१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रुद्राक्ष व्यापार खस्कियो

धरान- चीनका उपभोक्ताले गुणस्तरीय रुद्राक्ष मात्र खरिद गर्न थालेपछि दुई वर्षयता व्यापार खस्किएको छ। यसले व्यापारीभन्दा बढी रुद्राक्षखेती गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन्। नेपालमा उत्पादन हुने रुद्राक्षको सबैभन्दा ठूलो बजार चीन हो। करिब ६ वर्ष अघिदेखि नेपालमा उत्पादन भएको रुद्राक्ष अत्यधिक मात्रामा चीन खपत हुन थालेको थियो। रुद्राक्ष खरिद गर्न चिनियाँ व्यापारी आफैँ उत्पादन हुने पहाडी जिल्लामै पुग्ने गर्थे। किसानले भाउ पनि राम्रो पाएका थिए।

दुई वर्षयता भने चिनियाँले गुणस्तरीय रुद्राक्ष मात्र खरिद गर्न थालेपछि व्यापार खस्किएको किसान तथा व्यापारीको भनाइ छ। विगत चार वर्षदेखि रुद्राक्षखेती र व्यापार दुवैमा संलग्न धनकुटा– ६ का सनम नेवा खड्गीका अनुसार यो वर्ष पनि पहाडी जिल्लामा रुद्राक्षको उत्पादन अत्यधिक छ। बजारले कोल्टे फेरेपछि रुद्राक्ष बिक्री नभएर किसान चिन्तित छन्।

'रुद्राक्षको उत्पादन अत्यधिक छ, तर बजारले कोल्टे फेर्‍यो। व्यापार खस्किएर किसान मारमा परेका छन्,' खड्गीले भने, 'चिनियाँले रुद्राक्षको स्तर हेरेर मात्र खरिद गर्न थालेपछि यस्तो भएको हो।'

पूर्वीपहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ। त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ। संखुवासभा र भोजपुरको राम्रो नगदेबालीका रुपमा रुद्राक्ष रहेको छ। ठाउँअनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने सिजन पनि फरक छ। विगतमा चीनमा भएको मागले राम्रो भाउ पाएका किसान यो वर्ष भने निराश छन्। धरानका रुद्राक्ष व्यापारी प्रेमप्रसाद पराजुलीका अनुसार पहिले चिनियाँ व्यापारीले जस्तासुकै रुद्राक्ष खरिद गरेर लैजान्थे। पोहोरदेखि भने गुणस्तरीय रुद्राक्ष मात्र खरिद गर्न थालेपछि व्यापार खस्किँदै गएको हो। 'गएको वर्षको सिजन अन्त्यतिर मात्रै चिनियाँले गुणस्तरीय रुद्राक्ष मात्रै लैजान्छ भन्ने व्यापारीले थाहा पाए। यो वर्ष त सुरुदेखि नै नेपालका व्यापारीले पनि गुणस्तरीय मात्र किन्ने भएकाले किसान मारमा परे,' उनले भने।

व्यापारीका अनुसार चीनमा हातको ब्रासलेट, घाँटीमा माला, डेकोरेसनलगायत फेसनको रुपमा प्रयोग हुने भएकाले नेपालमा रुद्राक्षको माग बढेको थियो। रुद्राक्षको दानामा प्राकृतिक रुपमै बुट्टा हुने भएकाले चिनियाँमा यसप्रति आकर्षण छ। करिब ६ वर्ष अघिदेखि चीनमा रुद्राक्षको माग भए पनि वास्तविक किसान भने तीन वर्षयता मात्र त्यसबारे थाहा पाएका थिए।

चिनियाँले अहिले गोलो, चिल्लो, मिलेको, बुट्टा राम्रो भएको र शरीरमा लगाउँदा नबिझाउने दाना मात्र रोजेर लैजान थालेका छन्।

गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाउने व्यापारी बताउँछन्। पराजुलीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरीकन प्रतिकिलो १५ रुपैयाँदेखि डेढ लाख रुपैयासम्म पाउँछन्। अरु मुखे रुद्राक्षको मूल्य भने गोटागन्तीको हिसाबले हुने गर्छ। 'आठदेखि १२ मुखे रुद्राक्ष प्रतिगोटा एक हजारदेखि तीन हजारसम्म पर्छ। १३ मुखेदेखि माथि रुद्राक्षको आकार, जातअनुसार गोटा गन्तीअनुसार भाउ पनि बढ्छ,' पराजुलीले भने।

