१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछा उत्पादन बढाउन २९ करोड अनुदान

बारा- जिल्लामा माछा उत्पादन बढाउन चालु आर्थिक वर्षमा किसानलाई विशेष अनुदान दिइने भएको छ। उक्त अनुदान नयाँ पोखरी निर्माणको लागि दिन लागिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन कार्यान्वयन एकाइ बारा, सिम्रौनगढले एक हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्ने किसानलाई ३ लाख रुपैयाँका दरले अनुदान दिने तयारी गरेको बताइएको छ।

चालु आर्थिक वर्षमा जिल्ल्ाामा ९ सय ५० हेक्टरमा नयाँ पोखरी निर्माण गराउन २९ करोड बजेट प्राप्त भएको एकाइ प्रमुख युगलकिशोर तिवारीले बताए। 'सुरुमा सिम्रौनगढ, कचोर्वा, भगवानपुर, बेनौली र बेल्दारीलाई प्राथमिकतामा राखेर ९ सय ५० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गराउने योजना बनाएका छौं,’ तिवारीले भने, 'तोकिएको गाउँमा लिएको लक्ष्य भेटिएन भने जिल्लाभरिकै किसानलाई अनुदान दिएर नयाँ पोखरी निर्माण गराउने छौं।’

सरकारले बारामा माछा उत्पादनको सम्भावना राम्रो भएकोले गर्दा थप माछा उत्पादन गर्न विशेष क्षेत्र नै घोषणा गरी यो कार्यक्रम लागू गरेको कलैयामा आइतबार आयोजित कार्यक्रममा तिवारीले बताएका थिए। एक हेक्टरमा बनेको पोखरीबाट वर्षमा पाँच मेटि्रक टनभन्दा बढी माछा उत्पादन हुने गरेको तिवारीले बताए।

पोखरी निर्माणको लक्ष्य पूरा भयो भने बारामा थप ६ हजार मेटि्रक टन माछा उत्पादन हुने उनले दाबी गरे।

आर्थिक वर्ष २०७२/०७३ मा १ हजार ६ सय हेक्टर क्षेत्रफलको पोखरीबाट बारामा दुई अर्ब मूल्य बराबरको १० मेटि्रक टन माछा उत्पादन भएको कृषि विकास कार्यालयका अधिकारीहरुले बताएका छन्।

सरकारी अनुदान र राम्रो आम्दानी हुने भएकोले केही वर्षयता जिल्लामा नयाँ पोखरी निर्माण हुने क्रम बढ्दो छ।

माछापालन व्यवसायमा लागेका किसानले बर्सेनि नयाँ पोखरी विस्तार गरेसँगै विगत पाँच वर्षमा माछा उत्पादन दोब्बर बढेको जिल्ला कृषि कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए।

आर्थिक वर्ष २०६८/०६९ मा लगभग ९ सय हेक्टर क्षेत्रफलमा मात्रै माछापोखरी निर्माण भएको साहले बताए।

‘एक हेक्टरको जलाशयमा माछा पाल्दा लगभग १ लाख खर्च हुन्छ,’ बेनौली गाउँका माछा व्यवसायी जलन्दर सिंहले भने, ‘एक लाख खर्च गरिएको पोखरीको माछा बेच्दा खर्च कटाएर दुई लाख वार्षिक आम्दानी हुन्छ।'

धान, मकै लगायत अन्न बाली लगाउँदा खर्च धेरै हुने गरे पनि त्यो अनुपातमा आम्दानी नहुने तर माछापालन गर्दा बढी आम्दानी हुने भएकोले किसान आकर्षित भएको सिंहको भनाइ छ।

आर्थिक वर्ष २०७२/०७३ को तथ्यांक अनुसार नेपालमा खपत हुने माछाको लगभग १२ प्रतिशत बाराले आपूर्ति गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ।

जिल्लाका ४ हजार किसान व्यावसायिक माछापालनमा आवद्ध रहेको र यो व्यवसायले उनीहरुको जीवनस्तर उकासेको कार्यालयको भनाइ छ।

यहाँ उत्पादित माछा काठमाडौं, मलेखु, पोखरा, चितवन, नारायणघाट लगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको व्यवसायी बताउँछन्।

भारतको बिहार राज्यसँग सिमाना जोडिएका गाविसमा उत्पादित माछा पारिका बिहार, मुजफ्फरपुर, मोतिहारी, बेतिया लगायत सहरसम्म पुग्ने गरेको उनीहरुले जानकारी दिए। बारामा ६४ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्ग्ाा रहेकोमा १६ सय हेक्टरमा बनेका पोखरीमा माछापालन हुन्छ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन कार्यान्वयन एकाइ, बाराको अनुदानबाट लक्ष्य अनुसार नयाँ पोखरी निर्माण भए २५सय हेक्टरमा माछापालन हुने बताइएको छ।

जिल्लाको फेटा, कचोर्वा, सिम्रौनगढ, बोधवन, करैया, बेनौली, मटिअर्वा लगायत गाउँमा बढी मात्रामा व्यावसायिक माछापालन छ।

प्रकाशित: १० माघ २०७३ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App