एसिड प्रहार गरी नवलपरासीकी एक युवतीको हत्या गरेका छन्। धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटालाई आइतबार राति बुटवलस्थित एक होटलमा एसिड प्रहार गरेका थिए।

एसिडबाट गम्भिर घाइते भएकी सापकोटाको उपचारका लागि काठमाडौं लैजाने क्रममा सोमबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासीनीले बताए। घाइते सापकोटालाई आइतरबार राति नै उचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज रेफर गरिएको थियो। मेडिकल कलेजले थप उपचारका लागि काठमाडौं पठाएपछि लैजाने क्रममा युवतीको मृत्यु भएको हो।

युवतीको टाउको र अनुहार तथा शरीरका अधिकांश भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। एसिड छ्याप्ने युवकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ।

सुनिल र तुलसा आइबार अपरान्ह ४ बजेतिर बुटवलस्थित मेरिडियन होटलमा कोठा बुक गरी बसेका थिए। उनीहरुले होटलमा श्रीमान श्रीमती भनेर कोठा लिएको बताइएको छ। युवतीसँगै उनकी सानीआमा पर्ने देवी भनिने मीना खरेल पनि सँगै आएको र छुट्टै कोठा लिएर बसेको प्रहरीले जनाएको छ।

तुलसा सुनीलसँग एक्लै घुम्न आउन नमानेकाले सानीआमा पर्नेलाई साथैमा लिएर आएको बताइएको छ। सुनिलले अबेरसम्म मदिरा सेवन गरी बसेको भए पनि तुलससँग झैझगडा गरेको आफूहरुले थाहा नपाएको होटलका कामदारले बताएका छन।

राति पौने १२ बजेतिर एक्कासी युवती चिच्याएको आवाज सुनेपछि होटलका कामदारले थाहा पाएका थिए। अचानक राति युवक बाहिर भाग्न खोजेको र युवती चिच्याएको सुनेपछि तत्काल प्रहरीलाई खबर गरिएको होटल सञ्चालकले बताएका छन्। तत्काल घटनास्थल पुगेको प्रहरीले सुनीललाई होटल परिसरबाटै नियन्त्रणमा लिएको थियो।

'हामी त्यहाँ पुग्दा कोठा एसिडको ग्यासले भरिएर कुहिरीमण्डल थियो। भित्र पस्न सक्ने स्थिति नै थिएन,' इलाका प्रहरी कार्यालय बुटवलका अनुशन्धान अधिकृत प्रहरी निरीक्षक भिमलाल भट्टराइले भने, 'युवती बेहोस लडिरहेकी थिइन्।'

एसिडले युवतीको टाउकाको रौँ पूरै जल्नुका साथै अनुहार र शरीरका अधिकांश भाग जलेको भट्टराइले बताए। प्रहरीले घटनास्थलबाट एसिड राख्न प्रयोग भएको बियरको बोतल बरामद गरेको छ। युवतीको हत्या गर्ने नियत अनुसार योजनाबद्ध तरिकाले होटलको कोठा बुक गरी बसेको र बियरको बोतलमा कडा खालको एसिड भरेर ल्याएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भट्टराइले बताए।

पक्राउ परेका ती युवकले प्रहरीसमक्ष आफूले एसिड प्रहार गरेको स्वीकारेका छन्। आफूसँग प्रेम गरेपनि बिहे गर्न नमानेको र अर्कैसँग लागेकाले त्यसको बदला लिन एसिड हानेको बयान प्रहरीलाई दिएका छन्। घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकको भिम अस्पताल भैरहवामा पोष्टमार्टम गरी आफन्तले शव बुझी लगेका छन्। मृतककी आमाले आफ्नी छोरीको हत्यारालाई कडा कारबाहीको माग गर्दै इप्रका बुटवलमा जाहेरी दिएकी छन्। धादिङका सुनिल र नवलपरासीकी तुलसाबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ। उनीहरुको वैदेशिक रोजगारीका क्रममा भेट भएको प्रहरीले जनाएको छ।

तुलसा अविवाहित भए पनि सुनिल विवाहित भएको बताइएको छ। तर यसको पुष्टि भइनसकेको प्रहरीले जनाएको छ। तुलसा आफ्नी आमासँग बस्दै आएको बताइएको छ।

प्रकाशित: २४ माघ २०७३ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App