१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले १५ लाख कार्यकर्ता परिचालन गर्ने

काठमाडौं- तराई-मधेसलाई केन्द्रित गर्दै प्रमुख विपक्षी एमालेले सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानमा १५ लाख कार्यकर्ता परिचालन गर्ने भएको छ। एमाले मुख्यालय धुम्बाराहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सचिव प्रदीप ज्ञवालीले १५ दिने अभियानक्रममा पार्टी कार्यकर्ता तराईमधेसका सबै घरमा पुग्ने बताए।

'मंसिरदेखि नै हामीले संविधान कार्यान्वयनका लागि सरकारलाई दबाब दिन देशव्यापी रुपमा अभियान सञ्चालन गर्दै आएका छौं। फागुन २१ गतेबाट हुने मेची–महाकाली अभियान व्यापक हुनेछ। त्यसक्रममा अभियानबारे जानकारी गराउन कार्यकर्ता प्रत्येक घर पुग्नेछन्,' ज्ञवालीले भने, 'अभियानमा सहभागिता समुद्रको छालजस्तो हुनेछ। यस क्रममा १५ लाख मानिस परिचालन हुनेछन्।' उनले सबै पार्टी सदस्य र कमिटी यसमा परिचालित हुने बताए। उनले अभियानमा सक्रिय हुन सबै कमिटी र सदस्यलाई पार्टीले निर्देशन दिइसकेको जनाए। 

एमालेले १५ दिने अभियानमा ३३ वटा आमसभा हुने जनाएको छ। अभियानअन्तर्गत हुने सभामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितका नेताले सम्बोधन गर्नेछन्।

एमालेले सहिद दिवसका रुपमा मनाउँदै आएको फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान चैत ५ गते सुर्खेतमा पुगेर सम्पन्न हुने जनाएको छ। बितामोर्ड, दमक, विराटचोक, इटहरी, इनरुवा, राजविराज, कञ्चनपुर, गोलबजार, जनकपुर, बर्दिवास, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर, जितपुर हेटांैडा, भण्डारा, भरतपुर, कावासोती, भूमही, भैरहवा, बुटवल, चन्द्रौटा, लमही, घोराही, नेपालगञ्ज, गुलेरिया, राजापुर, टीकापुर, लम्की, धनगढी, महेन्द्रनगर र सुर्खेतमा सभा हुनेछन्।

एमालेले अभियानअन्तर्गत हुने र्‍याली, सभा र प्रचारात्मक कार्यक्रममा केन्द्र र प्रदेशअन्तर्गतका सम्पूर्ण स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, केन्द्रीय निकाय र जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, सांसद, पूर्वसांसद, पूर्वमन्त्री, प्रदेश कमिटी सदस्यलगायतको उपस्थिति रहने जनाएको छ।

एमालेले बास बस्ने स्थानका जिल्ला कमिटीलाई एक हजार नेता तथा कार्यकर्ता लागि खाना तथा आवास व्यवस्था गर्न निर्देशन दिएको छ। 'हाम्रो होम स्टे हुनेछ। यसले पार्टी र जनताबीचको सम्बन्ध बढाउनछे,' सचिव ज्ञवालीले भने।

अभियान सफल पार्न नेपाली, मैथिली, भोजपुरी, अवधि, थारु, डोट्याल भाषामा अपिल गरिने जनाएको छ।

सचिव ज्ञवालीले अभियानक्रममा पर्ने होली  पर्व नेताले स्थानीय जनतासँगै मनाउने जानकारी गराए। 'अभियानक्रममा पार्टी संगठन बढाउनेमात्रै होइन, पहाड र तराईबीच सद्भाव अभिवृद्धि गरिनेछ,' ज्ञवालीले भने, 'सहिद परिवार तथा घाइतेलाई सम्मान गरिने छ।'

एमालेले मेची–महाकाली अभियान राजनीतिकमात्रै नभएर सामाजिक र सांस्कृतिक पनि हुने जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अभियानक्रममा विभिन्न ठूला परियोजनाको शिलान्यास तथा श्रमदान कार्यक्रम पनि सञ्चालन हुने जानकारी दिए।

पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमालेविरुद्ध सिर्जना गर्न खोजिएको भ्रमलाई अभियानले चिर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २० माघ २०७३ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App