१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्तव्यस्त बर्थिङ सेन्टर

जुम्लाको एक बर्थिङ सेन्टरमा रहेको बेड । जाडो मौसममा सुत्केरी गराउन कमै मात्र महिला आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । तस्बिरः डिबी बुढा

जुम्ला– मालिकाठाँटा–९ तल्लो खोप्रीका सुनकेसा बुढालाई सुरक्षित सुत्केरी हुन गाउँकै बर्थिङ सेन्टरमा जाने इच्छा थियो । बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी, न्यानो वातावरण र खानेपानी, शौचालयजस्ता अत्यावश्यक कुरा नभएको सुनेपछि उनी सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन् । उनी एक महिना होटलमा बस्नुप¥यो । त्यसपछि एक साता अस्पतालमै बसेर उनले छोरी जन्माइन् । सदरमुकामको होटलमा लामो समयसम्म बस्नुपर्दा उनको थुप्रै खर्च भयो । उनका पति लोकेन्द्र बुढाले गाउँको बर्थिङ सेन्टर नाम मात्रको भएकाले सदरमुकाम आउनुपरेको बताए ।
सरकारले स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गर्न खोजे पनि सुत्केरी सामग्री अभावमा सुरक्षित सुत्केरी नारामै सीमित छ । लोकेन्द्रका अनुसार बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्य जोखिममा हुन्छ ।

बर्थिङ सेन्टरमा राम्रो बेड छैन, सुत्केरी आमा र बच्चा तताउने हिटर छैन । खान त परे जाओस् सुत्केरी सामग्री धुने सफा पानी पनि पाइँदैन ।

गत वैशाखमा अत्यधिक रक्तस्रावका कारण मालिकाबोता–५ की २० वर्षीया बाचु रावतको मृत्यु भयो । स्वास्थ्यकर्मीले बर्थिङ सेन्टरमा उपचार नहुने बताएपछि सदरमुकाम खलंगा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

उनका पति काशीचन्द्र रावत अत्यधिक रक्तस्राव रोक्ने उपचार प्रविधि बर्थिङ सेन्टरमा नहुँदा पत्नीको ज्यान गुमेको बताउँछन् । ‘रक्तस्राव भएपछि स्वास्थ्यचौकी गुहा¥यौं’, रावतले भने, ‘स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपचार गर्न सकिँदैन भनेपछि सदरमुकाम लैजान एम्बुलेन्स बोलायौं ।’ समयमै एम्बुलेन्स नपुग्दा पत्नीलाई बचाउन नसकेको उनले बताए ।

स्वास्थ्यकर्मी भने परिवारको पूर्वतयारी नभएको र विकट स्थानबाट अस्पताल पुग्न समय बढी लागेकाले गर्भवतीको मृत्यु भएको दाबी गर्छन् ।

एक महिनाअघि नराकोट–१ की लक्ष्मी काफ्लेले नजिकैको स्वास्थ्य संस्थामा जाँदै गर्दा बाटैमा बच्चा जन्माइन् ।  बाटोमै सुत्केरी भएपछि कपडाले बेरेर आमा र बच्चालाई घर फर्काइयो ।

जुम्लाकै छाया सार्कीलाई स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने रहर थियो । ‘बर्थिङ सेन्टरमा सुत्केरी भए आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुँदैन’ भन्ने उनले सुनेकी थिइन् ।  बर्थिङ सेन्टरको अव्यवस्था देखेपछि उनलाई लाग्यो, गाउँकै गोठ सुरक्षित रहेछ । उनका अनुसार गोठमा सुत्केरी हुँदा सुँडेनीले निरन्तर रेखदेख गर्छन्, आफन्तले स्याहारसुसार गर्छन् ।  तर बर्थिङ सेन्टरमा त्यस्तो कुनै व्यवस्था छैन । उनले भनिन्, ‘यहाँका बर्थिङ सेन्टरमा राम्रो बेड छैन, सुत्केरी आमा र बच्चा तताउने हिटर छैन । खान त परे जाओस् सुत्केरी सामग्री धुने सफा पानी पनि पाइँदैन ।’
 
हिउँदको कठ्यांग्रिँदो चिसोमा टेबुलजस्तो बेडमा सुत्केरी हुनुपर्दा कम पीडित छैनन् यहाँका महिला ।  सुत्केरी व्यथा लाग्दा पीडाले केही थाहा नहुने र सुत्केरी भइसकेपछि किन आएछु जस्तो लाग्ने गरेको भुक्तभोगी महिला गुनासो गर्छन् ।
उपचारका क्रममा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीले पनि धेरै समस्या भोग्नुपरिरहेको छ । सुत्केरी गराइसकेपछि आवश्यक पर्ने उपचारका सामग्री नहुँदा उपचारमा कठिनाइ भोग्नुपरेको अनुभव उनीहरूको छ । कटन, गज, ब्यान्डेजजस्ता सामग्री  अधिकांश बर्थिङ सेन्टरमा पाइँदैनन्  ।  ‘बर्थिङ सेन्टरमा राम्रो व्यवस्थापन भइदिएको भए अकालमा कुनै पनि गर्भवती र सुत्केरीको मृत्यु हुने थिएन’, स्थानीय धनबहादुर मल्लले भने ।
   
स्थानीय डल्ली डाँगी गाउँमा सुरक्षित सुत्केरी गराउने जागरण आए पनि स्वास्थ्य संस्थासम्म पहँुच नपुगेको बताउँछिन् । जिल्लामा  जिल्लामा १८ वटा बर्थिङ सेन्टर छन् । भौगोलिक विकटताका कारण अधिकांश स्वास्थ्य संस्था बस्तीबाट निकै टाढा छन् । त्यसैले व्यथा लाग्नेबित्तिकै महिलालाई सेन्टरमा पु¥याउन नसकिने डाँगी बताउँछिन् ।   सदरमुकाम आसपासबाहेक अन्य सबै स्वास्थ्य संस्था यातायातको पहँुच छैन । जुम्लाबाहेक कर्णालीका पाँचै जिल्लामा ६ घन्टामा जिल्ला अस्पतालमा पुग्न सकिने अवस्था छैन ।
जिल्लामा वार्षिक एक हजारदेखि १५ सय सम्म महिला गर्भवती हुने गरे पनि ४० प्रतिशतले मात्र  सुरक्षित प्रसूति सेवा लिने गरेको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख वैद्यनाथ झाले जिल्लामा बर्थिङ सेन्टरको सुविधा भए पनि रगत परीक्षण र अल्ट्रासाउन्डको व्यवस्था नहुँदा प्रभावकारी उपचार सुविधा दिन नसकेको बताए । उनका अनुसार भौगोलिक विकटताका कारण जिल्लाको मातृ मृत्युदर उच्च छ  ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका पोषण कार्यक्रम संयोजक पृथ्वीनाथ योगीले जिल्लाका १८ मध्ये दुई बर्थिङ सेन्टर बन्द छन् ।  कर्मचारी अभावमा गोठीचौर गाविसको मणिसाघु  र बुम्रामाडीचौरका बर्थिङ सेन्टर बन्द छन् ।

 

 

प्रकाशित: १६ माघ २०७३ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App