२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा आइसोलेसन अस्पतालको कमी, सुस्त गतिमा परीक्षण

शनिबार नेपालगन्जमा परीक्षण गरिदै । तस्बिरः नागरिक

बाँके- समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि बाँके अहिले उच्च जोखिममा छ । बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमध्यै २३ जना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ हुन । बाँकेसँगै प्रदेश ५ को अवस्था जटिल बन्दै गएको छ । शनिबारसम्म प्रदेश ५ मा ३० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित संख्या बढ्ने क्रममा छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीले अवस्था जटिल बन्दै गएको बताउँदै आएका छन् ।

उच्च जोखिममा रहेको बाँकेमा परीक्षणको गति सुस्त छ । परीक्षण सन्तोषजनक नभएका बेला आइसोलेसन अस्पतालको कमी हुने देखिएको छ । बाँकेमा ५० वेडको आइसोलेसन अस्पताल छ । संक्रमितको संख्या थपिदै गर्दा बाँकेमा तयार गरिएको आइसोलेसन पर्याप्त देखिदैन ।

संक्रमितको संख्या बढिरहेको बेला प्रदेशमा आइसोलेसन अस्पताल अभाव हुने देखिएको छ । आइसोलेसन अस्पतालको संख्या बढाउन तर्फ बाँकेका स्थानीय तहले पनि ध्यान दिएका छैनन् ।
जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द परीक्षणको गतिसँगै आइसोलेसन अस्पतालको संख्या बढाउनु पर्ने बताउँछन् । उनले भने, ‘सुरुआतमै हामीले परीक्षणको दायरा बढाउनु पर्ने थियो । बाँके भारतीय सीमासँग जोडिएकोले उच्च जोखिममा थियो । अहिले संक्रमितको संख्या बढिरहेको छ । यस्तोमा स्थानीय तहको स्रोत साधनले स्थिती नियन्त्रण गर्न सक्ने अवस्था छैन ।’

आइसोलेसन अस्पतालको पनि वर्गीकरण गरेर वेड संख्या थप्न ढिलाइ भए अवस्था गम्भीर हुन सक्ने चन्द बताउँछन् । उनले थपे, ‘हामी उच्च जोखिममा छौं । आगामी दिनमा क्वारेन्टाइनलाई पनि आइसोलेसन अस्पताल बनाउन पर्ने हुन सक्छ । समुदायलाई अस्पतालका रुपमा प्रयोग गर्न पर्ने हुन सक्छ । यस्तो अवस्थामा हामीले थप स्रोत साधनलाई बढाउन ढिलाइ गर्न हुन्न । यसमा तीन तहका सरकारले ध्यान दिनु पर्छ ।’

नेपालगन्जसँगै बाँकेका अन्य सम्भावित क्षेत्रमा पनि परीक्षणको दायरा बढाउनु पर्ने भनाइ राख्छन चन्द । उनले भने, ‘अहिले मुस्लिम समुदायमा बढि देखिएको छ । विशेष गरी मदरसामा बसेका ब्यक्ति जोखिममा छन । तर अब समुदायका ब्यक्तिमा संक्रमण देखिएकोले जिल्लाका अन्य स्थानमा परिक्षणको गति बढाउनु पर्छ ।’ चन्दले भनेजस्तै बाँकेमा परीक्षणको गति सुस्त हुदाँ पनि समस्या थप जटिल बन्दै गरेको छ ।

संक्रमणको केन्द्रबिन्दु मानिएको नेपालगन्ज उपमहानगरपालिकाको ८ नम्बर वडामा तीन दिनपछि परीक्षण सुरु गरियो । जुन वडामा अहिले सम्म २३ जना संक्रमित भेटिएका छन ।

परीक्षणका लागि चाहिने किट्सको अभाव भएको भन्दै परीक्षणले गति लिन सकेको थिएन । नेपाल सरकारले स्याम्पल कलेक्सन गर्ने भिटिएम १ हजार सेट र टेस्ट गर्ने किट २ हजार सेट पठाएपछि शनिबार देखि परीक्षणले केहि गति लिएको छ । शनिबार नेपालगन्जमा १ सय ७२ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेशमा स्थानीय सरकारले तयार पारेको आइसोलेसन अस्पतालमा ५ सय ३४ वेड संख्या छ । जसमध्ये बाँकेमा ५० वेडसंख्या छ । जहाँ अहिले २४ जनाको उपचार भैरहेको छ । बाँकेका लागि खजुरामा तयार गरिएको सुशिल कोइराला क्यान्सर अस्पतालको आइसोलेशन अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढदैछ ।  

नेपालगन्ज उपमहानगरपालिका उपममेयर उमा थापा मगर बाँकेका स्थानीय तहले प्रर्याप्त आइसोलेशन अस्पताल बनाउन नसकेको बताउँछिन् । उनले भनिन, ‘बाँकेको अवस्था जटिल बन्दै गएको छ । हामीले सक्दो प्रयास गरेको छौं । लकडाउन गरेपनि बाँकेमा परीक्षण नै ढिला भयो । परीक्षण सुरु भएपनि सोचेजस्तो तीव्र रुपमा गर्न सकिएन । अहिले ह्वात्तै संक्रमितको संख्या बढेको छ । यसले थप चुनौति थपेको छ ।’ नेपालगन्ज उपमहानगरपालिकाले लायन्स डेण्टल अस्पतालमा आइसोलेसन अस्पताल तयार गर्न सुरु गरेको थापाले नागरिकलाई बताइन ।

बाँकेका सबै स्थानीय तहले वैकल्पिक रुपमा आइसोलेशन अस्पताल बनाउन सुरु गर्नु पर्ने थापाको सुझाव छ । बाँकेमा अवस्था भयावह हुने खतरा बढिरहेका बेला बाँकेमा तीन तहको सरकारबीच समन्वय अभावले समस्या थपिएको उपमेयर थापाले बताइन् ।


 

प्रकाशित: २७ वैशाख २०७७ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App