२६ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

जमिन्दारलाई राहत बाँडेको विरोधमा प्रशासनमा धर्ना

प्रहरीले रोकेपछि जिविस चोकस्थित सडकमै बसेका जिल्ला प्रशासन कार्यालय मलंगवामा धर्ना दिन आएका चक्रघट्टाको पडरियास्थित चमारटोलका महिलाहरुसहित स्थानीय । तस्बिर : टंक/नागरिक

सर्लाही- सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वितरण गरिएको राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । चक्रघट्टा गाउँपालिका–५ पडरिया गाउँस्थित चमार टोलका बासिन्दाले सोमबार दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

विगौं विगाह जमिनका मालिकलाई राहत वितरण गरिएको तर आफूहरुलाई भने नदिईएकाले छानविनको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको कैलाश रामले जानकारी दिए । ज्ञापनपत्र बुझाउन उल्लेख्य संख्यामा महिलाहरु समेत गएका थिए ।

‘हाम्रो वडामा करोडौं रुपैंया ब्याजमा लगानी लगाउने अनि १०औं विगाह जमिन भएकालाई राहत सामग्री वितरण गरिएको छ’, कैलाश राम दाबी गरे, ‘भकारीमा सयौं क्वीन्टल धान हुने परिवारलाई राहत वितरण गरिएको छ, यो राहत त कसका लागि आएको हो भन्नेमा हाँमी त अचम्म परेका छौं ।’

संघीय र प्रदेश सरकारले प्रति परिवार कम्तिमा २५ किलो चामलसहितको राहत सामग्री दिनुपर्ने नियम बनाएको भन्ने सुनेपनि आफूहरुको समेत भाग काटेर धनी गरिब सबै परिवारलाई  १५ किलो चामलको दरले राहत वितरण गरिएको रामले गुनासो गरे ।

चमार टोलका बासिन्दाले वडा कार्यालयले दिएको राहतसहित केही दिनअघि गाउँपालिका कार्यालयमा समेत धर्ना दिएका थिए । चक्रघट्टा गाउँपालिका–५ का वडाध्यक्ष नागेन्द्रप्रसाद साहले दुई–तीन विगाहसम्म  जमिन भएकाहरुलाई विपन्नको सूचीमा राखेर राहत वितरण गरिएको बताउँछन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार प्रति परिवार १५ किलो चामलसहित अन्य केही खाद्यान्न वितरण गर्ने निर्णय भएकाले तथ्यांक संकलन गरिएका सबै परिवारलाई सोही अनुसार वितरण गरिएको वडाध्यक्ष साहले बताए ।

‘के गर्नु छिमेकीले राहत पायो मैले नपाउने भन्दै झगडा गर्न आउँछन्’, वडाध्यक्ष साहले भने, ‘अनि त नाम राख्दिनै परो, त्यसैले २–३ विगाह सम्म जमिन भएका परिवारले राहत सामग्री पाएका छन् ।’ लकडाउन लम्बिदै गएको अहिलेको अवस्थामा जमिन मात्र भएर पनि खानका लागि समस्या हुने हुँदा मागअनुसार वितरण गरिएको उनको दाबी छ । वडाध्यक्ष साहका अनुसार उक्त वडामा बढीमा ५५० घरधुरी रहेको छ । जसमध्ये ४७६ परिवारलाई राहत सामग्री वितरण गरिएको उनले बताए ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम रायले विपन्न परिवारको लगत संकलनदेखि वितरणसम्म सम्बन्धित वडाध्यक्षहरुकै हात रहने हुँदा आफूलाई सो बारेमा कुनै जानकारी नरहेको बताउँदै आएका छन् । अध्यक्ष यादवले राहतको विषयमा जे जे गुनासो वा सोधपुछ गर्नुपरे सम्बन्धित वडाध्यक्षहरुलाई नै गर्नुपर्ने बताउने गरेका छन् ।

प्रजिअ जिसीले चक्रघट्टा गाउँपालिका वडा नं. ५ का चमार टोलका बासिन्दाले आफूहरुले राहत नपाएको तर धनी वर्गकाले पाएको भन्दै ज्ञापन पत्र बुझाएको जानकारी दिए । प्रहरीले रोकेका कारण धर्नामा गएका महिलाहरु जिविस चोकमै बसेका थिए । स्थानीय प्रशासनले ज्ञापन पत्र बुझाउन ४/५ जनालाई मात्र भित्र पस्न दिएको थियो । सर्लाहीमा अधिकांश स्थानीय तहमा विपन्नको नाममा आएको राहत जमिन्दारी वर्गकालाई समेत दिईएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

 

प्रकाशित: २२ वैशाख २०७७ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App