१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उपलब्धीमुलक करियरमा अर्को अध्याय

काठमाडौं- अल्ट्रा धाविका मिरा राईको गौरवमय उपलब्धीको यात्राले बिहीबार अर्को सुनौलो अध्याय थपेको छ। उनले बिहीबार नेसनल जियोग्राफिक च्यानलले प्रदान गर्ने ‘साहसिक व्यक्तित्व २०१७’ को अवार्ड जितेकी छन्। २९ वर्षिया मिराले साहसिक खेलकुद, मानव उत्थान, खोज तथा सरंक्षणका क्षेत्रमा कार्यरत विश्वभरका १० प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड हात पारेकी हुन्।

नेसनल जियोग्राफिक च्यानलले वर्षेनी खोजी, संरक्षण, साँस्कृतिक संरक्षण, साहसिक खेलकुद तथा मानव संरक्षणमा काम गर्ने १० व्यक्तित्व छनोट गर्छ। छनोट गरिएकामध्ये खुला मतदानबाट एक जनालाई साहसिक वर्ष व्यक्ति घोषणा गर्ने गर्छ।

भोजपुरको विकट गाँउ सानो दुम्जामा जन्मिएकी मिराले कमजोर पारिवारिक आर्थिक स्थितिका कारण ६ कक्षामा पढ्दा–पढ्दै अध्ययन छाडेकी थिइन्। घरको कामकाजमा आमाबुवालाई सघाउन चाहने मिरा कमजोर आर्थिक अवस्थाका कारण सानै उमेरमा स्कुल छोडेर माओवादी पार्टीमा आवद्ध हुने अवस्थामा पुगिन। पार्टीमा लागे पनि दुई वर्ष घरमै बसेर पढाई अघि बढाउने मौका पाएकी उनी ८ कक्षा पुगेपछि माओवादीको पूर्णकालीन सदस्य बनेकी थिइन्।

शान्ति सम्झौतापछिसेना समायोजनक्रममा अनमिनबाट अयोग्य घोषित भएपछि उनको जीवनले योग्यताको स्वर्णिम मोड लियो। समायोजनमा पर्नुभन्दा राम्रो करियर पाइन्।

सिपाहीको जागिर नपाएको पीडाले धेरै रात निदाउन नसकेकी मिरा अहिले देशकै गौरव बनेकी छन्। अल्ट्रा दौडको विश्व च्याम्पियन बनेर अन्तर्राष्ट्रिय जगतमा नेपालको झण्डा फहराएकी मिराले आफ्नो उपलब्धिमा बिहीबार नेसनल जियोग्राफिकले प्रदान गर्ने साहसिक वर्ष व्यक्तित्वको अवार्ड पनि थपिन।

गतवर्ष फ्रान्समा ८० किलोमिटर दूरीको म्याराथन डु मोन्ट ब्लान्स अल्ट्रा दौडको उपाधि जितेर मिराले वर्षको साहसिक व्यक्ति बन्ने आधार बनाएकी थिइन। फ्रान्समा उपाधि जित्दा उनले १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा निर्धारित दूरी तय गरेकी थिइन्।

अनमिनबाट अयोग्य भएपछि मिराले सानैदेखिको खेलकुद रुची पूरा गर्न माओवादीकै पिएलए स्पोर्ट्स क्लबसँग आबद्ध भएकी थिइन्। पिएलएबाट सुरुका दिनमा कराते प्रशिक्षण थालेकी उनको भेट बालाजु कराते एकेडेमीका अध्यक्ष ध्रुवविक्रम मल्लसँग भयो। मिरा जति पनि दौडन सक्थिन्। त्यसैले मल्लले मिरालाई दौडमै लाग्ने सल्लाह दिए र एथलेटिक्सका मुख्य प्रशिक्षक सुशीलनरसिंह राणासँग भेट गराए।

२०६५ सालतिर टोखामा भएको ५ किलोमिटर दौडमा कान्छीमाया कोजुले स्वर्ण पदक जित्दा मिरा तेस्रो भएकी थिइन्। एथलेटिक्समा पहिलो पटक पाएको त्यो सफलताले मिरालाई यसैमा लाग्न उत्साह र आत्मविश्वास दियो। उनले पिएलएबाट पाँचौं र छैटौं राष्ट्रिय खेलकुदका ५ र १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरिन्। 

कमजोर आर्थिक स्थितिको परिवारकी मिरालाई छैटौं राष्ट्रिय खेलकुदपछि फेरि खेलक्षेत्रमा सक्रिय रहने अनुमति मिलेन। उनी खेलकुदबाट ओझलमा परिन्। अभावले नेपाली खेलकुदलाई नयाँ उचाई दिने क्षमताकी प्रतिभालाई वैदेशिक रोजगारीमा जान बाध्य पार्‍यो। दुई वर्षअघि तीनवर्षे भिसामा मलेसिया जान उनी काठमाडौं आइपुगिन्। तर मल्लले मिरालाई रोके र फेरि एथलेटिक्सतिर नै डोर्‍याए।

त्यसपछि २०७० चैत ९ गते हिमालयन आउटडोर फेस्टिभलमा प्रतिस्पर्धा गर्दा मिराले पहिलो स्थान हासिल गरेकी थिइन्। यसले उनलाई एथलेटिक्सको जोखिमपूर्ण विधा अल्ट्रा दौडतर्फ आकर्षित गराएको थियो।

यसबीचमा उनले हङकङमा चार तथा अस्ट्रेलिया र इटालीमा एक/एक पटक अल्ट्रा दौडमा भाग लिइसकेकी छिन्। गत वर्ष माघमा उनी हङकङको स्काई रनिङ एसियन च्याम्पियनसिपअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौडमा महिलातर्फ च्याम्पियन बनेकी थिइन्।

प्रकाशित: १५ माघ २०७३ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App