१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोरेसको दुई गोल

बार्सिलोना(रोयटर्स)– लियोनल मेसीले फ्रि–किकमा क्लबका लागि सबैभन्दा धेरै गोल गरेको दिन बार्सिलोनाले शनिबार एथलेटिक बिल्बाओलाई ३–० ले पराजित गरेको छ। जितसँगै सबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष क्लब रियाल मड्रिडसँगको दुरी घटाएको छ।

गत वर्ष भ्यालेन्सियाबाट ३ करोड २० लाख अमेरिकी डलरमा क्याम्प नोउ आएका पाको एल्कासरले क्लबका लागि गरेको पहिलो गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । एल्कासरले १८ औं मिनेटमा नेइमारको पासालाई सदुपयोग गरेका हुन् । ४० ओैं मिनेटमा मेसीले फ्रि–किकमा गोल गर्दै क्याटलान क्लबको अग्रता दोब्बर पारे । मेसीले बार्सिलोनाका लागि फ्रि–किकबाट गरेको यो २७ औं गोल हो । ६७ औं मिनेटमा एलेक्स भिडालले एकल प्रयासमा अर्को गोल थपेपछि बार्सिलोनाले सहज जित हात पारेको थियो।

‘पहिले धेरै समय खेल्न नपाएका खेलाडीले आफूलाई प्रमाणित गरे,’ बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘हामीले केही खेलाडीलाई आराम दिएका छौं । यस्तो नगरे खेलाडीले शतप्रतिसत प्रदर्शन गर्न सक्दैनन् । आज हामीले महत्वपुर्ण ३ अंक लिएका छौं ।’

इनरिकेले लुइस स्वारेज, इभान र्‍याकेटिक र हाभियर मास्चेरानोलाई आराम दिएका थिए । जितपछि बार्सिलोनाले रियालसँगको दुरी १ अंकमा घटाएको छ । तथापी रियालले २ खेल कम खेलेको छ । २१ खेलबाट बार्सिलोनाले ४५ अंक जोड्दा रियालले १९ खेलबाट ४६ अंक जोडेको छ ।

कमैमात्र पहिलो रोजाइमा पर्ने फर्नान्डो टोरेसले २ गोल गरेपछि एट्लेटिको मड्रिडले लेगानेसमाथि २–० को विजय हासिल गरेको छ । स्पेनका फरवार्ड टोरेस खेल अवधिभर विपक्षीमाथि हावी भए । तथापी उनले दोस्रो मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए ।

१४ औं मिनेटमा एट्लेटिकोले पाएको पेनाल्टी अवसरमा एन्टोनी ग्रिजम्यान गोल गर्न चुके । तर, रिबाउन्डमा पाएको बललाई टोरेसले पोस्टको दिशा दिएका थिए । एन्जेल कोरेराको पासमा टोरेसले ५१ औं मिनेटमा अग्रता दोब्बर पारे । जितपछि २१ खेलबाट ३९ अंक जोडेको एट्लेटिको चौथो स्थानमा कायम छ।

शनिबारै भ्यालेन्सियाले घरेलु मैदानमा एइबारलाई ४–० को नतिजा सुम्पियो । जितपछि ३२ अंक जोडको एइबार सातौं स्थानमा उक्लिएको छ भने भ्यालेन्सिया १९ अंकका साथ १६ औं स्थानमा छ । जुन रेलिगेसन क्षेत्रको स्र्पोटिङ गिजोनभन्दा ६ अंकले मात्र माथि हो । मालागालाई १–० ले पराजित गरेको स्पान्योल ३२ अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: २४ माघ २०७३ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App