१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीयबासीलाई आँखा जोगाउने पिरोलो

सुनसरी दुहवीको बुढी खोला नदी छेउमा कालो छाई फ्याँक्दै।

इटहरी–सुनसरी दुहवी–भलुवा वडा नं. २ को मुस्लिम वस्तीका बासीन्दालाई सदावहार आँखामा समस्या हुने गर्छ। स–साना बालबालिकादेखि जेष्ठ नागरिक सबै उमेर समूहलाई आँखा जोगाउने पिरलो हुन्छ।
शारीरिक अशक्तताका कारण आँखाले भर नदिएर समस्या भोग्नु त स्वाभाविक हो। तर, सक्रिय उमेरसमुहका बासिन्दाले समेत आँखा जोगाउने समस्या भोग्नु परिरहेको छ। अहिलेसम्म स्थानीयको पीडामा कसैले पनि मल्हम लगाउने काम गर्न सकेको छैनन्।

उद्योगमा इन्धनको रुपमा प्रयोग गरिएको धानको भुसको कालो छाई (प्रयोग गरी सकेर कालो भएको) बुढीखोला नदीको बगर र सडक छेउछाउ फ्याँक्ने गरिएको छ। त्यही भुसको छाई हावाले उडाएर प्रत्येकको घरैपिच्छे पु¥याइदिन्छ। र, आँखामा पर्छ। यही पीडा भोग्दै आएका छन् स्थानीयले। कालो छाई आँखामा पस्दा पुरै बिझाउने र नजिकैको वस्तु पनि धमिलोसँगै अस्पस्ट देखिने समस्या हुने गर्छ ।  

‘कालो छाई आँखामा पसेपछि पुरै खराब गर्छ,’ दुहवी–भलुवा वडा नं. २ का समसेर मियाँले भने, ‘प्रायः हावा आएको बेला छाई उडाएर प्रत्येकको घरमा पुग्ने गर्छ अनि सजिलै आँखामा पस्छ।’ पटकपटक छाई आँखामा पस्दा आँखा कमजोर हुदैं गएको महसुस हुन्छ। आँखामा छाई पसेमा निकाल्नका लागि स्वास्थ्यकर्मीकोमा जानु अनिवार्य हुन्छ।

‘अरु सामान्य वस्तु आँखामा पर्दा त पानीले मज्जाले छ्याप्दा निस्किन्छ तर छाई त सजिलै निस्किँदैन,’ समसेरले भने । स्थानीय वासिन्दामा छाईले आँखामा अएर असर गर्ने ज्ञान छ। तर, उद्योगको लापरबाहीले गर्दा नदीको बगर र सडक छेउछाउको खाली जग्गामा छाई फ्याक्नाले गर्दा स्थानीयले कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।

दुहवी–भलुवाको वडा नं. २ का एक सय ३० घरधुरीका बासीन्दा कालो छाई समस्याले गर्दा कष्टपूर्ण जीवन विताउन बाध्य छन्। ‘पटक पटक नियमनकारी निकायको ध्यानाकर्षण गर्दा पनि अहिलेसम्म कहींबाट चासो दिइएको छैन,’ अर्का स्थानीय महमद समीरले भने, ‘ठीक छ नदी बगर र सडक छेउछाउ छाई फ्याँके पनि त्यसलाई उडाउन नदिनका लागि माटोले पुर्नुपर्छ।’ स्थानीयबासीको एउटै माग छ, ‘कि छाई सिस्टम बन्द गर्नुपर्छ कि त बाहिर छाई फ्याँक्दा त्यसलाई हावाले उडाउन नदिने गरी माटोले छोप्नुपर्छ।’ कालो छाईले आँखाको ज्योतिसमेत गुम्ने खतरा हुन्छ।

दुहवीका स्वास्थ्यकर्मी आशिष यादवका अनुसार हप्तामा आठ–दस जना आँखामा कालो छाई परेको समस्याका बिरामी हुने गरेका छन्। कालो छाईले दुहवी–भलुवा वडा नं. २ का बासीन्दाले पटकपटक प्रहरी कार्यालयमा समेत गुनासो गर्ने गरेको दुहवीका इन्स्पेक्टर शिव पोखरेलले बताए। ‘उद्योगलाई बस्तीका बासीन्दालाई असर नगर्ने गरी व्यवस्थापन गर्न पटक पटक भने पनि अटेर गर्दै आएका छन्,’ पोखरेलले भने।

मोरङ हात्तीमूढामा सञ्चालित स्वस्तिक आयल उद्योगका कर्मचारी मोहन देवले हावा आएको बेला छाई उडाएर कसैको आँखामा पस्दा असर गर्ने गरे पनि त्यसलाई व्यवस्थापन गर्न सुरक्षित ढंगले लाने गरेको बताए। ‘हाम्रो त उद्योग परिसरमै धेरै त व्यवस्थापन गर्दै आएका छौं, कहिलेकाँही किसानले माग गरेर लान्छन्,’ उनले भने।

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका विस्कुट, तेल, सावुन, धागो उत्पादन गर्नेलगायतका उद्योगले ब्वायलर चलाउन इन्धनको रुपमा धानको भुस सस्तो हुँदा प्रयोग गर्ने गरेका छन् । धानको भुस प्रयोग गरी सकेपछि त्यसको कालो छाई कतिपय उद्योगले उद्योग नदीको बगर आसपास र सडक आसपास फ्याक्ने गरेका हुन्छन् । उद्योगले कालो छाई ठेक्का लगाएर फ्याक्ने गर्छ। ठेकेदारले जहाँ सहज हुन्छ त्यही फ्याक्ने गरेको छ।

 

 

प्रकाशित: २२ असार २०७३ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App