२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा ११ महिने शिशुसहित ३ जना होम क्वारेन्टाईनमा, ६ जना क्वारेन्टाईनमा

खोटाङ – जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिराटनगरबाट गाडी रिजर्भ गरेर आएका ३ जनालाई होम क्वारेन्टाईनमा र ६ जनालाई क्वारेन्टाईनमा राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट अनलाईन सवारी पास लिएर गाउँ आइपुगेका ११ महिने शिशु सहित ९ जनालाई अवस्था हेरेर क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रिएको रातो प्लेट भएको जीपलाई नियन्त्रणमा लिएर चालक तथा यात्रुलाई आईतबारदेखि १४ दिनका लागि क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। 

११ महिनाका शिशु, शिशुका आमा र एक जना अपांगता भएका व्यक्तिलाई होम क्वारेन्टाइनमा र तथा जीपका चालक सहित ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरु बिराटनगरबाट जनही ३ हजार ४ सय तिरेर गाउँ आएको खुलेको छ। लकडाउनकाबीचमा घर आउनेमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ६ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका २ जना छन्। नियन्त्रणमा लिइएको जीपलाई गाउँपालिकाको प्रांगणमा राखेर चालकलाई पनि क्वारेन्टाइनमा लगिएको गाउँपालिका अध्यक्ष राईले बताए। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुरुदेखि नै गाउँपालिका भित्रिन र बाहिरिनमा कडाई गरेको छ। 

दिक्तेलमा आठ जना थपिए 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टाईनमा आठ जना थपिएका छन्। व्यापार व्यवसायका सिलसिलामा दिक्तेल आएका सप्तरीका सात जना सहित आठ जनालाई माटिकोरेस्थित कबर्डहलमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो। उनीहरुलाई शनिबारदेखि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले बताईन्। क्वारेन्टाइनमा राखिएकामध्ये एक जना दिक्तेलका छन्। उनी कामका सिलसिलामा उदयपुरको घुर्मी पुगेको अवस्थामा घुर्मीबाट सप्तरीका सात जनासँगै एउटै गाडीमा आएका कारण क्वारेन्टाइनमा राखिएको हो। क्वारेन्टाइनमा राखिएकामध्ये तीन जना महिला छन्। 

हाल जिल्लाका १० स्थानीय तह र सुरक्षा निकायले बनाएको ६ सय १७ बेडको क्वारेन्टाइनमा सयभन्दा बढि स्थानीयलाई राखिएको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए। हाल हरेक क्वारेन्टाइनमा स्थानीयको भित्रिने र बाहिरिनेक्रम जारी रहेको छ। कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले भने कतिपय क्वारेन्टाईनमा राख्नुपर्ने व्यक्तीलाई छाडिएको तथा सर्वसाधारणलाई मात्र राखिएको बताएका छन्। 

 

प्रकाशित: २८ वैशाख २०७७ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App