१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेट खर्च गर्न सक्दैनन् गौरवका आयोजना

काठमाडौं-सरकारले चर्को रूपमा प्रचारप्रसार गर्दै आइरहेका राष्ट्रिय गौरवका आयोजना पछिल्लो समयमा विनियोजित बजेट नै खर्च गर्न नसक्ने अवस्थामा पुगेका छन्।
जसले गर्दा गौरवका आयोजना चाँडो सम्पन्न होलान् र त्यसबाट लाभ लिन पाइएला भनेर आशामा रहेका सर्वसाधारण झन् निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले सुरु गर्दा नै केही आयोजनालाई गौरवका भन्दै नामाकरण गरेपछि त्यस्ता आयोजना चाँडै सम्पन्न हुने र त्यस्ता आयोजनाबाट मनग्य लाभ लिन आशामा ठूलो संख्याका सर्वसाधारण आशावादी रहँदै आएका छन् ।
सरकारले सडक, सिँचाइ, विमानस्थल खानेपानी लगायत देशभरिका २१ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भन्दै आएको छ । ती आयोजनालाई बजेट र जनशक्तिमा सम्पन्न बनाइएको सरकारी कर्मचारीले दाबी गर्दै आएका छन् । प्रयाप्त बजेट र जनशक्तिको व्यवस्था गरिएकाले गौरवका आयोजना निर्धारित समयमै सम्पन्न हुने धेरैको अनुमान विपरित पछिल्लो समयमा बजेट नै खर्च गर्न नसक्ने स्थिति सृजना भएको हो ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुससम्म ) मा राष्ट्रिय गौरवका कुनै पनि आयोजनाले तोकिएको बजेट खर्च गर्न सकेनन् । तोकिएको बजेट खर्च गर्न नसकेपछि सबै आयोजना भौतिक प्रगति प्राप्तीमा पनि असफल भएका छन् । ६ महिनाको अवधिमा पाँच वटा गौरवका आयोजनाको खर्च प्रतिशत शून्यको वरिपरि छ । दक्षिण–एसिया पर्यटन पूर्वाधार विकास आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको खर्च शून्य छ । बूढीगण्डकी जलविद्युत आयोजनाको खर्च ०.४७ र काठमाडौं–तराईं द्रुत मार्गको खर्च ०.०५ प्रतिशत  रहेको मन्त्रालयले जनाएको छ ।
६ महिनाको अवधिमा रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले सबभन्दा बढी विनियोजितमध्ये ५८.२८ प्रतिशत बजेट खर्चेको छ । एक वर्षका लागि एक अर्ब ४१ करोड ५७ लाख ५२ हजार बजेट विनियोजन गरिएको उक्त आयोजनाले ६ महिना बित्दा ८२ करोड ४९ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ । रानीजमरा–कुलरियापछि धेरै रकम पुष्पलाल लोकमार्गले खर्च गर्न सकेको छ । उक्त आयोजनाले पुस मसान्तसम्म ४५.२६ प्रतिशत विनियोजित बजेट खर्चेको छ । चालु आर्थिक वर्षका लागि दुई अर्ब ८८ करोड ७१ लाख १६ हजार रुपैयाँ बजेट छुट्टाइएको उक्त आयोजनाले अहिलेसम्म एक अर्ब ३० करोड ६८ लाख २५ हजार रुपैयाँ खर्च गरेको हो । पूरै वर्षका लागि एक अर्ब ४१ करोड ५७ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको सिक्टा सिँचाइ आयोजनाले ६ महिनामा ४२.३६ प्रतिशत बजेट खर्च गरेको छ ।
६ महिनाको अवधिमा करिब ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने भए पनि अधिकांश आयोजनाले तोकिएको रकम खर्च गर्न असफल भएपछि बाँकी रकम आर्थिक वर्षभित्र खर्च गर्न सक्छ या सक्दैनन् भन्ने अन्योल यथावत छ । कर्मचारी र ठेकेदारले ढिलासुस्ती गर्दा सर्वसाधारणको विकास पाउने चाहनामा सधैं तुषारापात हुने गरेको छ । कतिपय सर्वसाधारण भने एउटै आयोजनामा लामो समयसम्म रहन खोज्ने कर्मचारीका कारण बजेट खर्चमा समस्या भइरहेको गुनासो गर्छन् ।
राष्ट्रिय गौरवका आयोजना मात्र नभई ठूला आयोजनाको विकास बजेट खर्चको अवस्था पनि उस्तै छ । सरकारले ठूला भनेका कुनै पनि आयोजनाले तोएिकएको बजेट खर्चन नसकेको मन्त्रालयले जनाएको  छ । गौरवका र ठूला आयोजनाको नेृतत्व गरिरहेका कर्मचारी भने मन्त्रालय तहबाट ठेक्कापट्टामा ढिलो गरिनु, आयोजनालाई आवश्यक पर्ने नदीजन्य पदार्थ र निर्माण सामग्रीको अभाव जस्तालाई कारणको रूपमा लिन्छन् । विगतका वर्ष समयमै बजेट नआउँदा त्यसलाई मुख्य कारणको रूपमा देखाउने कर्मचारी र ठेकेदारको यसपटक भने समयमै बजेट आउँदा मुख बन्द भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते बजेट घोषणा गरेको थियो । बजेटलगत्तै सरकार परिवर्तन भएपछि भने कार्यान्वयनमा केही समय अलमल परेको थियो ।

 

 

प्रकाशित: २४ माघ २०७३ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App