१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटकको गन्तव्य होमस्टे गाउँ

रामहरि गजुरेल

रसुवा- लाङटाङको गन्तव्य तय गरेर पहिलोपटक नेपाल घुम्न आएका अस्ट्रेलियन नागरिक एरिक जोल्किनलाई लाङटाङ हिमशृंखला र रसुवाका अन्य प्राकृतिक सौन्दर्यले जति आकर्षित बनायो, त्योभन्दा धेरै यहाँको होमस्टेले लोभ्यायो। तीनदिने यात्राको योजना बोकेर ६ जना साथीसहित आएका उनलाई स्याफ्रुको होमस्टेमा मिलेको पारिवारिक स्नेह, खानपान र सत्कारजस्ता थुप्रै मौलिक आकर्षणले भ्रमणको योजना नै फेरिदियो। बसाइ लम्बिएर १० दिन पुगिसक्दासमेत होमस्टे बासको धित नमरेको अनुभव सुनाउँदै उनले भने, 'यहाँको हिमाल, पाखा–पखेरा, जंगल र झरनाले प्रकृति जति सुन्दर छ, त्योभन्दा कयौं गुणा आनन्द दिने होमस्टेको बसाइले तीन दिनको लागि आएका हामीलाई फर्किने सम्झना नै हराएछ।'

होमस्टेको आकर्षण सुनाउँदै एरिक भन्छन्, 'पैसा खर्च भएअनुसार अरु होटल लजभन्दा यहाँका होमस्टेमा खानपानसँगै पाइने अमूल्य मौलिक संस्कृति, माया र सत्कारले होला, जति दिन बसे पनि कम नै लाग्दोरहेछ।' नेपालको भ्रमण सकेर अस्ट्रेलिया फर्केपछि पुनः परिवारसहित लाङटाङ आउने र होमस्टेको धित मार्ने उनको योजना छ।

पारिवारिक वातावरणमा मनोरन्जन दिने र अतिथि सत्कारको अनुभव गराउने होमस्टेले पर्यटकीय हिमाली जिल्ला रसुवामा एरिकजस्तै धेरै विदेशीको आगमन बढाएको छ। यात्रामा फरक चाहना मेटाउने खोजीमा निस्केका यस्ता विदेशीको खानपान र बासको लागि होमस्टे पहिलो रोजाइमा पर्न थालिसकेको छ। हिमशृंखला हेर्न र लाङटाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकलक्षित होमस्टे रसुवाको बृद्धिम, गत्लाङ, चिलिमे र स्याफ्रु गाविसमा सञ्चालन गरिएको छ।

उत्तरको बृद्धिम, गत्लाङ रसुवाका पर्यटकीय क्षेत्रमा पर्छन्। पहिलोपटक आएका पर्यटक होमस्टेको आकर्षणले यात्रामा लम्ब्याएर बस्न रुचाउने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष ङोवाङ तामाङ लामाले बताए। उनले भने, 'तीन–चार दिनलाई भनेर आएका विदेशीमध्ये धेरैजसो १० देखि १५ दिनसम्म बस्छन् र फर्किनै पनि बिर्सेजस्तो हुँदोरहेछ उनीहरुलाई। कतिपय पर्यटक दोहोर्‍याएर आउँछन्। परिवार र साथी लिएर पनि आउँछन्।'

लाङटाङलाई गन्तव्य बनाउने पर्यटकको यात्रा यहाँका तामाङ बस्तीमा सञ्चालित होमस्टेको बासबिना अधुरोजस्तै हुने गरेको स्वयं पर्यटक नै अनुभव सुनाउँछन्। त्यसैले अहिले उनीहरुको अनिवार्य गन्तव्यजस्तै बनेको छ– बृद्धिम, गत्लाङ, र स्याफ्रुका होमस्टे गाउँ। भूकम्पपछि रसुवामा पर्यटक आगमन केही मात्रामा घटे पनि होमस्टे गाउँलाई पुनः जीवन दिने अभियानपछि फेरि बढेको छ।

