१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टोखामा एक घर, एक पहिचान

टोखा (काठमाडौं)- राजधानीको उत्तरी प्रवेशद्वारका रूपमा रहेको टोखामा एक घर एक सम्पदा तथा पहिचान कार्यक्रम अगाडि सारिएको छ। प्राचीन बस्ती टोखाका प्रत्येक घरमा रहेका सम्पदालाई जीवन्त बनाइराख्न यस्तो योजना अगाडि सारिएको हो।

टोखा नगरपालिका ३, ४, ५ र ६ वडाको प्राचीन बस्तीभित्र यस्तो योजना सुरु गरिएको छ। अब प्रत्येक घरमा एकएकवटा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्िवक महत्व बोकेका सम्पदाको संरक्षण र संवर्द्धन गरिनेछ।

टोखा सम्पदा संरक्षण समाजको पहलमा योजना अगाडि सारिएको समाजका अध्यक्ष मणिराज डंगोल बताए। उनले टोखाको मौलिक पहिचानलाई समेटेर संग्रहालय निर्माण गर्न लागिएको जानकारी दिए।

'पहिलो चरणमा संस्कृतिविद्, सम्पदाविद् र पर्यटनविद्सँग छलफल चलाइसकेका छौं', डंगोलले भने, 'टोखा नगरपालिकाको समन्वयमा पुरातत्व विभाग र पर्यटन विभागका अधिकारीसँग छलफल चलाएका हौं।'

एक घर एक सम्पदा तथा पहिचानका लागि तथ्यांक संकलन कार्य सुरु भएको छ। विवरण संकलनका लागि युवा परिचलन गरिएको डंगोलले बताए। यसपछि सरोकारवालासँग छलफल, अन्तरक्रिया, पुस्तक प्रकाशन, सचेतना कार्यक्रम, सम्पदा पहिचान प्रदर्शनलगायतका कार्यक्रम गरिनेछ।

पहिचानका लासिग डकर्मी काम गर्ने परिवारले ज्यावल, सिकर्मीले रन्दा, किसान परिवारले कुटोकोदालो र मासु व्यवसायीले चुपी घरको मूलढोकामा देख्ने गरी झुन्डाउनुपर्नेछ।

एक वर्षभित्र सम्पदाको तथ्यांक संकलन गर्ने र  वैकल्पिक बाटो सञ्चालन गर्ने, दुई वर्षभित्र सहायक प्रवेश मार्ग सुधार गर्ने, तीन वर्षभित्र बाटोमा इँटा बिच्छ्याउने, चार वर्षभित्र सुरक्षा र बत्तीको व्यवस्था मिलाउने र पाँच वर्षभित्र प्राचीन, पुरातात्िवक एवं वैकल्पिक वैज्ञानिक आवास तथा खुला संग्रहालय उद्घाटन गर्ने लक्ष्य राखिएको छ। योजनाका लागि पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण र टोखा नगरपालिकाले आर्थिक सहयोग गर्ने अध्यक्ष डंगोलले बताए।

टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले टोखालाई खुला संग्रहालयका रूपमा विकास गर्न यस्तो योजना सुरु गरिएको जानकारी दिए।

प्रकाशित: १४ माघ २०७३ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App