१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सीमरा गोल्ड कपमा सरस्वतीको विजयी सुरुआत

बारा- कप्तान दिपेश श्रेष्ठको उत्कृष्ट प्रदर्शन प्रेरित सरस्वती युथ क्लबले बिहीबार आयोजक नव जनजागृति युवा क्लबमाथि २–० को जित हासिल गर्दै रुस्लान आठौं सिमरा गोल्डकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।

सिमरा रंगशालामा बिहीबार सुरु भएको प्रतियोगितामा दीपेशले दुवै गोलको अवसर सिर्जना गरेपछि सरस्वती सहज जितको हकदार बन्यो। दीपेशले पेनाल्टी बक्सभित्र मिलाएको पासमा तीर्थ वश्नेतले गोल गर्दै सरस्वतीलाई २२ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेट नवित्दै टोलीले पेनाल्टीमा गोल गरेर अग्रता दोब्बर पार्‍यो। आयोजक टोलीका अजय पौडेलले दीपेशलाई लडाएवापत प्राप्त पेनाल्टीलाई जोनम लिगलले गोलमा परिणत गरेका थिए।

सुरुमै दुई गोलले पछि परेपछि आयोजक दबाबमा परेको थियो। पहिलो हाफमा खेलाडीबीच तालमेल मिलाउन नसकेको जनजागृतिले मध्यान्तरपछि सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न भने सकेन। घरेलु टोलीले पाएका अवसर समेत उपयोग गर्न नसक्दा सरस्वती जितका साथ प्रतियोगिताको सुरुआत गर्न सफल भयो।

खेलको म्यान अफ दी म्याच सरस्वतीका कप्तान दिपेश श्रेष्ठ घोषित भए। उनले पाच हजार नगर प्राप्त गरे। प्रतियोगिता अन्तर्गत शुक्रवार सिएमजि संकटा र एपिएफ क्लबबीच खेल हुनेछ।

यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए। 'ए' डिभिजनका ५ र मोफसलका ५ गरि १० टिमको सहभागि प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा २ लाख ५१ हजार रुपैयाँ पर्नेछ।

प्रतियोगितामा 'ए' डिभिजनका त्रिभुवन आर्मी, एपिएफ, सिएमजी संकटा, हिमालयन शेर्पा र सरस्वती युथ क्लब छन् भने मोफसलबाट साबिक विजेता विजय युथ, उपविजेता वीरगन्ज युनाइटेड, पोखराको सहारा क्लब, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछ भने उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: २१ माघ २०७३ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App