१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सम्पदाको जगमा बियरका बोतल

काठमाडौं-विश्व सम्पदामा सूचीकृत वसन्तपुर क्षेत्रको एक मन्दिरको जगमा बियरका बोतल प्रयोग भएको पाइएको छ। अघिल्लो वर्षको भूकम्पले भत्किएको वसन्तपुरको माजु देगः मन्दिर छेकबारका लागि गाडिएको पोलको जगमा पुराना बियरका बोतल राखेको पाइएको हो।

काठमाडौं महानगरपालिकाले गत वैशाखमा टेन्डर आह्वान गरेर पोल गाड्ने काम गरेको थियो । पोल गाड्दा मन्दिरको जग भेट्ने गरी खनेका खाल्डा पुर्न बियरका बोतल, बालुवा, सिमेन्ट प्रयोग भएको पाइएको छ । एउटै खाल्डामा ८–१० वटा बोतल प्रयोग गरिएको छ।

पुरातŒव विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको संयुक्त टोलीले यो मन्दिर उत्खननका क्रममा बोतल फेला पारेको हो ।

स्थानीयका अनुसार सिमेन्ट जोगाएर कम खर्चिलो बनाउन ठेकेदारले बोतल प्रयोग गरेको बताए । सम्पदा क्षेत्रमा यसरी बोतल, सिमेन्ट लगायत सामग्री प्रयोग गर्नु गैरकानुनी मानिन्छ । त्यसैले स्थानीयले नदेखून् भनेर ठेकेदारले रातिमा काम गरेको स्थानीयले बताए । ‘छेकबारको काम रातमा हुने गरेको थियो,’ सम्पदा बचाऊ अभियानमा सक्रिय स्थानीय आलोकसिद्धि तुलाधरले भने, ‘यस्तो गलत काम गर्न पो स्थानीयले देख्लान् र विरोध गर्लान् भनेर राति काम गरेको रहेछ ।’

यता, काठमाडौं महानगरपालिका भने सिमेन्ट तथा बोतलको प्रयोग भएकोबारे आफूलाई जानकारी नभएको बताउँछ । ‘हामीलाई यसबारे कुनै जानकारी छैन,’ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘ठेकेदारले गल्ती गरेको हुन सक्छ । यसबारे ठेकेदारसँग बुझ्नेछु ।’ त्यसबेलै ठेकेदारलाई सिमेन्टको प्रयोग नगरी काम गर्न भने सुझाएको तामाङले बताए ।

महानगरपालिकाले करिब १६ लाख रुपैयाँमा माजुु देगः मन्दिर लगायत, वंशगोपाल, त्रैलोक्यमोहन, काष्ठमण्डप लगायतमा छेकबार गरेको थियो ।

माजु देगः मन्दिर भक्तपुरका राजा भूपतिन्द्र मल्लकी आमा ऋद्धिलक्ष्मी मल्ले १६८९ सालमा निर्माण गर्न लगाएको उल्लेख छ ।

‘ठेकेदारलाई दिनु हुँदैन’

पुनर्निर्माणको जिम्मा ठेकेदारलाई दिँदा सम्पदा कमजोर हुने भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए । यो घटनापछि स्थानीयले ठेकेदारलाई सम्पदा पुनर्निर्माणको जिम्मा दिन नहुने बताएका छन् ।

‘ठेकेदार कसरी कमसल सामग्री प्रयोग गरेर बढी नाफा कमाउने भन्ने दाउमा हुन्छन्,’ स्थानीय वीरेन्द्रभक्त श्रेष्ठले भने, ‘ठेकेदार लगाउँदाको परिणाम त छर्लङ देखियो त माजु देगः मन्दिरमा ।’ अहिले वसन्तपुरका स्थानीय सम्पदा पुनर्निर्माण जिम्मा ठेकेदारलाई दिन नहुने र स्थानीय उपभोक्ता समिति खडा गरेर पुनर्निर्माण गरिनुपर्ने माग राख्दै आएका छन् ।

सम्पदामा महानगरको दोस्रो कमजोरी

महानगरपालिकाले यसरी सम्पदा क्षेत्रमा मनोमानी गरेको पहिलो घटना भने होइन । यसअघि रानीपोखरीबीचको बालगोपलेश्वर मन्दिर पुनर्निर्माणमा पनि कंक्रिट प्रयोग भएको थियो । स्थानीयले विरोध गरेपछि उक्त मन्दिरको पुनर्निर्माणमा पुरातŒव विभागले रोक लगाएको छ । सम्पदाको मनोमानी गर्न महानगरपालिका सक्रिय रहेको स्थानीयको आरोप छ ।

 

प्रकाशित: १२ माघ २०७३ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App