१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राजधानीमा हैजाका जीवाणु

काठमाडौं- काठमाडौंमा पखालाका बिरामीमा हैजा प्रजातिकै नयाँ जीवाणु देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ। मनसुनयता झाडापखाला लागेर आउने बिरामीको दिसा परीक्षण गर्दा यस्तो जीवाणु पाइएको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।

डा.पुनका अनुसार यो जीवाणु नेपालमा ढल तथा फोहर पानीमा र विदेशमा समुद्री जनावरमा पाइने गरेको छ। यो (भिब्रियो) हैजा प्रजातिकै जीवाणु हो। यसमा २ सयथरी जीवाणु हुन्छन्। यो जीवाणु राजधानीमा पहिलादेखि नै भए पनि मानिसमा पहिलोपटक प्रमाणित भएको उनले बताए।

'पहिला काठमाडौंका ढलमा भेटिएको जीवाणु पहिलोपटक बिरामीमा प्रमाणित भयो,' उनले बुधबार नागरिकसँग भने, ‘सात वर्षअघि काठमाडौंको ढलको पानीमा पाइएको थियो, यसपालि मानिसकै दिसामा भेटियो,' उनले भने।

यस्तो जीवाणु पाइएका बिरामीमा पानीजस्तो दिसा आउने, बान्ता हुने तथा ज्वरो आउनेजस्ता लक्षण देखिएको डा.पुनले बताए। उपचारमा  आएकामध्ये केहीमा परीक्षण गरिएकोमा १२ जनामा यो जीवाणु पाइएको थियो। मनसुनदेखि अस्पतालमा दैनिक ५ देखि ६ जना यस्तै लक्षण भएका बिरामी भर्ना भएर उपचार गराएको तथ्यांक छ।

उपत्यकाभित्रैबाट यस्ता बिरामी आएको जनाइएको छ। उपचारका लागि नजिकका क्षेत्र कालिमाटी, कुलेश्वर, टेकुबाट आएका छन्। यस्ता बिरामी अन्यत्र भए पनि नजिकको अस्पतालमा जाने कारणले यकिन हुन नसकेको पुनले बताए। 'धरैजसो बिरामी नजिकका अस्पतालमा जान्छन्, सबैलाई झाडापखालाकै औषधि दिएर पठाइन्छ तर अन्यत्र पनि हुनुपर्छ,' उनले भने। यो रोगमा हैजाकै जस्तो लक्षण हुने भएकाले अधिकांश बिरामीलाई लक्षणका आधारमा औषधि दिएर पठाउने अभ्यास रहेको उनले जानकारी दिए। 'हैजा प्रजातिकै जीवाणु भएकाले त्यस्तै उपचार गरिन्छ,' उनले भने।

फोहर पानीकै कारण यो जीवाणु मानिसको दिसामा पुगेको उनको ठम्याइ छ। 'मनसुनसँगै पानीमा ढल मिसिँदा यस्तो भएको हुनुपर्छ,' उनको आशंका छ।

डा.पुनका अनुसार यो रोग अहिले सामान्य रूपमा देखापरेको भए पनि भविष्यमा प्रकोपको रूप लिन सक्नेछ। यो रोगले अहिले भारतको विभिन्न क्षेत्रमा प्रकोपको रूप लिइसकेको हुनाले नेपालमा पनि यसको सम्भावना देखिन्छ। सन् २००७ मा हाइटीमा फैलिएको हैजामा पनि यही प्रजातिको जीवाणु २१ प्रतिशतमा फैलिएको थियो। त्यहाँ फैलिएको जीवाणुका कारण धेरै मानिसको मृत्युसमेत भएको थियो।

चिकित्सकका अनुसार यो जीवाणु नेपालमा ढल तथा फोहर पानीमा पाइए पनि अन्य राष्ट्रमा समुद्री जनावरमा पाइएको थियो। खाना राम्रोसँग नपाकेको अवस्थामा हैजा देखिन्छ।

 

प्रकाशित: २३ असार २०७३ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App