१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘नागमणी’ खोजी धन्दा गिरोहका १० पक्राउ

नागमणीको कथित कारोबार गर्ने गिरोह मंगलवार सार्वजनिक गरिदै । तस्विर: रितेश त्रिपाठी

वीरगन्ज- ‘विशेष किसिमको सर्पको टाउकोमा हुने अनमोल रत्न’ नागमणीको कथित रुपमा कारोबार गर्ने गिरोहमा संलग्न १० जनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा सर्लाहीका विजय बल, सुवेष घलान, सागर श्रेष्ठ, योगेन्द्र भट्ट, नशीम अख्तर, काभ्रेका मोहन मगर, राजु लामा मकवानपुरका अमित बोम्जन, काठमाडौं बुढानिलकण्ठका प्रेमलाल श्रेष्ठ र बाराका मोहमद अब्दुल्लाह रहेका छन्।

आपसी कुरामा खटपट परेपछि एउटै गिरोहमा सामेल प्रेमलाल र अब्दुल्लाहलाई बाँकी आठ जनाले बन्धक बनाएपछि खोज्दै गएको प्रहरीले गिरोह फेला पारेको हो।

काठमाडौंका प्रेमलाल बाराबाट शुक्रवार आचानक बेपाता भए। एक जना अपहरणमा परेको घट्नाले सिमावर्ती जिल्लाहरु पर्सा र बाराका प्रहरीलाई चिन्तित बनाएको थियो । सोही बेला शनिवार विहान वीरगन्ज १८ भेंडियाही नजिकबाट अर्का एक जना ब्यक्तिको अपहरणको घट्नाको जानकारी आएपछि प्रहरीलाई अर्को झट्का लाग्यो। खोजी गर्दै जाँदा नागमणी गिरोह र दुई जनाको नाटकीय अपहरण घट्ना खुलेको हो।

यसरी खुल्यो घटना

प्रेमलाललाई शुक्रबार बाराको जितपुरबाट नियन्त्रणमा लिएर पथलैयास्थित होटलमा बन्धक बनाएर राखेको र उनी नागमणी कारोबारी गिरोहमा रहेकै ब्यक्ति रहेको कसैलाई थाहा थिएन। उनी बाराबाट अपहरित भएको जानकारी भने प्रहरीलाई आइसकेको थियो । घटना बाराको भए पनि पर्सा प्रहरी समेत चनाखो थियो । शनिवार बिहान करिब १० बजे वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेज नजिक एउटा चिया पसलबाट एकजना ब्यक्तिलाई नियन्त्रणमा लिई गाडीमा आएकाहरुले लगेको जानकारी दिदै एक स्थानीयले प्रहरी उपरीक्षक गोविन्दकुमार साहलाई फोन गरे।

नेपाल प्रहरी चढ्ने जस्तै निलो रंगको स्कार्पियो गाडिमा आएकाहरु आफुहरुलाई प्रहरीको (केन्द्रिय अनुसन्धान ब्युरो) ‘सिआइवी’बाट आएको बताउँदै मान्छे लगेको खुल्न आयो। प्रहरी उपरीक्षक साहले केन्द्रलाई सम्पर्क गरे । सिआइविको कुनै टोली नआएको बुझियो । ‘त्यसपछि मैले हरेक नाकातिर गाडीको हुलिया बताएर खोजी तैनाथ गराएँ,’ साहले घट्ना सुनाए, ‘पथलैयातर्फ जाँदै गरेको बा १६ च ८७८० नम्बरको स्कार्पियो गाडी जितपुर नजिक भेंटियो ।’ प्रहरीले रोकेर तलासी लिदाँ अब्दुल्लाह भन्ने मान्छे त्यहाँभित्रबाट भेंटिए जसलाई गाडीमा सवार ८ जनाले भेंडियाहीबाट कब्जामा लिएका थिए। सोधीखोजीपछि प्रेमलाई बन्धक राखेको पथलैयास्थित होटेलबाट उनलाई पनि प्रहरीले फेला पर्यो। प्रहरीका अनुसार प्रारम्भीक अनुसन्धानमा प्रेम र अब्दुल्लाहले नागमणी दिने प्रलोभन दिएका रहेछन्।

 आचानक सम्पर्कविहीन बनेका उनीहरुसंग कारोबारमा सहकार्य गरेकाहरुले खोजी गर्दै दुबैलाई कब्जामा लिएका थिए। यस गिरोहबाट पर्सा र बाराका केही ब्यक्ति पनि ठगिएको खुलेको छ। अहिले दशै जना प्रहरी नियन्त्रणमा छन् । कति रकमको देनलेन भएको भन्ने खुलेको छैन् । नागमणी पनि भनाईमा मात्र कारोबारमा आएको हो। नागमणी हुन्छ भन्ने धेरैले पत्याउने गरेका छन्, देखेकाहरु भेंटिदैनन्। अनुसन्धानपछि ठगी तथा संगठित अपराध मुद्दा चल्ने देखिएपछि हाललाई प्रहरीले दशै जनालाई सार्वजनिक अपराध मुद्दामा अदालतबाट म्याद लिएर थुनामा राखेको छ ।

 

 

प्रकाशित: १८ माघ २०७३ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App