१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भाइबहिनीलाई विज्ञान बुझाउँदै विद्यार्थी

काठमाडौं- 'केही नमिसाएको पानीमा अन्डा किन डुब्यो?' नुन घोलेको अर्को गिलासमा अन्डा हाल्दै प्रस्तुति भट्टराईले सोधिन्, 'यसमा किन पूरै डुबेन?' शुक्रबार राजधानीस्थित टंगाल मावि साना कक्षाका विद्यार्थी चुपचाप थिए। भट्टराईले नै जवाफ दिइन्, 'नुन मिसाएपछि घनत्व बढी भयो, यसैले डुब्यो।'

त्यसपछि उनी घनत्वबारे विभिन्न उदाहरण दिएर साना भाइबहिनीलाई सम्झाउन थालिन्। धेरै कुरा बुझाइसकेपछि भट्टराईले सोधिन्, 'अब को को वैज्ञानिक बन्ने?' लस्करै बसेका विद्यार्थीले म हुने भन्दै  हात उठाए।

बृहस्पति स्कुलमा विज्ञान विषयमा प्लस टु गर्दै गरेका भट्टराईलगायत विद्यार्थीको एक समूहले राजधानीसहित देशका सरकारी तथा निजी विद्यालयका प्रावि तहका विद्यार्थीलाई विज्ञानबारे जानकारी दिँदै आएका छन्।

'साइट्रेक' नामको कार्यक्रमअन्तर्गत दोलखा र काभ्रे जिल्लाका विभिन्न स्कुलमा दुई साता लामो कार्यक्रम सकेर उनीहरु भर्खरै काठमाडौं फर्केका हुन्। अभियान क्रममा उनीहरुले घरेलु सामग्री प्रयोग गरेर विद्यार्थीलाई सिकाउने/बुझाउने गरेका छन्।

बलिरहेको मैनबत्ती गिलासले छोप्दा किन  निभ्छ? सलाई वा कागजको कपमा धागोले बाँधेर सानो स्वरले बोल्दा पनि प्रस्ट कसरी सुनिन्छ? एउटा थमपिनले घोँच्दा फुट्ने बेलुन धेरै पिनहरुको माथि राख्दा किन फुट्दैन? यस्ता प्रश्नको जवाफ उनीहरु प्रयोगात्मक रुपमा दिने गरेका छन्।

केही समयपछि उनीहरु सुदूरपश्चिमको अछाम पुगेर साना कक्षाका विद्यार्थीलाई विज्ञान विषय उनीहरुको योजना छ। 'काभ्रे र दोलखामा १० दिन बसेर विभिन्न स्कुलमा कार्यक्रम गर्‍यौँ,' अभियानकी स्वयंसेवक वर्षा तामाङले भनिन्, 'अब अछाम जाने कार्यक्रम छ।'

सानैदेखि विद्यार्थीलाई विज्ञानप्रति रुचि बढाउन अभियान सञ्चालन गरेको बृहस्पति विद्यासदनका निर्देशक प्रवीण जोशीले बताए। 'विज्ञान भन्नेबित्तिकै ठूलो प्रयोगशालामा गरिने अभ्यास हो भन्ने बुझाइ छ, त्यस्तो होइन। हामी वरिपरिकै विषय र सामग्रीलाई लिएर विज्ञानका विषयलाई अभ्यास गर्न सकिन्छ भनेर देखाउन खोजेका हौँ,' जोशीले भने, 'स्कुलमै सानो ठाउँमा अलि ठूलो टेबल राखेर विद्यार्थीलाई घरेलु सामानबाटै अभ्यास गराउन सकिन्छ। अभ्यास गर्दै पढ्दा गाह्रो विज्ञान पनि सजिलै विद्यार्थीले बुझ्न सक्छन्।'

उनले देशका सबै निजी तथा सार्वजनिक विद्यालयमा विज्ञान तथा नवप्रवर्द्धनका विषयलाई प्राथमिकता राख्नुपर्ने बताए। अस्ट्रेलियाली नागरिक एलिस नेमेले डिजाइन गरेको कोर्समा अहिले कार्यक्रम सञ्चालन भइरहेको हो।

अहिले प्राथमिक तहका विद्यार्थीका लागि लक्षित गर्दै कार्यक्रम चलेको जोशीले बताए । 'माध्यमिक तहका विद्यार्थीको पढाइमा सहज होस् भनेर कोर्सको डिजाइन गर्ने काम भइरहेको छ,' जोशीले भने, 'यो कार्यक्रम गत वर्षबाट सुरु भएको हो। यसमा थप स्वयंसेवक राखेर कार्यक्रम व्यापक बनाउन आवश्यक छ,' जोशीले भने, 'विज्ञान सजिलै सिकाउन सके केही वर्षमा राम्रो प्रगति गर्न सकिन्छ।' 

प्रकाशित: २२ माघ २०७३ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App