१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मृत्य भएकाे चार दिनपछि लोकनाथकोे काजकिरिया सुरु

सुरुङ्गा (झापा)-नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ ।

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो ।

भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काजकिरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ ।

उनको काज किरियाका लागि सोमबार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्न ३ बजेदेखि उनको काजकिरिया थालिएको हो ।


सोमबार अपराह्नदेखि मृतकका ठूलोबुबा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा बस्नुभएको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताए।

भट्टराईको काजकिरिया गराउन गङ्गा उप्रेती, धनपति चुडाललगायतले पुरोहित गौतमलाई अनुरोध गरेपनि उनले आफूले नभ्याउने भन्दै उनको काजकिरिया नगराएपछि अर्को पुरोहितको व्यवस्थापन गरिएको खरेलले बताए।

स्थानीय समाजसेवी गोपाल सिवाकोटीले भने, तुरुन्तै ‘मन्सापुरे समाज’ गठन गरी एउटा हिन्दूले अर्को हिन्दूलाई उपहास गरेको र अन्तरजातीयताको नाममा गरिएको विभेदको अन्त्यका लागि चाँडै हिन्दू महासङ्घमा समेत छलफल गरी यस्तो सामाजिक अन्योलताको अन्त्यका लागि अभियान चलाइने बताउनुभयो । भट्टराईले पुज्दै आएका पुरोहित गौतमलाई अब अन्य व्यक्तिले समेत नपुज्ने बताइएको छ ।

गत शुक्रबार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।

मृतकको शव परीक्षण गरेपछि वैदिक परम्पराअनुसार दाहसंस्कार गर्ने समयमा पुजेका पुरेतलाई खबर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोकमाथि शोक थपिएको थियो । रासस

प्रकाशित: ११ माघ २०७३ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App