१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशी रोजगार छाडेर तरकारीखेती

जगत खड्का

बझाङ- दुबई, मलेसिया लगायत देशमा रोजगारीका लागि गइरहने जयपृथ्वी नगरपालिका–७ का गजेन्द्र ओली अहिले गाउँमै तरकारीखेती गर्न थालेका छन्। छोरीले घरमा आउन र सँगै बस्न कर गरेपछि ३५ वर्षीया ओली गाउँ फर्केर तरकारीखेतीमा लागे।

अहिले उनलाई सबैले 'तरकारी किङ' भन्न थालेका छन्।  विदेशमा राम्रो कमाइ हुने भन्ने सुनेपछि ओली शंकरदेव क्याम्पस काठमाडौंमा बिबिएस पढ्न छोडेर मलेसिया गए, ०६३ सालमा। त्यसपछि ०६७ मा मोरिस हुँदै ०६९ मा दुबई पुगे।

'विदेशमा काम पाइन्छ, हाम्रो देशमा काम पाइँदैन भने सोच थियो। छोरीले बोलाएपछि फर्केर ०७१ देखि गाउँमै तरकारीखेती गर्ने थालेको हुँ,' उनले भने, 'विदेशमा आठ घन्टा अनिवार्य काम गर्नुपर्थ्यो। मालिकको हप्की खानुपर्थ्यो। विदेशको लाखभन्दा स्वदेशमै एक सय ठूलो हुँदो रैछ।'

उनले सदरमुकाम चैनपुरसँगै जोडिएको डुंग्रीस्थित १३ रोपनी जमिन वार्षिक एक लाख ५० हजार रुपैयाँमा भाडामा लिएर तरकारी खेती थालेका हुन्। चार कामदार पनि राखेका छन्।

'बारीमा गोलभेडा, बन्दा, भन्टा, रायो, मुला, लगायत लहरे र कोसे तरकारी लगाएको छु,' उनले भने, '६ महिनामा दुई लाखभन्दा बढी कमाई हुने गरेको छ। परिवारसँग बसेर यति कमाउन पाएकामा खुसी छु।'

गजेन्द्र विदेशबाट आएर तरकारीखेतीमा लागेपछि गाउँका दाइ पर्ने रमेश ओली पनि शिक्षण पेसा छाडेर उनीसँगै तरकारीखेतीमा रमाएका छन्।

गाउँकै मुडतैन प्राविमा शिक्षक रहेका ओली भाइलाई सघाउन र व्यावसायिक तरकारीखेती गर्न शिक्षण पेसा छोडेको बताउँछन्।

'पढाउन थालेको ११ वर्ष भयो, आफैँले निजी विद्यालय खोलर काम गरिरहेको थिएँ। समाजसेवा गर्दैै घरपरिवारमा समस्या पर्ने थालेपछि तरकारीखेतीमा भाइसँगै लागेँ,' उनले भने।

उनले बजारको मागजति तरकारी उत्पादन गर्न नसकेको बताए। 'अहिले बारीमा बन्दा, टमाटर, भन्टा, लौका, काँक्रा, जुगनी, प्याजको बेर्ना समेत तयारी छ। यसपालि १५ हजारको बर्ना बिक्री गरेको छु,' उनले भने।

उनीहरुले जिल्ला कृषि विकास कार्यालय महेन्द्रनगरको सुन्दरपुरमा १२ दिनको तालिम र ८७ हजार रुपैयाँ बराबरको प्लास्टिकको पाल लिएका छन्।

कृषि विकास कार्यालयका प्राविधिक मदनराज जैशी जिल्लामा तरकारीखेतीमा लागेका किसान निकै कम भएको तर विदेशको कमाइ र शिक्षक पेसा नै छाडेर ओली दाजुभाइले गरेको काम जिल्लाकै नमुना भएको बताउँछन्।

'ओलीलाई कार्यालयले प्राविधिक सहयोगसँगै तालिम र एक लाख बराबरको सहयोग गरेको छ। ओलीको बारी नजिक भएकाले हामी हप्तामा एक दिनजस्तो पुग्ने पनि गरेका छौँ।' उनले भने।

प्रकाशित: २२ माघ २०७३ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App