चीन निर्यात नभएका रुद्राक्षको वैकल्पिक बजार भारत हो। कोसी पहाडी जिल्लाबाट मात्र वर्षमा करिब ६ लाख किलोजति रुद्राक्ष भारत निर्यात हुने व्यापारीको अनुमान छ।

दोहोरो नीतिले किसान मर्कामा

नेपाल सरकारकै दोहोरो नीतिका कारणले पनि रुद्राक्ष किसान मारमा परेका छन्। ०७२ असोज २५ मा प्रकाशित नेपाल राजपत्रको भाग ३ को अनुसूची २५ ले ओसारपसार गर्न छोडपुर्जी लिनुनपर्ने वन पैदावरमा रुद्राक्षलाई पनि समावेश गरेको छ। तर, सोही राजपत्रको अनुसूची २९ मा वन पैदावर ओसारपसार लगत प्रमाणित फारम भर्नुपर्ने व्यवस्था गरिएपछि दोहोरो नीतिले किसान मर्कामा परेको गुनासो छ। 'पहिलो व्यवस्थाले किसानलाई छोडपुर्जी चाहिँदैन भन्यो, तर दोस्रोले लगत फारम भर्नुपर्ने भन्यो। यो दोहोरो नीतिले किसान धेरै समस्यामा छन्,' भोजपुर दिङ्लाका पोष्टराज राई भन्छन्, 'किसानले दुई–चार बोटमा उत्पादन गरेको रुद्राक्षलाई बजारसम्म पुर्‍याउन समस्या छ, प्रहरीले बीच बाटोमै समातिदिन्छ।'

व्यापारीका अनुसार सरकारको दोहोरो नीतिले किसानले बारीमा फलेको दुई–चार किलो रुद्राक्षलाई व्यापारीको हातसम्म पुर्‍याउन सकेका छैनन्। झोलामा थोरै रुद्राक्ष बोकेर बजार लैजाँदा प्रहरीले पक्राउ गरिदिने गरेका छन्। एउटै राजपत्रमा छोडपुर्जी आवश्यक नपर्ने र पुनः लगत प्रमाणित फारम भर्नुपर्ने दोहोरो नीति सरकारले ल्याएको किसान तथा व्यापारीको गुनासो छ। 'छोडपुर्जी नचाहिने भनेर किसानलाई जिल्ला वन कार्यालयमा पुग्नैपर्ने सास्तीबाट राहत दिन खोजियो, तर त्यही राजपत्रमा लगत फारम भर्नुपर्ने भनेर फेरि दुःख दिने काम गरियो,' व्यापारी प्रेमप्रसाद पराजुली भन्छन्, 'गाउँका किसान दुई–चार किलो रुद्राक्षका लागि जिल्ला धाइरहन सक्दैनन्, बरु उनीहरूलाई एउटा बजार केन्द्र तोकेर त्यहीँ कर लिने व्यवस्था गरिनुपर्छ।'

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडा भने छुटपुर्जी नभएका रुद्राक्षलाई मात्र पक्राउ गरेर वनमा बुझाउने गरेको बताउँछन्। आफ्नो ११ महिने कार्यालयमा मात्र एकजनालाई पक्राउ गरेको उनले सुनाए। सुनसरीका जिल्ला वनअधिकृत राजेन्द्रप्रसाद निरौला भने व्यापारिक प्रयोजनका लागि ओसारपसार गर्नलाई इजाजत एवं छुटपुर्जी आवश्यक भएको बताउँछन्। 'किसानलाई गाउँघरमै संकलन गर्न समस्या भएन, तर व्यापारिक प्रयोजनलाई आवतजावत गर्न भने इजाजत चाहिन्छ,' डिएफओ निरौलाले भने, 'कसैको दुई–चार बोट मात्र रुद्राक्ष छ भने पनि दर्ता गर्दा राम्रो हुन्छ। अरु जातका रुखसँगै निजी वनको रुपमा दर्ता गरे सहज हुन्छ।'

प्रकाशित: १५ माघ २०७३ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App