१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'सर्वसाधारणसँग भएको प्रतिबन्धित भारु साटिदिनु पर्छ'

काठमाडौं- सर्वसाधारणसँग भएको प्रतिबन्धित ५०० र हजार दरका भारु के गर्ने भन्ने सम्बन्धमा भारतले अहिलेसम्म कुनै निर्णय नदिए पनि त्यस्ता भारु नोट नेपाल सरकाले साटिदिन सक्नुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले बताएका छन्।

प्रसिडेन्सियल बिजनेस स्कुलले शनिबार प्रतिबन्धित ५०० र हजार दरका भारु नोटले नेपालमा पारेको प्रभावबारे आयोजना गरेको एक कार्यक्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन्। 'सर्वसाधारणसँग भएका प्रतिबन्धित ५०० र हजार दरका भारु नोट भारतले नसाटिदिए पनि नेपाल सरकारले नै साटिदिनु पर्छ,' उनले भने, 'भारतले साटिदिएन भनेर राष्ट्र बैंक चुप लागेर बस्न हुँदैन, सरकारले साटिदिनु पर्छ।'

भारतले आ‰नो देशमा ५०० र हजार दरका भारु नोट प्रतिबन्ध लगाएको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पनि प्रतिबन्ध लगाएको थियो। 'भारत सरकारले आफ्ना नागरिकलाई जुन सूचना सम्पे्रषण गर्‍यो, त्यही सूचना नेपाल सरकारले पनि जारी गर्‍यो,' उनले भने, 'भारतको आदेश हामीले पालना गर्नुपर्ने थिएन।'

नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र भएकाले पनि आफ्नो निर्णय आफैं गर्न सक्नुपर्ने तर्क पूर्वगभर्नर खतिवडाको थियो। 'भारतको आदेश हामीले पालना गर्नुपर्ने थिएन,' उनले भने, 'सर्वसाधारण नेपाली कोसँग कति नोट थियो त्यसको घोषणा गर्नु दिनुपर्थ्यो, त्यो पनि नगरी हतारमा सरकारले प्रतिबन्ध लगायो।'

नेपालीसँग कति प्रतिबन्धित भारु नोट छ भन्ने न राष्ट्र बैंकलाई थाहा छ न सरकारलाई नै। भारतले नेपालको बैंकिङ प्रणाली र सर्वसाधारणसँग भएको प्रतिबन्धित नोटको फेहरिस्त मागेको थियो। तर, नेपालमा सर्वसाधारणसँग रहेको प्रतिबन्धित भारु नोटको यकिन तथ्यांक नभएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको रकमबारे जानकारी दिए पनि सर्वसाधारणसँग प्रतिबन्धित नोट कति रहेको छ भन्ने यकिन तथ्यांक दिन नसकेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए। 'कसको खल्तीमा कति छ, म भन्न सक्दिन, मेरो खल्तिमा भएको पनि अरुले भन्न सक्दैन,' उनले भने, 'सर्वसाधारणसँग भएको पैसा पनि त्यही हो।'

केही दिनअघि डेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा एउटा टोली भारत गएको थियो। उक्त अवसरमा नेपालमा रहेको प्रतिबन्धित भारु नोट कति छ भनी रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) स्पष्ट तथ्यांक मागेको पनि उनले उक्त अवसरमा जानकारी दिए। 'सर्वसाधारणसँग भएको रकमको इस्टमेट दिन सकेनौं,' उनले भने।

प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली नेपाल आउने पनि डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए। आरबिआईको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेट गरी प्रतिबन्धित भारुको समस्या समाधान गर्ने राष्ट्र बैंकको भनाइ छ।

भारतले हजार र ५०० दरको नोटमा लगाएको प्रतिबन्धको नेपालमा असर परेको नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको बैंक, फाइनान्स तथा बिमा समितिका सभापति शंकरप्रसाद पाण्डेले बताए। 'भारतमा पढ्न जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी र धार्मिक पर्यटनमा जाने तिर्थालुुले भारुको अभाव खेपिरहेका छन्,' उनले भने, 'सीमावर्ती क्षेत्रका बासिन्दाले पनि भारु नोट नभएका कारण व्यापार व्यवसाय प्रभावित भएको बताएका छन्।'

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भारतले हजार र ५०० दरको नोटमा लगाएको प्रतिबन्धलाई खराब कदमको संज्ञा दिए। 'भारतले भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न त्यस्तो निर्णय गरेको भने पनि त्यस्तो तर्कको कुनै पुष्टि भएन,' उनले भने, 'भारु नोट प्रतिबन्ध लगाउनु भनेको हावादारी निर्णय गर्नु हो।'

नेपाल भ्रमणमा आएको आइएमएफको आर्टिकल फोर मिसनले पनि प्रतिबन्धित भारु नोट सटहीका सम्बन्धमा भइरहेको प्रगतिबारे राष्ट्र बैंकका प्रतिनिधिसँग जिज्ञासा राखेको थियो। भारतले हजार र ५०० दरको नोटमा लगाएको प्रतिबन्धको नेपालमा असर पर्ने अनुमान आइएमएफले गरेको थियो।

अहिलेसम्म भारतले केही उत्तर नपठाएपछि नेपालमा रहेका उक्त दरका नोटकोे वैधानिक अस्तित्व समाप्त भएको कतिपयको भनाइ छ। नेपाल राष्ट्र बैंक भने अझै पनि नोट साटिनेमा आशावादी छ।

रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले त्यहाँका वाणिज्य बैंकलाई ५०० र हजार दरका भारु नोट मंसिर अन्त्यदेखि नसाट्न निर्देशन दिएको छ। आइबिआईमा उक्त दरका नोट साट्ने व्यवस्था मिलाएको छ। स्रोत उल्लेख गरेर प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न पाउने छन्।

नेपालमा रहेका प्रतिबन्धित भारु नोट सटही गर्ने विषयमा भारतसँग कूटनीतिक तरिकाबाट समेत बारम्बार प्रयास भइरहेको छ। तैपनि त्यस्तो प्रयास सफल भएको छैन।

नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५०० र हजार दरका तीन करोड ३६ लाख ९० हजार भारु नोट रहेको राष्ट्र बैंकको तथ्यांक छ। यसबाहेक सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छ। भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गतेे बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५०० र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ। नेपाल राष्ट्र बैंकले पनि त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो।

नेपाली २५ हजार भारुसम्म उक्त दरका नोट राख्न पाउने व्यवस्था छ। यस्तो व्यवस्था भएकाले पनि सर्वसाधारणसँग ठूलो परिमाणमा उक्त नोट भएको अनुमान केन्द्रीय बैंकको छ। ठूला दरका नोट लान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले जोहो गरेर राखेको अनुमान उसले गरेको छ।

 

प्रकाशित: २३ माघ २०७३ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App