१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लाभग्राही सूचीमा थपिए २१ हजार

काठमाडौं- भूकम्पबाट घर क्षति भई निर्माणका लागि सरकारले अुनदान उपलब्ध गराउने लाभग्राही  सूचीमा २१ हजार भूकम्पपीडित परिवारको नाम थप भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण टोलीले प्रकाशन गरेको लाभग्राही सूचीमा विभिन्न कारणले नाम नपरेकाका लागि गुनासो गर्ने व्यवस्था मिलाएको थियो। सोही आधारमा काठमाडौं र भक्तपुरबाहेकका भूकम्प प्रभावित १२ जिल्लामा परेका ८३ हजार चार सय १२ गुनासो छानबिनबाट लाभग्राही सूचीमा २१ हजार चार सय ६९ भूकम्पपीडितको नाम थपिएको हो। यसअघि १४ जिल्लामा गरी लाभग्राही सूचीमा ६ लाख २६ हजार ३६ भूकम्पपीडित परिवार थिए।

‘प्राधिकरणमा आएका सबै गुनासा समेटेका छौंं,’ प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने, ‘उपलब्ध सूचना र तस्बिरका आधारमा छानबिन गरेका थियौं।’ प्राधिकरणले गुनासोलाई चार वर्गमा विभाजन गरेको थियो। लाभग्राही सूचीमा पर्ने, लाभग्राही सूचीमा नपर्ने, फेरि सर्वेक्षण गर्नुपर्ने र स्थलगत निरीक्षण गर्नुपर्ने तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको थियो। गुनासो शाखामा गठित सूचना व्यवस्थापन प्रणालीमार्फत गुनासो छानबिन गरिएको प्राधिकरणले जनाएको छ।

लाभग्राही सूचीमा नपर्ने परिवार संख्या ३६ हजार ७५ छ। अनुसन्धानका क्रममा अन्य स्थानमा बस्नयोग्य घर रहेका र साबिकको स्थानमा पनि बस्नयोग्य घर भएका परिवारलाई अनुदान नपाउने सूचीमा राखिएको प्राधिकरणले जनाएको छ। तथ्यांक नभेटिएका कारण १७ हजार ६ सय ५४ परिवारका सम्बन्धमा फेरि सर्वेक्षण गर्नुपर्ने भएको छ। यस्तै अपूर्ण सूचना पाएका कारण स्थलगत सर्वेक्षण गर्नुपर्नेमा चार हजार दुई सय ५५ परिवार छन्।

प्राधिकरणका अनुसार लाभग्राही सूचीमा पर्नेले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ अनुदान लिनसक्नेछन् । ‘लाभग्राही सूचीमा पर्नेलाई अनुदानको पहिलो किस्ता उपलब्ध गराउन बाटो खुलेको छ,’ प्रवक्ता भुसालले भने, ‘सूचीमा नाम नपर्नेले भने चित्त नबुझेमा पुनरावेदन गर्नुपर्छ।’ प्राधिकरणले पुनरावेदन छानबिन गर्न तीनजनाको समिति बनाएको छ। सर्वेक्षण गर्न बाँकी घरमा चाँडै इन्जिनियर खटाइने प्राधिकरण गुनासो शाखाका प्रमुख शिवराम गेलालले बताए। उनका अनुसार गुनासो आउने क्रम जारी रहेकाले तिनलाई छानबिन गर्दै जाने बताए। ‘गुनासो आउने क्रम रोकिएको छैन,’ गेलालले भने, ‘सबै जिल्लाबाट आएका गुनासो छानबिन गर्दै जानेछौं।’

९३ प्रतिशतलाई पहिलो किस्ता

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ९३ प्रतिशत भूकम्पपीडितले घर पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ अनुदान सम्झौता गरेको प्राधिकरणले जनाएको छ।

१४ जिल्लाका ६ लाख २६ हजार ३६ परिवार भूकम्पपीडितमध्ये पाँच लाख ५० हजार दुई सय ४१ घरधनीसँग अनुदामन सम्झौता भएको छ। प्राधिकरणका अनुसार माघ १८ सम्ममा पाँच लाख १० हजार एक सय ३० परिवारले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन्।

भूकम्प पीडितले घर पुनर्निर्माणका लागि दोस्रो किस्ताबापत डेढ लाख र अन्तिम किस्तामा एक लाख रुपैयाँ सरकारबाट अनुदान पाउनेछन्।

प्रकाशित: २० माघ २०७३ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App