१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कांग्रेस—एमालेका युवाबीच ग्याङ फाइट, युवा संघ कार्यकर्ता गम्भीर घाइते

युवा संघका कार्यकर्ता दिवस राई। फाइल तस्विर

धरान—एक साताअघि युवाहरुबीच भएको झगडा मिलाउन जाँदा  आइतबार राती एमाले उपमहानगर कमिटि सदस्य तथा युवा संघका इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन्।

उनलाई कांग्रेस निटक तरुण दलका जिल्ला उपसभापति सन्तोष बिकसहितको समुहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका बिकलाई आइतबार राती नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनामा संलग्न भनिएका अन्य युवाहरु भने फरार छन्।

एक समय धरानका डन भनेर चिनिएका दिवस पछिल्लो समय पार्टीको गतिविधिमा सक्रिय थिए। लिम्बुवान पृष्ठभूमिबाट राजनीतिमा छिरेका बिक ठेक्कापट्टा र गुण्डागर्दीमा परिचित नाम हो। कांग्रेसमा प्रवेश गरेपछि राजनीतिको आडमा उनको गुण्डागर्दी बढ्दो छ।

गम्भीर घाइते रहेका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। धारिलो हतियारले उनको टाउको, नाक, दुवै हात र शरीरको विभिन्न अंगमा गम्भीर चोट पुगेको छ। घटना आइतबार राती करिब साढे ७ बजे धरान १८ स्थित शिवमार्गमा भएको हो।

सोही घटनामा सामान्य घाइते भएका मिलन राईले बिकसहित ५ जनाको नाममा ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्। उनले विकसँगै अन्दाजी ३५ वर्षीय कान्छा भन्ने प्रदिप राई, २८ बर्षीय सेते भन्ने नरसिंह राई, २९ बर्षीय अनिल रसाइली र ३१ बर्षीय राजेश गुरुङकोविरुद्ध किटानी जाहेरी दिएका छन्। यस्तै, अन्य नचिनेका २० जना जति युवाहरुलेसमेत आफुहरुलाई आक्रमण गरेको उनले जाहेरीमा खुलाएका छन्।

जाहेरीकर्ता राईका अनुसार माघ १० गते राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताको टक्सन फुड कर्नरमा सुमित तामाङ र मनोज राईबीच झगडा भएको थियो। मनोज नातामा भाञ्जा पर्ने र बिकले उक्त घटना मिलाउन भन्दै दिवसलाई पटक पटक खबर गरेपछि दुवै जना शिवमार्ग पुगेका थिए। त्यहीँ (शिवमार्ग)को बासिन्दा भएकोले शिवमार्ग बिक र उनको समुहको पकड क्षेत्र (एरिया) मानिन्छ। छलफल गराउन बोलाए पनि आफुहरु त्यहाँ पुग्नासाथ दिवसमाथि हतियारसहित आक्रमण भएको उनले बताए।

घाइतेको तर्फबाट जाहेरी आएकोले अनुसन्धान गरी कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । राती नै पक्राउ परेको बिकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय इनरुवामा राखेको छ । ‘जाहेरीबाट पनि केही नामहरु खुलेको छ, खोजी गरिरहेका छौं । मुख्य आरोपीलाई राती नै नियन्त्रणमा लिइसकेका छौं’–डिएसपी ढकालले भने–‘बीपी भित्रको टक्सनमा भएको झगडाको बिषयबाट नै यो घटना भएको भन्ने छ, वास्तविकता बुझ्ने प्रयासमा छौं ।’

राजनीतिको आडमा ठेक्कापट्टा र गुण्डागर्दी गर्ने प्रवृत्तिले धरानमा एमाले, कांग्रेस, माओवादी, लिम्बुलानलगायत दलकाका युवा समुहबीच बेला बेला झडप हुने गरेको छ।

एक समय धरानका डन भनेर चिनिएका दिवस पछिल्लो समय पार्टीको गतिविधिमा सक्रिय थिए। लिम्बुवान पृष्ठभूमिबाट राजनीतिमा छिरेका बिक ठेक्कापट्टा र गुण्डागर्दीमा परिचित नाम हो। कांग्रेसमा प्रवेश गरेपछि राजनीतिको आडमा उनको गुण्डागर्दी बढ्दो छ।
 

प्रकाशित: १७ माघ २०७३ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App