१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फागुन १ देखि मुटुका भल्बको शल्यक्रिया निःशुल्क

काठमाडौं– बाथ ज्वरोका कारण मुटुका भल्ब बिग्रिएका बिरामीको उपचार निःशुल्क हुने भएको छ । घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगे पूर्ण रुपमा फेर्नुपर्ने हुन्छ ।

महंगो उपचारका कारण रोग पहिचान भएर पनि शल्यक्रिया वा भल्ब फेर्न नसक्दा थुपै्रको अल्पायुमै मृत्यु हुनेगरेको छ । कमजोर आर्थिक–सामाजिक अवस्थाका बिरामी त उपचार गराउन नसकेर यो रोग पालेर बस्नुपर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा स्वास्थ्यमन्त्रीले यो रोगको सरकारले निःशुल्क उपचार घोषणा गरेका हुन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१आंै वार्षिकोत्सव अवसरमा शनिबार स्वास्थ्यमन्त्री गगनकुमार थापाले फागुन १ देखि मुटुको भल्बको सम्पूर्ण शल्यक्रिया निःशुल्क हुने घोषणा गरे ।

मन्त्री थापाले मुटुको उपचार सेवा उपलब्ध भएका अस्पतालबाट यो सेवा पूर्णरुपमा निःशुल्क हुने बताए । उनले यो समस्याबाट अधिकांश कम उमेरका, परिवार पाल्नुपर्ने उमेर समूहका र कमजोर आर्थिक अवस्थाका मानिस पीडित भएकाले उनीहरूको जीवन बचाउन निःशुल्क उपचार व्यवस्था गर्नुपरेको स्पष्ट पारे ।

चिसो कोठा र साँघुरो ठाउँमा धेरैजना बस्ने परिवारका बालबालिकामा घाँटीको संक्रमण बढी देखिन्छ । यो संक्रमणले बाथज्वरो निम्त्याउँदै विस्तारै मुटुको भल्बमा असर गर्छ । यस्ता अधिकांश बिरामीको तत्काल भल्ब फेर्नुपर्ने हुन्छ ।

मुटुको उपचार हुने नेपालका अस्पातालहरूमा प्रत्येक वर्ष करिब एक हजार भल्ब फेर्नुपर्ने अवस्थाका बिरामी सम्पर्कमा आउने गरेको तथ्यांक छ । गंगालालमा मुटुको एउटा भल्ब फेर्न दुई लाख ५० हजार र दुईटा फेर्न साढे तीन लाख रुपैयाँ खर्च लाग्छ । निजीमा यो उपचार निकै महंगो पर्छ ।

सरकारले १५ वर्षमुनि र ७५ वर्ष उमेरमाथिका मुटुरोगीको सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको छ । तर आर्थिक अवस्था कमजोर भएका अन्य मुट रोगी  महंगो उपचार गराउन नसकेरै ज्यान गुमाउने अवस्थामा सम्म पुग्छन् । १५ वर्ष उमेरमुनिका बालबालिकामा बाथ मुटुरोगसँगै जन्माजात मुटुरोग समस्या देखिएको छ ।

बालबालिका र वृद्धबाहेक कमजोर अवस्थाका मुटुरोगीलाई गंगालाल  र मनमोहन कार्डियोथोरासिस सेन्टरबाट वार्षिक तीन सय भल्ब निःशुल्क उपलब्ध गराइन्छ । तर  शल्यक्रिया खर्च जोहो गर्न नसकेर यो सुविधा लिन नसक्ने धेरै छन् । निःशुल्क उपलब्ध गराइने भल्ब शल्यक्रिया खर्च जोहो गर्न नसकेपछि खपत नभएर जम्मा भएको ती अस्पतालको भनाइ छ ।  ‘मुटुरोगको उपचारमा विपन्न समुदायका धेरैले खर्च जुटाउनै सक्दैनन्,’ गंगालालका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले भने, ‘अब भल्बसम्बन्धी रोगका सबै उपचार निःशुल्क घोषणाले बिरामीलाई ठूलो राहत मिल्नेछ ।’

