१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अन्डरग्राउन्ड र्‍याप ब्याटल र यम बुद्धको सफलता

काठमाडौं-युवा गायक एवं चर्चित र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को शनिबार लन्डनमा निधन भएको छ।

उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी बताएका छन्।

यम बुद्धले नेपाली सांगितिक फाँटमा र्‍याप शैली मौलाउन कसरी भुमिका खेले?  र सफलताले उनलाई कसरी पच्छ्यायो? यसबारे नागरिकन्युजमा २०७० मंसिर, १५ मा प्रकाशित यो विशेष कभरेजः

 

अन्डरग्राउन्ड र्‍याप ब्याटल

पाँच महिना अघि केही युवालाई क्रिएटिभ काम गरौं भन्ने लाग्यो। ह्याङ्आउट गर्ने ठाउँ पनि चाहिएको थियो उनीहरूलाई। चर्चित र्‍यापर यम बुद्धसँग कोलिन विक्रम राणा, युनिक पोइटलगायतका साथीहरू थिए। उनीहरूले निर्णय गरे– अन्डर ग्राउन्ड ब्याटल सुरु गर्ने।

अमेरिकन र युरोपियन देशहरूमा निकै चलेका अन्डरग्राउन्ड र्‍याप ब्याटलका पारखी थिए उनीहरू। 'म सानै देखि र्‍याप ब्याटल सुन्थे, र अहिले गाउँछु पनि,' यम बुद्धले भने, 'हामीलाई पनि उनीहरूको जस्तै ब्याटल सुरु गर्न मन लागेको थियो।'

साथीहरूको सहभागिताबारे उनीहरू पूर्ण विश्वस्त थिएनन्। यम बुद्धले केही साथीलाई बोलाए, र्‍याप ब्याटल हल्का सिकाउने र सुरु पनि गर्ने। पहिलो दिन धेरै साथीहरूको सहभागिता भएन। झम्सीखेलको पेरिफेरीमा चार–पाँच जना जम्मा भए। त्यहीँ ब्याटल सुरु भयो।

पेरिफेरीमा जम्मा भएका साथीबीच पहिलो ब्याटल भयो– युनिक पोइट र साकारबीच। 'पहिलो ब्याटल नै राम्रो भइदियो। धेरै राम्रो रेस्पोन्स पायौं,' यम बुद्ध भन्छन्, 'हामीलाई अझ धेरै गर्ने प्रेरणा मिल्यो।' त्यसपछि सुरु भयो रबार्ज अन्डरग्राउन्ड ब्याटल।

सुरु सुरुमा केही मेहनत पनि गर्नुपर्यो। विभिन्न ठाउँबाट साथीहरूलाई जम्मा गरे। ब्याटल स्किल पनि सिकाउँदै गए। पोखरा, विराटनगरबाट पनि केही साथी आए। झम्सिखेलमा गरेको ब्याटललाई भिडियो खिचेर युट्युबमा राखिदिए।

'युट्युबबाट चर्चा कमाउन थालेपछि त हामीले केही गर्ने परेन,' यम भन्छन्, 'पछि त साथीहरूको भीड ठूलो भयो। ब्याटल गर्ने पनि बढ्दै गए।' त्यसपछि हप्तैपिच्छे गर्न थाले। उनी व्यंग्य गर्छन्, 'अहिले त कस्तो भयो भने धरहराबाट ढुंगा फाल्यो भने र्‍यापरलाई नै लाग्छ।'

पहिलो सिजनका सबै इभेन्ट यमले नै नेतृत्व गरेका थिए। अहिले कामको व्यस्तताले समय दिन पाएका छैनन्। भन्छन्, 'मैले हेरुन्जेल ६० भन्दा धेरै ब्याटल गरिएको थियो।' अहिले दोस्रो सिजन चलेको छ। इभेन्ट म्यानेजमेन्ट कोलिन विक्रम राणाले हेर्दै छन्। 'शनिबार पनि हुँदै छ, बाटिका रेस्टुरेन्ट झम्सिखेलमा,' राणाले जानकारी गराए ।

