१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

बैतडी- गाँजरी–५ धौल्याडीकी निर्मला धामीले २० वर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण गरिन्। भर्खर मात्र विवाह गर्ने उमेर पुगेकी उनले १६ वर्षको उमेरमा बिहे गरेर दुई सन्तान जन्माइसकेकी छन्। उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन्। जिल्लामा 'बिहेबारी बीस बर्ष पारि' भन्ने नारासहित बालविवाहविरुद्धको अभियान चलिरहेको छ तर धामीजस्तै धेरै किशोरीको सानैमा बिहे हुने गरेको छ। उमेर नपुग्दै बिहे गरेपछि छिटै सन्तान जन्मने गरेका छन्।

स्वास्थ्य कार्यालयले आयोजना गरेको मिनिल्याप (महिलाको स्थायी बन्ध्याकरण) शिविरमा निर्मलाका पति सोपान पनि सँगै थिए। २३ वर्षीय सोपान गाजरी माविमा १० कक्षा पढ्छन्। उनले ६ कक्षामा छँदा बिहे गरेका थिए। विद्यालय जान नपाएकी निर्मला भने अझै निरक्षर छिन्। जेठो छोरा तीन वर्षका पुगे, छोरी ६ महिनाकी। 'बिहे गर्ने सोच नै थिएन, घरपरिवारले गरिदियो', सोपानले भने, 'बिहे गरेको अर्को वर्ष छोरा जन्मियो, २ छोराछोरी भएपछि अब नजन्माउने सोचले बन्ध्याकरण गरेका हौं।' दुवैको सल्लाहमा मिनिल्याप गर्न आएको सोपान बताउँछन्।

पुस दोस्रो साता स्वास्थ्य कार्यालयले आयोजना गरेको उक्त शिविरमा गाजरीका अन्य १८ महिलाले स्थायी बन्ध्याकरण गराए। तीमध्ये आधाभन्दा बढी महिला ३० वर्षमुनिका थिए। अघिल्लो साता कुवाकोट गाविसमा आयोजित शिविरमा ३४ महिलाले बन्ध्याकरण गराएका थिए। दुवै शिविरमा ९० प्रतिशत महिलाले ३० वर्षमुनिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सानैमा बिहे गर्ने चलनले कम उमेरमै सन्तान जन्माउनेको संख्या धेरै भएको हो। '३० वर्षमा चारपाँच सन्तान जन्माएका महिला स्थायी बन्ध्याकरण गर्ने बढी थिए,' स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले भने, '१५/१६ वर्षमै बिहे गर्ने र २० वर्षमा आमा बनिसकेका धेरै छन्।'

आर्थिक अवस्था कमजोर भएका स्थानीय युवा कामको खोजीमा भारत जान्छन्। सानै उमेरमा बिहे गर्ने हुँदा घरमा महिला र बालबालिकामात्रै हुन्छन्। परिवार नियोजनका अस्थायी साधनको सहजै जानकारी र पहुँच नहुँदा गाउँका अधिकांश महिला अनिच्छित गर्भधारण गर्न बाध्य छन्। केहीले असुरक्षित गर्भपतन गराउँदै आएका छन्।

बर्सेनि गर्भवती हुँदा शारीरिक र आर्थिक बोझबाट बच्न बन्ध्याकरण गर्ने महिलाको संख्या बढ्दै गएको हो। दुर्गममा जथाभावी औषधि सेवन र घरेलु जडीबुटी प्रयोगबाट गर्भपतन गराउने समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन्। गाउँमा शिविर आयोजनाले सेवामा पहुँच हुँदा बन्ध्याकरण गर्ने संख्या बढी भएको सुपरभाइजर जोशीले बताए।

उमेर नपुग्दै बिहे गर्ने र सन्तान जन्माउने परिवारमा शारीरिक, मानसिक र आर्थिक समस्या बढी देखिने गरेको छ। त्यस्तै पाठेघर खस्ने, रगत कमी हुने, उमेर नढल्किँदै बुढो देखिने, कमजोरीलगायत समस्या पनि निम्तिन्छन्। त्यस्ता महिलाबाट जन्मेका बालबालिकामा कुपोषण, रक्तअल्पतालगायतका कारणले शारीरिक र मानसिक विकास प्रभावित हुने स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थीले बताए। 'बिहे गर्ने उमेर पुग्दा दुईतीन सन्तान जन्माइसकेका हुन्छन्', उनले भने, 'आमा र सन्तानको स्वास्थ्यसँगै यसले परिवार हुँदै समाजलाई असर गर्ने गरेको छ।’

जिल्लामा झन्डै ६० प्रतिशत बालविवाह हुने गरेको एक सर्वेक्षणले देखाएको छ। ५९ दशमलब ४ प्रतिशत महिलाको १७ वर्ष नपुग्दै बिहे र १९ वर्षमै आमा बन्ने गरेको संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए। जिल्लालाई २०७५ सम्म बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ९ माघ २०७३ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App