गंगालालमा मात्रै वार्षिक करिब ६ सय हाराहारीमा भल्ब बिग्रिएका बिरामी आउने जानकारी शर्माले दिए ।
चिकित्सकका अनुसार नेपालमा बाथ ज्वरो मुटुरोगको प्रमुख कारण हो । बाथ ज्वरो र घाँटीको संक्रमणका कारण बाल तथा किशोर अवस्थामा बिगर्न सुरु भएको भल्ब युवा अवस्थामा पुग्दा जटिल बन्छ । यस्तो अवस्थामा शल्यक्रिया गरेर भल्ब फर्नुपर्छ । यसबाहेक भल्ब खोल्ने उपचार पिटिएमसी उपलब्ध भए पनि बिरामी ढिलो गरी अस्पताल पुग्दा शल्यक्रिया नै प्रमुख बिकल्प हुन्छ । शल्यक्रिया गरी कृत्रिम भल्ब राखेपछि रगत पातलो बनाउन आजीवन औषधि भने सेवन गर्नुपर्छ ।
स्वास्थ्यमन्त्री थापाले यस्ता मुटुरोगीलाई सहज जीवन जिउन सघाउन निःशुल्क उपचार गर्न लागिएको बताए । ‘मुटुरोगकै कारण काम गर्ने उमेर समूहको एउटा सदस्य गुमाउनु प¥यो भने परिवार नै बेसहारा बन्छ,’ थापाले भने ।

चिकित्सकहरूका अनुसार बाथ ज्वरोको सुरुवात घाँटीको संक्रमणबाट हुन्छ । विद्यालय जाने र चिसोमा बस्ने बालबालिकामा घाँटीको संक्रमण बढी देखिन्छ । यस्तो संक्रमण सर्ने सम्भावना पनि हुन्छ । घाँटीको संक्रमणमा तत्काल एन्टिवायोटिक ओषधि सेवन नगरे एकदेखि दुई सातामै बाथ ज्वरो हुन्छ । यो समस्या पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ ।

बाथ ज्वरोसँगै जोर्नी दुख्ने–सुन्निने, ज्वरो आउने, मुटुको चाल बढ्ने, छाती दुख्ने र स्वाँस्वाँ हुने, छालामा रातो गिर्खा वा बिबिरा देखिनेजस्ता लक्षण देखिन्छन् । यसको असरले भल्ब खुल्ने र बन्द हुने प्रणालीमा बाधा पुग्न गई बाथ मुटुरोग हुन्छ ।
मुटु उपचार विस्तार गरिने

स्वास्थ्य मन्त्री थापाले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको मातहत रहनेगरी नेपालगन्ज र पोखरामा तत्काल मुटुरोग उपचार सेवा विस्तार गर्न लािगएको जानकारी पनि दिए ।  थापाका अनुसार मन्त्रालयले सेवा विस्तारका लागि एउटा छुट्टै टोली बनाएर गृहकार्य गरिरहेको छ ।

वार्षिकोत्सव अवसरमा मन्त्री थापाले केन्द्र परिसरमा बनाउन लागिएको बहिरंग तथा आकस्मिक सेवा भवनको शिलन्याससमेत गरे । अस्पतालका निर्देशक डा. शर्माका अनुसार सो भवन ४८ करोड रुपैयाँ लागतमा तीन बर्षमा बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद तथा अस्पताल सञ्चालक समिति सदस्य नरहरि आचार्यलगायतले अस्पतालले दिँदै आएको सेवाको प्रशंसा गरेका थिए । गत वर्ष मस्तिष्क घातभएपछि आचार्य पहिलोपटक शनिबार सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् ।

२१ वर्षअघि स्थापना भएको केन्द्र सुलभ र अत्याधुनिक सेवासहित मुटुरोग उपचारमा दक्षिण एसियामै नाम कमाएको संस्थामा पर्छ । निर्देशक शर्माका अनुसार गत वर्ष केन्द्रले १ लाख ४० हजार बिरामीलाई बहिरंग सेवा दिएको थियो । सोही अवधिमा केन्द्रले १५ हजार मुटुरोगीको शल्यक्रिया, ६ हजार पाँच सयलाई क्याथल्याब प्रोस्युजिअर, ५५ हजारलाई इसिजी, इकोलगायत सेवा उपलब्ध गराएको छ ।  तीन शल्यकक्ष, तीन क्याथल्याब रहेको केन्द्रमा २६ आइसियुसहित २ सय बेड छन् ।  

प्रकाशित: १६ माघ २०७३ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App