जिल्ला विकास समितिमार्फत सञ्चालित ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको अवधिमा सुरू भएको होमस्टेले यहाँका गाउँ पर्यटकीय गन्तव्य बन्न थालेका हुन। खानपानबाहेक यहाँका तामाङ समुदायको संस्कृति र रहनसहनको झल्को दिने गतिविधिले पर्यटक लोभ्याइरहेका छन्। विशेष गरी तिब्बती संस्कृतिका भेषभूषा नाचगान स्थानीय परिकारकाले यहाँ पर्यटक आकर्षित हुन्छन्। यहाँ स्थानीयले २७ घरमा होमस्टे सुरु गरेका छन्।

पर्यटकका चाहना बुझेर गरिने फरक किसिमको सत्कारले होमस्टेमा उनीहरु लोभिएका हुन्। 'हामीले घरायसी वातावरणमा बस्ने व्यवस्था गरी होमस्टे सुरू गरेपछि विदेशी आउन थाले,' होमस्टे व्यवस्थापन समितिक अध्यक्ष ङोवाङले भने, 'पाङसाङहुदै रिभर कुण्ड बृद्धिमको लेकमा रहेकोले यहाँको प्रचार गर्न सके होमस्टे फस्टाउने थियो।'

वैशाख १२ को विनाशकारी भूकम्पले यहाँका होमस्टेलाई पनि नराम्ररी क्षति पुर्‍यायो। त्यसपछि पर्यटकीय क्षेत्र असुरक्षित भएको हल्ला फैलिएपछि यहाँका पर्यटन व्यवसायी र होमस्टे सञ्चालकले सुरक्षित रहेको प्रचारलाई प्राथमिकता दिए। यो अभियानपछि पुनः पर्यटक गाउँमा भिœयाउन आफूहरु सफल भएको अध्यक्ष लामा बताउँछन्। भूकम्पले भत्किएका संरचना मर्मत र पुनः निर्माण भइरहेका छन्। 'भत्किएका होमस्टे निर्माण नगरी पर्यटकलाई ल्याउन र राख्न नसकिने भएपछि पहिलेकै अवस्थामा बनाउने काम थालेका छौं,' लामाले भने, 'हाम्रो मौलिक संस्कृति र होमस्टेको संरचनालाई पहिलेकै अवस्थामा ल्याउन सके पर्यटक आवागमन घट्दैन।'

कार्यक्रमले २०६० सालमा वडा नं २, ३ र ४ को १९ घरमा सुरू भएको होमस्टे अहिले २७ घरमा छ। अध्यक्ष लामाका अनुसार दैनिक एक सय ६० भन्दा बढी पर्यटकहरु यहाँ आउँछन्। घर घरमा पारिवारिक वातावरणमा रमेर स्थानीय परिकार खान पाउने भएकोले यहाँ आउने पर्यटक रमाउने गरेका छन्,' स्थानीयवासी दोर्जे तामाङले भने। अहिले विदेशी हुन् वा स्वदेशी होटल रेस्टुरेन्टको खानाभन्दा गाउँको ताजा उत्पादन रूचाउँछन्। तिब्बतको नजिक रहेकोले प्राचीन तिब्बती संस्कृतिको अवलोकन गर्न सकिन्छ। गत्लाङ गाविसका ७ र चिलिमे गाविसको बे्रम्दाङमा पनि ७ घरमा होमस्टे छ। टिआरपिएपीले स्थानीय पूर्वाधारको विकास तथा भाषा तथा सीपमूलक तालिम दिएपछि सो ठाउँमा होमस्टे सुरु गरिएको हो। होमस्टे भएका गाउँमा स्थानीय उत्पादनका परिकार मात्र होइन हट सावरको पनि व्यवस्था छ। आएका विदेशी पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्य तथा खानाको परिकारले लोभिने गरेका छन्।

'पहिले फोहार देखिने यहाँका गाउँघर सफा–सुग्घर पनि भएको छ,' गत्लाङ लजका फुपुसिंगी तामाङले भने, 'यहाँको होमस्टे तथा लजमा विदेशी पर्यटक आउन थालेपछि गाउँमै रोजगारीको अवसर सिर्जना भएको छ। रोजगारीका लागि विदेश जानु पर्दैन।'

अर्का पर्यटन व्यावसायी पाल्दोर पिक लजकी सार्की तामाङ स्थानीय परिकार र स्वागत सत्कारपछि विदेशी तथा स्वदेशी पर्यटक आउँदा प्रचारप्रसारमा मद्दत पुगेको बताउँछिन्।

प्रकाशित: १८ माघ २०७३ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App