१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनता आवासका एक सय ५० घर निर्माण हुँदै

सुर्खेत- सरकारले चालू आर्थिक वर्षभित्र बादी, गन्धर्व र विपन्न दलित परिवारका लागि एक हजार ५० आवास निर्माण गर्ने भएको छ। जनता आवास कार्यक्रम अन्र्तगत वादी समुदायका लागि तीन सय १९, गन्धर्व समुदायका लागि ९७ र बाँकी विपन्न दलित खोजेर घर निर्माण गर्न लागिएको शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख थम्वराज श्रेष्ठले जानकारी दिए।

आर्थिक वर्ष २०६८र०६९ देखि सुरु भएको जनता आवास कार्यक्रम अन्र्तगत हालसम्म सुर्खेतमा एक सय ८३ घर निर्माण सम्पन्न गरेर वादी, गन्धर्व र कुसुण्डा जातिका परिवारलाई हस्तान्तरण गरिसकेको छ। ति मध्ये एक सय ३२ घर वादी समुदायका छन् । तीन वटा कुसुण्डा र बाँकी गन्धर्व समुदायका छन्।

जनता आवास कार्यक्रम जिल्ला स्तरीय समन्वय समितिका संयोजक एवम् कांग्रेस नेता पूर्णबहादुर खड्काले तीन नगरपालिका र सबै गाविसहरुबाट सिफारिस भएर आएका तीन सय १९ वादी समुदायका परिवार र ९७ गन्धर्व समुदायका परिवारका लागि घर निर्माणका लागि  केन्द्रीय समन्वय समितिमा पठाउने निर्णय भएको जानकारी दिए। उनले वादी तथा गन्धर्व समुदायको छनौट प्रक्रिया सकिएपछि बचेका आवास संख्या विपन्न दलित परिवारलाई प्राथमिकता दिइने बताए।

‘जिल्लामा रहेका वादी र गन्धर्व समुदायको छनोट सकिएपछि बचेका आवास संख्या विपन्न दलित परिवारलाई प्राथमिकता दिई छनोट गरेर कार्य प्रारम्भ गर्ने निर्णय भएको छ’ संयोजक खड्काले भने, ‘विपन्न दलित परिवार छनौटको जिम्मा गाविस र नगरपालिकालाई दिइएको छ।’

समितिले जनता आवास कार्यक्रम कार्यान्वयन कार्य विधि २०७३ को दफा ४ बमोजिम छनोट भएका घरहरु बन क्षेत्रभित्र निर्माण नगर्ने र यसअघि निर्माण भइसकेका घरपरिवार नदोहोरिने गरि आवास निर्माण गर्ने निर्णय गरेको छ ।

सुर्खेतमा पाँच सयको हाराहारीमा वादी र गन्धर्व समुदाय छन् । समितिले चालू आर्थिक वर्षभित्र वादी र गन्धर्व समुदायका सम्पूर्ण विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गर्ने बताएको छ । जनता आवास कार्यक्रम अन्र्तगत सरकारले एक लाख ९० हजारमा दुई कोठा, एक बरण्डा र एक शौचालय निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गर्ने गरेको छ । लागतको २० प्रतिशत सम्वन्धीत घरमूलीले श्रमदान गर्नुपर्छ ।

सरकारले जनता आवास कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०६८/०६९ मा ४२, २०६९/०७० मा ४४, २०७०/०७१ मा १०, २०७१/०७२ मा ४२ र २०७२/०७३ मा ४५ घर निर्माण गरेर वादी, गन्धर्व र कुसुण्डालाई हस्तान्तरण गरेको थियो।

प्रकाशित: १७ माघ २०७३ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App