१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'ऊर्जा परियोजनामा उल्लेख्य प्रगति'

काठमाडौं- नेपाल–भारत द्विपक्षीय ऊर्जा परियोजना अनुगमन संयन्त्रको दोस्रो बैठक राजधानीमा सम्पन्न भएको छ। पछिल्लो समयमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी परियोजनामा उल्लेख्य प्रगति भएको समीक्षा बैठकमा गरिएको छ।

कटौया–कुसाहा, परवानीपुर–रक्सौल प्रसारण लाइनको तार तान्ने काम सम्पन्न भइसकेको र ढल्केबर–मजफ्फपुर प्रसारण लाइनबाट थप बिजुली आउन थालेको भन्दै सन्तुष्टि व्यक्त गरिएको थियो।

भारतीय लगानीमा सञ्चालित परियोजना निर्धारित समयमा सम्पन्न नहुने समस्या अन्त्य गर्न संयुक्त संयन्त्र निर्माण गरिएको थियोे। संयन्त्रका पहिलो बैठक नोभेम्बर अन्त्यमा बसेको थियो।

संयन्त्रमा नेपालको नेतृत्व परराष्ट्र सचिवले र भारततर्फबाट राजदूतले गरेका छन्।

परराष्ट्र सचिव शंकरदास बैरागी र भारतीय राजदूत रन्जित रेको सहअध्यक्षतामा बसेको दोस्रो बैठकमा अरुण तेस्रो तथा माथिल्लो कर्णाली परियोजनाबारे पनि छलफल भएको छ। पञ्चेश्वर बहुउद्देश्य परियोजनाको विस्तृत परियोजना प्रतिवदेन (डिपिआर) माथि दुवै देशले फेब्रुअरीका मध्यसम्ममा आफ्नो टिप्पणी पठाउने सहमति भएको छ। भारतीय कम्पनी वास्कपोसले तयार पारेको प्रतिवेदनलाई नेपालले अस्वीकार गरेको थियो।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत रेले यसै वर्षको मध्यमसम्ममा प्रतिवेदनलाई अन्तिम रूप दिने बताएका थिए।

बैठकमा वीरगन्ज र विराटनगरमा भन्सारमा संयुक्त जाँच चौकी निर्माणका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले बताए।

प्रकाशित: १८ माघ २०७३ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App