१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आठ वर्ष कारावास पछि ढकाललाई सफाई

गोरखा-  कर्तब्य ज्यान मुद्दाको आरोपमा करिब आठ वर्षको कारागार जीवन बिताएपछि केराबारी गाविस ३ का नारायण ढकालले सर्वोच्च आदालतबाट सफाई पाएका छन्। २०६६ सालमा १८ वर्षको उमेरदेखि सात वर्ष ११ महिना जेल जीवन बिताएका उनलाई अन्ततः माघ १७ गते सोमवार सर्वोच्चले सफाई दिएको हो। २०६७ फागुन ३० गते जिल्ला अदालतबाट सर्वोस्व सहित जन्मकैदको फैसला भएपछि उनी पुनराबेदन पुगेका थिए। त्यहाँबाट पनि सोही सदर भएपछि सर्वोच्च पुगेका ढकाललाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देबेन्द्रप्रसाद श्रेष्ठको इजलासले सफाइको फैसला गरेको हो।

केराबारी ५ का तेजबहादुर रेग्मीले आफ्नी छोरीको हत्या गरेको आरोपमा ढकालमाथि कर्तब्य ज्यान मुद्दा दायर गरेका थिए। आठ वर्ष ब्यर्थ कारागार जीवन बिताउनु परेको प्रति दुखित हुँदै ढकालले भने ‘सत्यको जित हुँदो रहेछ, आखिर मैले न्याय पाउँछु भन्ने थियो, पाएरै छाडेँ।’ जौवारीको परोपकार आदर्श माविमा प्रथम श्रेणीमा एसएलसी परीक्षा उर्तीण गरेर कक्षा ११ मा पढ्न थाल्दै गरेका उनले त्यसयता कारागार जीवन विताउनु परेपछि पढ्न पाएनन्। अहिले उनी २६ वर्षका भए। ‘केही गरौँ, पढौँ भन्ने उमेर गयो, अब भाग्यले कता लैजान्छ’ फैसलापछि गहभरी आँसु बनाउँदै उनले भने ‘एक मिनेटको त महत्व हुन्छ, कल्पना गर्नुस् त आठ वर्ष, कसरी बताउँ, भन्न, सोच्न पनि सकेको छैन।’

७ वर्ष ११ महिनाको जेल जीवनमा उनी ११ महिना उपचारका लागि केन्द्रिय कारागार बसे। कर्तब्य ज्यानमा मुद्दा परेपछि प्रहरीले बोलाउँदा उनी आए। ‘हजुरआमाले लाईट लिएर जानु, आउँदा अँध्यारो हुन सक्छ भन्नुभएको थियो’ ढकालले भक्कानिँदै भने ‘तर म त्यसपछि घर आईन, आज (मंगलवार) हजुरआमा बितेको १३ दिन, दुई हप्ता अघि मात्रै फैसला भएको भए हजुरआमा कति खुसी हुनुहुन्थ्यो होला।’ उनले सफाई पाएको खबर सबैभन्दा पहिले काजक्रियामा बस्दै गरेको बाबुलाई टेलिफोनमा सुनाए। ‘घरमा हत्तपत्त फोन गरेँ, तपाईहरुको फैसला नै सर्वोच्चले गर्‍यो भनेँ, कोरा बस्नुभएका बा धेरै खुसी हुनुभो, बा, आमा फोनमै रुन थाल्नु भो’ खुसी साट्दाको क्षण सम्झँदै उनले भने। एक दिदी र दुई दाजु र परिवारका कान्छा सन्तानको रुपमा ढकाल छन्। बाबु शिबलाल र आमा सुमित्रा खेती किसानी गर्छन। आठ वर्ष सम्म मुद्दा लड्दा लागेको खर्च उनी अहिले सम्झन सक्दैनन्। भन्छन् ‘पैसा खर्च कति भयो कुरै नगरौँ, न्याय पाएँ, पैसा र न्यायको तुलना के गर्नु ?’ सँगै उनले थपे ‘भविष्य भने अन्धकार भो।’

आफ्नो केही गरौँ भन्ने र भविष्य बनाउने उमेर जेलमा विताउनु पर्दा, आठ वर्ष सम्म परिवारलाई परेको आर्थिक मानसिक र सामाजिक दबाब, हजुरआमालाई नातीले गल्ती नगरेको खबर सुनाउन नपाउनु, यी तीन कुराले भने ढकालको मन कुँडिएको छ। सात वर्षको पुरा समय कारागार शाखा गोरखामा बिताए। केही वर्षदेखि उनी कारागारको चौकीदार समेत थिए। मंगलवार उनी कारागारबाट निस्कँदै गर्दा कैदीबन्दी हातमा खाता र अबिर लिएर उनलाई बिदाई गर्दा गहभरी आँसु बगाउँदै थिए । कारागारबाट बिदाई हुँदै गर्दा ढकालले भने ‘धैर्य गर्नुहोस्, न्याय पाईन्छ, मिलेर बस्नुहोस्।’ ब्यक्तीगत प्रतिशोध, राजनीति फरक धार र आशंका कै आधारमा मुद्दा मामिलामा कोही कसैलाई पनि फसाउन नहुने बताए। ‘अदालतको प्रक्रिया पनि निकै ढिलो छ, छिटो बनाउन पाए म जस्ता निर्दोशले चाँडै सफाई पाउने थिए, भबिष्य अन्धकार हुने थिएन।’

 

 

प्रकाशित: १८ माघ २०७३ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App