१३ असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रदेश सरकारलाई १ सय १० थर्मल गन

कर्णाली प्रदेश सरकारलाई थर्मल गन हस्तान्तरण गरिँदै ।

सुर्खेत- रोजगारीका लागि दक्षिण कोरियामा रहेका कर्णालीका बासिन्दाहरुले कर्णाली प्रदेश सरकारलाई एक सय १० थान थर्मल गन (ज्वरो मापन गर्ने मेसिन) उपलब्ध गराएका छन् । कर्णाली प्रदेश समाज दक्षिण कोरियाले उपलब्ध गराएका थर्मल गन शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्तरण गरिएको हो । दक्षिण कोरियाबाट चीन हुँदै पठाइएका स्वास्थ्य सामाग्री पत्रकार नगेन्द्र उपाध्यायले मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले कोरोना महामारीका बेला कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । ‘यो महामारीका बेला आफ्नो कमाईबाट कर्णालीका जनतालाई स्वास्थ्य सेवाका लागि खर्चिनु महत्वपूर्ण र उदाहरणीय हो,’ मुख्यमन्त्री शाहीले भने, ‘तपाईहरुले हस्तान्तरण गरेका सामग्रीलाई महामारी नियन्त्रणका लागि सदुपयोग गर्ने प्रतिवद्धता जनाउँछु ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गरेको सहयोग मात्र नभएर अरुका लागि शिक्षासमेत भएको बताए । ‘कोही पनि व्यक्ति पुगेर विदेशमा जाने होईन, नभएरै कमाउन जाने हो,’ मुख्यमन्त्री शाहीले भने, ‘दुःख गरी कमाएको रकमबाट आफ्नो गाउँठाउँलाई सहयोग गर्नु अरुका लागि शिक्षा पनि हो ।’

सामाजिक विकास मन्त्री दल रावलले पालिका–पालिकामा ज्वरो जाँच्ने मेसिन नभएको अवस्थामा कोरियामा कार्यरत नेपालीहरुले पठाएको सहयोग महत्वपूर्ण भएको बताए । उनले कर्णालीमा केन्द्र सरकारले पठाएको सामग्रीले केही राहत भएपनि ज्वरो नाप्ने थर्मल गनको अभाव रहेको बताए । ‘कोरियामा कार्यरत नेपालीहरुले पठाएको सामाग्रीले कर्णालीलाई ठूलो राहत मिल्नेछ,’ उनले भने, ‘एक साताभित्रै सबै पालिकाहरुमा थर्मल गन पठाउँछौं ।’

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष पदमबहादुर वस्नेतले कोरोना महामारी पहिचानका लागि थर्मल गन महत्वपूर्ण हुने भएकाले खरिद गरेर पठाइएको बताए । उनले आफूहरुले गरेको सहयोग सम्वन्धीत ठाउँमा चाँडोभन्दा चाँडो पुर्‍याएर चेकजाँचलाई तीव्रता दिन अनुरोध गरे ।

‘हामी प्रवासमा भएपनि आफ्नो ठाउँ, गाउँ र देशको चिन्ता सधैं रहन्छ, यस्तो बेला अझ हामीलाई चिन्तित बनाएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘चाँडोभन्दा चाँडो हामीले पठाएका सामाग्रीहरुलाई प्रयोगमा ल्याउन अनुरोध गछौं ।’

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार लक्ष्मीनारायण बस्नेतले प्रदेश सरकारलाई आवश्यक अन्य सहयोग पनि गर्न आफूहरु तयार रहेको बताए । ‘यो कोरोना महामारीमा हामीलाई आफ्नो भन्दापनि घर–परिवार र समाजको चिन्ता छ,’ उनले भने, ‘प्रदेश सरकारलाई आवश्यक अन्य सहयोग गर्न पनि हामी तयार छौं ।’

समाजले कर्णालीका ७९ वटै स्थानीय तह, जिल्ला अस्पताल, कर्णाली भित्रिने नाका र बढी भिडभाड हुने क्षेत्रहरुमा थर्मल गन वितरणका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । सुर्खेतमा १६, रुकुम पश्चिममा १२, सल्यानमा १३, कालिकोटमा ११, मुगुमा ६, दैलेख १४, हुम्लामा ९, डोल्पामा ९, जुम्लामा ११ र जाजरकोटमा ९ वटा थर्मल गनको सुचि सुर्खेत समाज दक्षिण कोरियाले प्रदेश सरकारलाई बुझाएको छ ।

 

प्रकाशित: २० वैशाख २०७७ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App