१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फाइनलमा विलियम्स दिदीबहिनी भिडन्त

मेलबर्न- अमेरिकी सुपरस्टार सेरेना विलियम्स बिहीबार अस्ट्रेलियन ओपनमा आफ्नै दिदी भेनसविरुद्धको फाइनल भिडन्त पक्का गर्दै कीर्तिमानी २३  औं ग्रान्ड स्लाम उपाधि नजिक पुगेकी छिन्। विश्व नम्बर दुई सेरेनाले क्रोएसियाकी वरियताहिन मिर्जाना लुसिक बारोनीको सनसनीपूर्ण यात्रा ६–२, ६–१ को सोझो सेटमा टुंगाउँदै फाइनलयात्रा पक्का गरेकी थिइन्। बारोनीको स्वर्णीम यात्रामा पूर्णविराम लगाउन सेरेनालाई ५० मिनेटको मिहिनेत पर्याप्त भयो। १९९८ पछि पहिलो पटक आफूभन्दा एक वर्ष कान्छी बारोनीसँग भेट हुँदा ३५ वर्षे सेरेनाले सजिलो जित हासिल गर्दै सातौं पटक अस्ट्रेलियन ओपन जित्ने आशा कायम राखिन।

फाइनलमा दिदी भेनसलाई हराउन सके सेरेनाले स्टेफी ग्राफको सर्बाधिक २२ ग्रान्ड स्लाम उपाधि जित्ने कीर्तिमान तोडने छिन्। विश्व टेनिसको इतिहासमा सुनौलो अक्षरले नाम लेख्ने क्षणको नजिक पुगे पनि सेरेनाले जर्मन महान स्टार स्टेफी ग्राफलाई पछि पार्ने विषयमा बोल्न अस्विकार गरिन। मेलबर्नमा उपाधि जित्न सके उनले विश्व नम्बर एकको वरियता पनि पुन हासिल गर्नेछिन्। गत वर्षको अन्त्यतिर एन्जेलिक केर्बेरले उनलाई विश्व वरियताको शीर्ष स्थानमा स्थानान्तरण गरेकी थिइन।

अर्को सेमिफाइनलमा सेरेनकी दिदी भेनसले अर्की अमेरिकी कोको भेन्डेवेगको चुनौती ६–७ (३/७), ६–२, ६–३ को सेटमा पन्छाउँदै फाइनल यात्रा पक्का गरेकी थिइन। अस्ट्रेलियन ओपनमा बिहीबार सम्पन्न दुई सेमिफाइनलमा सेरेना र भेनस दुवैले जित हासिल गरेपछि विलियम्स परिवारको वर्चस्व पनि प्रमाणित भएको छ। दुई दिदी–वहिनीबीच ग्रान्ड स्लामको फाइनलमा भेट हुन लागेको यो नवौं पटक हो। पछिल्लो भेट ८ वर्षअघि भएको थियो। दिदी–वहिनीबीचका पछिल्ला ८ भिडन्तमा सेरेनाले ६ खेल जितेकी छिन भने भेनसले दुई पटक सफलता हासिल गरेकी छिन्।

'मैले आज उनको (भेनसको) खेल हेर्न पाइन। पक्कै पनि उनको जितमा म गौरवान्वित छु। उनी मेरी दिदीमात्र नभई मेरा लागि प्रेरणाको स्रोत पनि हुन्,' सेरेनाले दिदीवारे भनिन, 'मेरा लागि दिदी नै संसार हुन, उनी मेरो जीवन हुन। मेरा लागि दिदी सबथोक हुन्। हामी दुवै फाइनल पुग्नुभन्दा ठूलो खुसी मेरा लागि अरु हुन सक्दैन। यो हामी दुवैको सबभन्दा ठूलो सपना हो।'

सेरेनासँग बोली मिलाउँदै दिदी भेनसले पनि फाइनलमा आफ्नै वहिनीलाई प्रतिद्वन्द्वी पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन। 'फाइनलमा फेरी वहिनीसँग खेल्न पाउँदा मलाई निकै खुसी लागेको छ। उनी मेरा लागि यस्तो प्रतिद्वन्द्वी हुन्, जोसँग हार्दा पनि मलाई जित्दाजस्तै खुसी लाग्छ,' भेनसले भनिन, 'उनको जितमा सायद उनीभन्दा मलाई बढि खुसी लाग्छ।'

पुरुषतर्फ स्विस डर्बीका रुपमा सम्पन्न सेमिफाइनलमा पाँच सेटसम्म संघर्ष गर्दै स्टान वावरिन्कामाथि ७–५, ६–३, १–६, ४–६, ६–३ को विजयी नतिजा निकाल्दै रोजर फेडेररले फाइनलमा स्थान पक्का गरेका छन्। २०१५ को युएस ओपनपछि फेडेरर कुनै पनि ग्रान्ड स्लामको फाइनल पुगेको यो पहिलो पटक हो।

बिहीबारको जितपछि ३५ वर्षे फेडेरर केन रसवालपछि ग्रान्ड स्लामको फाइनल पुग्ने सबभन्दा पाका खेलाडी बनेका छन्। रसवालले ३९ वर्षको उमेरमा १९७४ को युएस ओपनमा फाइनलयात्रा गरेका थिए। आइतबार हुने फाइनलमा फेडेररले पुराना प्रतिद्वन्द्वी राफेल नाडाल वा ग्रिजोर दिमित्रोभमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ३५ वर्षकी सेरेना र ३६ वर्षे भेनस फाइनल पुगेको दिन फेडेररको सफलताले अस्ट्रेलियन ओपनको उपाधि भिडन्तमा भेट्रान खेलाडीहरुको दबदबा प्रमाणित भएको छ।

चोटका कारण ६ महिनासम्म कोर्टवाहिर आराममा रहेका १७ औं वरियताप्राप्त फेडेररले शीर्ष वरियताका एन्डी मरे र दोस्रो वरियताका नोभाक जोकोभिच सुरुआति चरणमै वाहिरिनुको पूरा फाइदा उठाए। चौथो वरियताका वावरिन्कालाई पराजित गरेपछि उनी अर्को ऐतिहासिक सफलतानजिक पुगेका छन्।

'मेरा लागि यो अत्यन्तै खुसीको क्षण हो। पक्कै पनि यो जितले अहिले मलाई निकै उत्साहित बनाएको छ। मैले यसपाली यहाँसम्म आइपुग्छु भन्ने कल्पना पनि गरेको थिइन,' फेडेररले भने, 'त्यसैले पनि मेरा लागि यो यात्रा विशेष र उत्साहजनक छ। म अत्यन्तै खुसी छु।'

प्रकाशित: १४ माघ २०७३ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App