१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डम्पिङ साइट बन्यो 'मभीं' पोखरी

शान्ति लामा
काठमाडौं- कीर्तिपुर नगरपालिका– ५ मा रहेको मभीं पोखरी फोहोर थुप्रिएको छ। स्थानीयले मभीं पुखु भन्ने पोखरीको जग्गामा निजी प्रयोजनका टहरा समेत बनेका छन्। अघिल्लो वर्षको भूकम्पले भत्किएका भग्नावशेष पोखरीमा थुपारेका कारण पोखरी पुरिएको स्थानीय साइला तन्डुकारले बताए। 'सुरुमा भग्नावशेष थुपार्न सुरु भयो, त्यसपछि फोहोर थुपारियो,' उनले भने, 'नगरपालिकाले नरोक्दा अहिले ढुंगा–बालुवा थुपारिएको छ।'

कीर्तिपुर नगरपालिकाले पोखरी रहेको स्थानमा फोहोर नफाल्न सूचना टाँसेको छ। नगरपालिका सूचना अधिकारी सुजिन्द्र महर्जन भन्छन्, 'नगरपालिकाले फोहोर नफाल्न सूचना टाँसेको छ तर अनुगमन र कारबाही गर्न नसकेको यथार्थ हो।' सूचना टाँस्नेबाहेक नगरपालिकाले यहाँको फोहोर व्यवस्थापनबारे केही कार्यक्रम बनाएको छैन। पोखरीको जग्गामा रहेको टहराबारे आफूहरुलाई थाहा नभएको सूचना अधिकारी महर्जनले बताए।

फोहोरभित्र सहिद स्मारक

फोहोर थुपारिँदा ०४६ को जनआन्दोलनमा सहादत प्राप्त गरेका चार सहिदको सम्झनामा पोखरीछेउ निर्माण गरिएको स्मारक पुरिने अवस्था छ।

'यसरी फोहोर थुप्रिँदै गए स्मारक नै पुरिन्छ,' स्मारक स्तम्भ बनाएका कीर्तिपुरका रत्नबहादुर महर्जनले भने, 'यसबारे कसैले चासो दिएको देखिँदैन।'

स्मारक ०४९ चैत २० गते नेता गणेशमान सिंहबाट उद्घाटन गरिएको थियो। वर्षको एक दिन चैत २० गते स्मारकमा माल्यार्पण गरिने कार्यक्रम हुने तर अन्य दिन बेवास्ता गरिने रत्नबहादुरको भनाइ छ।

स्मारकको हेरचाहका लागि सहिद स्मारक व्यवस्थापन समिति बनाइएको छ। समितिले पनि स्मारकको मर्मतसम्भारमा बेवास्ता गरेको स्थानीयको गुनासो छ।

समितिका निवर्तमान अध्यक्ष विकास महर्जनले भने नगरपालिकाको लापरबाहीका कारण स्मारक अलपत्र परेको बताए। 'समुदायका केही मानिस पहिलेदेखि नै मभीं पोखरी पुर्नुपर्छ भनेर लागेका थिए। पोखरी पुर्दा पनि नगरपालिकाले रोकेन,' महर्जनले भने, 'पोखरी पुरिएपछि सहिद स्मारकको समेत यस्तो हबिगत भयो।' पोखरी र स्मारक अभिलेखको जग्गाका विषयमा पटकपटक नगरपालिकामा गुनासो गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ।

०४६ को जनआन्दोलनमा कीर्तिपुरमा सहिद भएकाको सम्झनामा स्मारक अभिलेख निर्माण गरिएको हो। आन्दोलनमा कीर्तिपुरका लनबहादुर महर्जन, राजमान माली, राजेन्द्र माली र हिराकाजी महर्जन सहिद भएका थिए।

प्रकाशित: १० माघ २०७३ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App