१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मट्टितेल छर्केर पत्नीमाथि आगो

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका–१२ बाँकेगाउँकी २३ वर्षीया अनिशा खटिकको शरीरमा उनका २६ वर्षीय पति राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेका छन्। अनिशाको टाउको, घाटी, छाती, हातलगायत शरीरका विभिन्न भाग जलेको छ।

घाइते अनिशाको उपचार भेरी अञ्चल अस्पतालमा भइरहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

प्रहरीका अनुसार मदिरा सेवन गरी घरमा आएका राजेन्द्रले बिहीबार राति पत्नीसँग झगडा गरी टुकीमा रहेको मट्टितेल खन्याएर आगो लगाइदिएका थिए।

 ‘दनदनी आगो बलेको देखेपछि छिमेकीले हामीलाई खबर गरे। हामी घटनास्थल पुग्दासम्म अनिशाको शरीरमा आगो निभेको थिएन,’ प्रहरी निरीक्षक राजेन्द्र गौतमले भने। प्रहरीले अनिशालाई भ्यानमा राखेर अस्पताल पुर्‍याएको थियो। अनिशाले पोलिस्टरको कपडा लगाएकाले उनको शरीरमा आगोले क्षति पुर्‍याएको प्रहरी निरीक्षक गौतमले बताए।

अस्पतालका चिकित्सक रूपानन्द अधिकारीले घाइते अनिशाको अवस्था गम्भीर रहेको बताए। ‘घाइतेको अवस्था जटिल छ, जतिसक्दो चाँडो काठमाडौं लैजान उचित छ,’ अधिकारीलाई उद्धृत  गर्दै एक स्वास्थ्यकर्मीले भने।

घटनापछि पति राजेन्द्र फरार छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सरोज पौडेलले राजेन्द्रको खोजीकार्य भइरहेको बताए। ‘प्रहरी टोली परिचालित छ, उनको आफन्तको घरमा पुग्दा भेटिएन,’ पौडेलले भने ‘नजिकै सीमा भएका कारण भारततिरै पसेको हाम्रो आशंका छ।’

अनिशाकी डेढ वर्षीया छोरी छन्। चार वर्षअघि विवाह गरेका राजेन्द्र विगत तीन वर्षदेखि बाबुआमासँग अलग भएर पत्नीसँग बस्दै आएका थिए।

अनिशाकी सासू मुन्नीदेवीले आफूबाट अलग भएर बसेका छोराबुहारीको विवादबारे केही थाहा नभएको बताइन्। ‘केही बेरअगाडि छोराबुहारी बोल्दै थिए, एक्कासि बुहारीको शरीरमा आगो बलेको मात्रै देख्यौं, बुहारी चिच्याउँदै बाहिर निस्कँदा छोरो त्यहाँ थिएन,’ उनले भनिन्।

छिमेकीले भने लामो समयदेखि अनिशामाथि घरेलु हिंसा हुँदै आएको बताएका छन्। राजेन्द्र ६ महिनाअघि वैदेशिक रोजगारीबाट फर्केको मुन्नीदेवीले बताइन्।

उपचारमा बेवास्ता

अनिशाका माइती भारतमा छन्। अस्पतालमा उनको स्याहार गर्ने कुरुवासमेत छैनन्। सासूसुरा आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न असमर्थ रहेको बताउँछन्। महिला हिंसाको विरोधमा काम गर्दै आएका सरकारी र गैरसरकारी निकाय पनि विपन्न समुदायकी महिलाको उपचारमा बेखबर बनेका छन्।

घाइते अनिशालाई सुविधायुक्त अस्पतालमा लैजान ढिलाइ गरेका कारण उनको स्वास्थ्य अवस्था झन् जटिल बनेको भेरी अञ्चल अस्पतालका एक स्वास्थ्यकर्मीले बताए। ‘आफूलाई महिला अधिकारकर्मी भन्नेहरू आएर घाइतेको फोटो खिच्छन् र भीडभाड मात्रै गर्छन्, तर घाइतेको थप उपचारबारे केही बोल्दैनन्,’ उनले भने।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घाइतेको उपचार व्यवस्थाबारे आफूलाई जानकारी नभएको बताए। ‘महिला बालबालिका कार्यालय प्रमुख जिल्ला समितिको प्रवक्ता हुनुहुन्छ, उहाँलाई नै सोध्नुस्,’ पन्थले भने। लैंगिक हिंसा संयोजन समिति र लैंगिक हिंसा निवारण कोषको संयोजक प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ। हिंसापीडित महिलाको उद्धार, उपचार र व्यवसाय सञ्चालनका लागि उक्त कोषलाई सरकारले वार्षिक रूपमा बजेट उपलब्ध गराउँछ। 

महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख सुनिता केसीले घाइतेलाई जिल्ला बाहिर लैजान केही ढिलाइ भएको स्वीकार गरिन्। ‘घाइतेलाई अन्यत्र लैजानुअघि परिवारबाट अनुमति लिनुपर्‍यो’, उनले भनिन्, ‘घाइतेलाई काठमाडौं लैजाने प्रक्रिया चल्दैछ।’

प्रकाशित: ८ माघ २०७३ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App