१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साउदीमा नेपाली कामदार भोकभोकै

नेपालगन्ज— सरकारी विद्यालयको पिसिएफ कोटामा करिब ११ वर्ष शिक्षण गरेका बाँके, फत्तेपुर–८ पनेरियाका ३६ वर्षिय पवन आचार्यले घरको अवस्था सुधार्न विदेश जाने सोच बनाए । गाउँका साथीभाइसहित उनले नेपालगन्ज, कारकाँदोस्थित कर्णाली ओभरसिज प्रालि नामक मेनपावर कम्पनीमा सम्पर्क गरे । दलाल (एजेन्ट)का चिल्ला कुरा सुनिसकेपछि आचार्य शिक्षकको जागिर छाडेर विदेश जाने निस्कर्षमा पुगे।

सबै कागजी प्रक्रिया पूरा गरी मेनपावर कम्पनीलाई एक लाख रुपैयाँ बुझाएर गत कात्तिक २४ गते घरबाट बिदा भए । त्यसको ४ दिनपछि उनी साउदी अरब पुगे । मेनपावरले उनलाई ‘सप्लायर’को काम दिने आश्वासन दिएको थियो । तर, उनले करिब तीन महिनासम्म काम नपाएर त्यसै समय बिताए । तीन महिनापछि बल्लतल्ल लेबर काम त पाए, तर कम्पनीले काम पारिश्रमिक दिएन । मेनपावर कम्पनीको सुझाव अनुसार त्यसयता उनी काम छाडेर त्यसै बसेका छन् । ‘तलब नदिएपछि काम छाडेर बस्यौं, काम छाडेपछि कम्पनीले खाना खुवाउन छाड्यो, मागेर खाइरहेका छौं,’ पवनले टेलिफोनमा भने । केही महिनायता कुनै दिन त भोकभोकै बस्न बाध्य भएको उनले सुनाए ।

पवनसँगै साउदी पुगेका फत्तेपुरका अन्य ४ र सुर्खेत र बर्दियाका २ युवा अलपत्र परेको परिवारले जनाएका छन् । परिवारका अनुसार फत्तेपुर–८ कै ठाकुर केसी (३७), पासाङ चलाउने (३३), गुरुप्रसाद चौधरी (२२) र सुर्य थारु (२५) तथा बर्दिया धधवार–८ का राजेश चौधरी (२५), र सुर्खेत गुमीका दिलबहादुर अर्याल महिनौंदेखि अलपत्र छन् । उनीहरु साउदी अरबको ‘जुदावास’ भन्ने ठाउँमा रहेको परिवारले जनाएका छन् ।

अलपत्र पवनकी पत्नी देवी आचार्यले शिक्षक जागिर छाडेर विदेश गएका पतिले दुःख पाउँदा आफू निकै तनावमा रहेको बताइन् । ‘दिनहुँ फोन गरेर त्यहाँको दुःख सुनाउँदा मेरो मन भक्कानिन्छ,’ उनले भनिन्, ‘छिटो स्वदेश फिर्ता गराऊ, नत्र लासमात्रै भेट्टाउँछौं भन्नुहुन्छ, घर फिर्ता गराउने हामीसँग उपाय छैन ।’

विदेश गएको तीन महिनासम्म काम नपाएर त्यसै बसेको र मेनपावरलाई धेरै दबाब दिएपछि काम पाए पनि पारिश्रमिक नपाएको देवीले सुनाइन् । ‘तीन महिनासम्म त्यसै बस्नु भयो । मेनपावरमा धेरै धाएपछि काम त दियो तर कम्पनीले पैसा दिएन,’ उनले थपिन्, ‘पैसा नदिएपछि मेनपावरले काम छाड्न सुझाव दियो, त्यसपछि त त्यहाँको कम्पनीले खाना नै दिन छाडेछ ।’ मुस्लिम समुदायको रमजान महिना परेकाले त्यहाँको मस्जिदमा प्रसाद खाएर ज्यान बचाएको परिवारले जनाएका छन् ।

विदेशमा अलपत्र परेका आफ्ना सदस्यलाई कसरी फिर्ता गराउने भन्नेमा परिवार अन्योलमा छन् । ‘काम गर्दा तलब नदिने, काम छाडेपछि खानासमेत नदिएको खबर सुनेपछि धेरै चिन्तामा छौं,’ गुरुप्रसादकी दिदी रिता चौधरीले भनिन्, ‘भाइले छिटो घर फर्काऊ भनेर फोन गर्छ, कसरी फर्काउने होला ?’ विदेशमा अलपत्र परेकालाई घर फर्काउन र असुलेको पैसा फिर्ता गर्न परिवारले कयौंपटक मेनपावर कम्पनी धाए । मेनपावरले उनीहरुको मागलाई बेवास्ता गरिदियो ।

अलपत्र आफन्तलाई घर फर्काउन, मेनपावर कम्पनीलाई कारबाही र रकम फिर्ताको पहल गरिदिन माग गर्दै परिवारका सदस्यले सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर निवेदन थमाए । तर, प्रशासनका उच्च अधिकारीले ठाडै अस्वीकार गरिदिए । उल्टो प्रशासन कार्यालयका प्रहरी र कर्मचारीले आफ्नो मागलाई मजाकमा उडाएको पीडित परिवारको आरोप छ । ‘वैदेशिक रोजगारीसम्बन्धी निवेदन हामी लिन्नौं, वैदेशिक रोजगार विभागमै जाऊ भनेर निवेदन बुझ्न अस्वीकार गरे,’ पीडितका आफन्त सन्तोष कार्कीले भने, ‘प्रशासनले चाहेको भए बाँकेमा रहेको मेनपावर कम्पनीलाई केही गर्न सक्थ्यो ।’

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले वैदेशिक रोजगारसम्बन्धी मुद्दा स्थानीय प्रशासनले नहेर्ने बताए । ‘यो विषय वैदेशिक रोजगार विभागले हेर्छ, हामीले मन्त्रालयमार्फत अनुरोध गरिदिनेमात्रै हो,’ उनले भने । कर्णाली ओभरसिजका एजेन्ट डम्बर बोहराले आफ्नो मेनपावरमार्फत साउदी अरब गएका ४२ जना कामदारले दुःख पाएको बताए । ‘त्यहाँको कम्पनीले कसैलाई १, कसैलाई २ महिनाको त कसैलाई ३ महिनाको तलब दिएको छैन, धेरै कामदार काम छाडेर बसेका छन्,’ उनले भने । मेनपावरले यस विषयमा श्रम मन्त्रालयमा लिखित निवेदन दिइसकेको उनले बताए ।

प्रकाशित: २२ असार २०७३ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App