१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाले भने– ‘सरकार फेर्ने कुरा प्राथमिकताकाे विषय हाेइन’

नेपालगन्जमा शनिबार पत्रकारसँग कुराकानी गर्दै शेरबहादुर देउवा। तस्बिरः अर्जुन ओली

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन प्राथमिकताको विषय नभएको बताएका छन्। नेपालगन्जमा शनिबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पुर्वप्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रिय सहमती महत्वपूर्ण कुरा हो, सरकार फेर्ने कुरा त्यति आवश्यकताको विषय होइन।’

वर्तमान समयको आवश्यकता भनेको संविधान कार्यान्वयन नै रहेको उनले प्रष्ट्याए। स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन गर्ने विषयमा सत्तारुढ दल माओवादी केन्द्रसँग कुनै छलफल नभएको उनले बताए।

सबै दलको ध्यान पहिले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन र त्यसपछि प्रदेश तथा केन्द्रीय निर्वाचन गराउनतर्फ केन्द्रित हुनुपर्ने देउवाको जोड छ। संविधान कार्यान्वयन गर्नका लागी भए पनि निर्वाचन गराउन आवश्यक रहेको उनको भनाइ छ। आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गरे। निर्वाचनसम्बन्धी कानुन निर्माण र निर्वाचनको मिति घोषणा अबको केही दिनभित्रै हुने सभापति देउवाले बताए।

आसन्न निर्वाचनमा नेपाली कांग्रेस पुनः पहिलो पार्टी बन्ने उनले दाबी गरे। पार्टीभित्र अझै पनि गुट–उपगुट रहेको भन्ने पत्रकारको जिज्ञासामा उनले चुनावको बेलामा मात्र निश्चित समयका लागी विभिन्न समुह निर्माण भएको, तर अहिले त्यो अन्त्य भइसकेको दाबी गरे।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले लगभग पूर्णता पाइसकेको र चाँडै विभाग गठन गर्ने तयारी रहेको बताए। ‘केन्द्रीय कार्यसमिति त बनिसकेको छ नि, अब तीन÷चार वटा मात्र बन्न बाँकी छ,’ देउवाले भने, ‘विभाग पनि अबको चार÷पाँच दिनमै गठन हुन्छ।’ केही दिन अघि यहाँ आएका उनी दाङका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति देउवाको स्वागतमा शनिबार बाँकेका सांसद बादशा कुर्मीले शनिबार बिहान नेपालगन्जमा चियापान कार्यक्रमसमेत आयोजना गरे। सो क्रममा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका थिए।

‘वैशाखमा स्थानीय तहको निर्वाचन निश्चित रुपमा हुन्छ, तपाई गाउँ–गाउँमा पुगेर जनताको मन जित्ने काम गर्नुस्,’ उनले भने । सभापति देउवा शनिबार नै राजधानी प्रस्थान गरेका छन्।

 

प्रकाशित: १५ माघ २०७३ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App