१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

काठमाडौं-अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबार सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन्।

१० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वाटर सदस्य मणि थापाले नागरिकलाई जानकारी दिए । बैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र  प्रवास समितिका इन्चार्ज र ती समिति अन्तर्गतका सदस्यले आ–आफ्ना प्रदेशका रिपोर्टिङ गरेका थिए ।

रिर्पोटिङका क्रममा कतिपय नेताले सत्ता साझेदार रहँदा पनि माओवादी कार्यकर्तालाई राज्यका निकायबाट फरक व्यवहार भइरहेको, एमालेले हेपाहापूर्ण व्यवहार गरेको गुनासो गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर २ का विश्वनाथ साह र रामचन्द्र मण्डलले गृहमन्त्री शक्तिबहादुर बस्नेतको नामै किटान गरी प्रहरीप्रशासनले माओवादी कार्यकर्तालाई धरपकड गर्दा पनि कुनै सहयोग गर्न नसकेको भन्दै विरोध गरेका थिए ।

‘आफ्नै कार्यकर्ताको सुरक्षा गर्न नसक्ने सरकारमा बसिरहनु कुनै जरूरी छैन । सरकारबाट जतिसक्दो चाँडो बाहिरिनुपर्छ,’ साहको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी एक पोलिटब्युरो सदस्यले भने ।

गत वैशाख २३ गते एमाले नेतृत्वसँग गरिएको नौबुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिने प्रयासमा रहेको माओवादी नेतृत्वलाई पोलिटब्युरो सस्दयहरूको भनाइले थप मद्दत पुगेको स्रोतको भनाइ छ । हेडक्वाटर सदस्य थापाका अनुसार अधिकांश हेडक्वाटर सदस्य भने यसअघि नै एमाले नेतृत्वको सरकारबाट बाहिरिन पर्ने निचोडमा पुगिसकेका थिए ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारबाट अधिकांश माओवादी कार्यकर्ता खुसी छैनन्,’ उनले भने, ‘अब सरकार परिवर्तन नगरी हुँदैन तर कसरी गर्ने भन्नेबारे सबै कुरा  म्याटरलाइज्ड भएको छैन ।’

सहमतीय सरकारमा जोड दिइरहेको बताउने गरेका माओवादी नेताहरूले कांग्रेस तथा एमालेकै  माधवकुमार नेपाल समूह तथा मधेसवादी दललगायतसँग छलफल जारी राखेको बताइएको छ । ओलीकै नेतृत्वमा सरकारमा रहँदा कार्यकर्ता तहमा निराशा छाएको र नेतृत्व तहमा नैतिक संकट आएकाले सरकार परिवर्तन गर्ने अवस्थामा पुग्नु परेको एक वरिष्ठ नेताले बताए । ती नेताका अनुसार प्रधानमन्त्री ओलीले नौबुँदे सहमति पालना गर्नका लागि  बजेट पास भएलगत्तै सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ । ‘वैशाख २३ गतेको नौबुँदेको मुख्य स्पिरिट नै बजेट पास भएलगत्तै ओलीले प्रधानमन्त्रीको पद छाड्नु हो,’ ती नेताले भने ।

स्रोतका अनुसार अध्यक्ष दाहालले यतिखेर नौबुँदे कार्यान्वयनका लागि पटकपटक प्रधानमन्त्री ओलीलाई सम्झाइरहेका छन् भने अन्य नेताले कांग्रेस, मधेसवादी दल लगायतका नेतासँग छलफल गरिरहेका छन् । माओवादीले सहमतीय सरकार भन्ने गरे पनि कांग्रेसका नेताहरूले भने त्यसबारे निर्णय गर्न नसकेका कारण अबको सत्ता समीकरण सहमतीय  या बुहमतीय के हुन्छ भन्नेबारे एकिन हुन नसकेको स्रोतको भनाइ छ ।

केन्द्रकै कतिपय नेता प्रधानमन्त्री ओलीले पद छाडे माओवादी–एमाले गठबन्धन जारी रहन सक्ने पनि ठान्छन् ।

केन्द्रकी प्रवक्ता पम्फा भुसालले विकसित राजनीति परिस्थितिबारेको छलफल बुधबार बस्ने पोलिटब्युरो बैठकमा हुने जानकारी दिइन् । ‘मंगलबारको बैठकमा सात वटा प्रदेश र प्रवास समितिका इन्चार्जहरूले रिपोर्टिङ गर्नुभयो । सबै नेता पार्टी एकीकरण भएकोमा उत्साही हुनुहुन्छ,’ उनले भनिन्, ‘बुधबारको बैठकमा वर्तमान राजनीतिबारे छलफल हुनेछ र सत्तासमीकरणबारे निर्णय हुनसक्छ ।’ मंगलबारसम्मको निचोडमा पार्टीका अधिकांश नेता÷कार्यकर्ता एमाले र माओवादीबीच वैशाख २३ गते भएको निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा रहेको भुसालले जानकारी दिइन् ।

 

कार्यविधि पेस

१० कम्युनिस्ट घटक मिलेर बनेको माओवादी केन्द्रको आगामी कार्यदिशाबारे कार्यविधि पेस गरिएको छ । वर्षमान पुन नेतृत्वको टोलीले तयार पारेको कार्यविधिमा जनसंख्याका आधारमा प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति बन्ने प्रस्ताव गरिएको छ । हाल १४ सय ९९ रहेको केन्द्रीय समितिलाई  महाधिवेसनपछि १ सय ९९ झार्ने प्रस्ताव गरिएको छ । उक्त कार्यविधिबारे पनि बुधबार नै छलफल हुने भुसालले बताइन्।

प्रकाशित: २२ असार २०७३ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App