१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खिम्ती–ढल्केबर प्रशारण लाइन सञ्चालनमा, १३ वर्षपछि निर्माण पूरा

खिम्ती–ढल्केबर २२० केभी विद्युत् प्रशारण लाइन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल साथमा उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणक कार्यकारी निर्देशक कुलमान घिसिङ। तस्बिरः प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं– खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइन औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहलले बिहीबार दोलखाको खिम्तीमा एक समाहरोहबीच प्रशारण लाइनको उद्घाटन गरे।

परीक्षण प्रसारणका रुपमा माघ ४ गतेबाट सञ्चालन गरिएको उक्त प्रशारणलाइनमार्फत भारतबाट अायात भइरहेकाे १ सय २० मेगावाट मध्ये २० मेगावाट विद्युत् परीक्षण कालमै काठमाडाैं ल्याइएकाे थियाे।

उक्त प्रशारण लाइन बिहीबारबाट व्यवसायिक रुपमै सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्रशारण लाइन निर्माण भएसँग अब भारतबाट आयात गरिने विद्युत् यसै लाइनमार्फत काठमाडौं ल्याउन सकिने भएको छ। ढल्केबर–खिम्ती–लामोसाँघु हुँदै यस प्रशारण लाइनमार्फत विद्युत् काठमाडौं ल्याउन सकिने छ।

विश्व बैंकको २ अर्ब १५ करोड ६० लाख रुपैयाँको आर्थिक सहयोगमा यो ७३ किलोमिटर लम्बाईको आयोजना करिब १३ वर्षमा निर्माण पूरा भएको हो। २०६० सालमा निर्माण शुरू गरिएकाे उक्त अायाेजना २०६५ मा पूरा गर्ने लक्ष्य रहेकाे थियाे।

जमीन अधिग्रहण तथा निर्माण कार्यमा आएका अनेक अवरोधका कारण आयोजना सम्पन्न हुन ढिलो भएको प्राधिकरणले जनाएको छ।

प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न सकिएको थिएन । सो आयोजना सञ्चालनमा आएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युतसमेत यही लार्इमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न सहयोग मिल्ने भएको छ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको ५ सय ५६ मेगावाट विद्युत् पनि उक्त प्रशारण लाइनमा नै जोडिने छ।

दोलखाको सहरे गाविसबाट सुरु भएको उक्त  प्रसारण लाईन रामेछाप, सिन्धुली र महोत्तरी हुँदै धनुषाको ढल्केबरमा रहेको सब स्टेसनमा जोडिएको छ।

उक्त सव स्टेशनमा भारतबाट करिब १२ सय मगोवाट विद्युत् आयात गर्न सकिने ४ सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रशारणलाईनमार्फत आउने विद्युत् समेत जोडिने छ।

प्रकाशित: २० माघ २०७३ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App