१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मौसममा बदली

काठमाडौं- पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायुको कारण बिहीबार बेलुकादेखि देशभरको मौसम परिवर्तन भएको छ। पहाडी क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। यससँगै जाडो पनि बढेको छ। पश्चिम वायुको प्रभाव शनिबार पनि देखिने अनुमान मौसमविद्को छ। ‘पश्चिमी वायु बिहीबार साँझबाट देखा परेको हो,’ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, ‘यो वायुको असर शनिबार पनि देखिने अनुमान छ।’ उनका अनुसार शनिबार वायुको प्रभाव पूर्वका केही जिल्लामा देखिनेछ। पूर्वी नेपालका केही जिल्लामा शनिबार वर्षा हुन सक्ने सुवेदीले बताए। आइतबारदेखि देशभरको मौसम सफा रहने महाशाखाको अनुमान छ। उपत्यकालगायत पश्चिमी क्षेत्रमा शनिबार पनि घाम लाग्ने अनुमान महाशाखाले गरेको छ।

उपत्यकामा शुक्रबार दिनभर पानी पर्‍यो। उपत्यकामा पाँच मिलिमिटर पानी परेको महाशाखाले जनायो। उपत्यकामा शनिबार राति हल्का वर्षा हुन सक्ने र त्यसपछि मौसम सफा रहने महाशाखाले जनाएको छ।

शुक्रबार सबैभन्दा बढी वर्षा वीरेन्द्रनगरमा भएको छ। वीरेन्द्रनगरमा २७ दशमलब ५ मिलिमिटर वर्षा भयो। त्यसैगरी पोखरामा ३ दशमलब १ मिलिमिटर, भैरहवामा १४ दशमलब ८, जुम्लामा २० दशमलव २ र नेपालगन्जमा ६ दशमलब ३ मिलिमिटर वर्षा भएको छ।

यसअघि माघ १ गते पनि उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भएको थियो। त्यस बेला उपत्यकालगायत देशभरको तापक्रम घटेको थियो। त्यस बेला उपत्यकाको तापक्रम ० दशमलब ४ डिग्री सेल्सियस पुगेको थियो। शुक्रबार भने उपत्यकाको तापक्रम ९ दशमलब ४ डिग्री सेल्सियस छ। गर्मी सुरु हुँदै गएका कारण तापक्रम खासै नघटेको मौसमविद् सुवेदीले जानकारी दिए। जाडो भने केही बढेको महाशाखाले जनायो।

प्रकाशित: १५ माघ २०७३ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App