अहिलेका युथलाई कन्फिडेन्ट हुन र्‍याप ब्याटल सुरु गरेको बताउँछन्, यम। 'अहिले कम्तीमा ५०–६० र्‍यापरमा कन्फिडेन्ट आएको छ,' उनले भने। छ–सात जना केटीहरूले पनि सहभागिता जनाइसकेका छन्। यसैलाई प्लाटफर्म बनाएर कतिले एल्बम निकालिसके। कतिपय तयारीमा छन्।

दक्षिण एसियामै नेपालमा पहिलो अन्डरग्राउन्ड र्‍याप ब्याटल सुरु भइसकेको यम बताउँछन्। नेपालको र्‍याप ब्याटल देखेर विदेशी पनि छक्क पर्छन रे । एक स्कटिस पत्रकारले सोधेको प्रश्न यम सम्झन्छन्, 'अन्य एसियन देश नेपालभन्दा कैयन् गुणा धनी र शिक्षित छन्, तर नेपालमा जस्तो र्‍याप ब्याटल किन नभएको होला ?' प्रश्नको उत्तर उनलाई थाहा छैन तर प्रश्न सुनेर उनलाई खुसी लाग्यो रे। नेपाल र्‍याप ब्याटलमा प्रगति गर्दै छ। बिबिसी युके, अमेरिकाको डब्लुबिसीआरले पनि नेपालको र्‍याप ब्याटलको रिपोर्टिङ गरेको राणा बताउँछन्।

राणाका अनुसार नेपालमा र्‍यापरहरू थिएनन्। अहिले विस्तारै र्‍यापर उत्पादन भइरहेका छन् । नेपालको रबार्ज ब्याटल नेपालमा मात्र सीमित रहने भएन। 'अब छिट्टै अस्ट्रेलियामा सुरु हुँदै छ, त्यसपछि जर्मनीजस्ता देशमा पनि कुरा भइरहेको छ,' राणाले भने, 'नेपालबाट दोस्रो सिजनमा उत्कृष्ट ब्याटल गर्नेलाई अस्ट्रेलियामा प्रतिस्पर्धा गर्न पठाइनेछ।'

के हो र्‍याप ब्याटल ?

रबार्ज र्‍याप ब्याटल लिग हो। २०११ को डिसेम्बरबाट सुरु भएको यो लिगको दोस्रो सिजन चलिरहेको छ। चार इपिसोड सकिसकेको दोस्रो सिजन डिसेम्बर महिनाभर चल्छ। दुई–तीन हप्ताको अन्तरालमा हुने यो प्रतिस्पर्धामा दुई र्‍यापरले 'वाक् युद्ध' गर्छन्। शब्दप्रहारबाटै विजय हासिल गर्नुपर्ने हुन्छ। यो एक किसिमको लोकदोहोरीजस्तै हो। तर शैली फरक। यसरी गरिएको ब्याटललाई भिडियो खिचेर युट्युबमा राखिन्छ। किनबेच भने हुँदैन। १८ वर्षभन्दा कम उमेरकालाई ब्याटल हेर्ने अनुमति छैन। वाक् युद्धको जोसमा प्रयोग हुनसक्ने भाषिक 'अशुद्धता'लाई ख्याल गरेर यसमा बन्देज लगाइएको हो।

र्‍यापर हुन लेखक वा कवि हुनुपर्छ। र्‍याप भनेको स्ट्रिट कविता हो। र्‍याप भनेको ठूल्ठुलो पाइन्ट र सिक्री लगाउने मात्र होइन। यो सामाजिक जनचेतनाबाट सुरु भएको हो । साँचो र्‍याप हुनलाई सामाजिक गुण चाहिन्छ। हिपहपभन्दा फरक यो अहिले विश्वका विकसित मुलुमा चलिरहेको छ।

र्‍यापको इतिहास हेर्ने हो भने काला र गोरा जातिको द्वन्द्वसम्म पुग्नुपर्छ। त्यो बेला काला जातिले गोरा जातिलाई सिधै केही भन्न वा विरोध गर्न सक्दैनथे। त्यो अवस्थामा उनीहरू छिटोछिटो बोलेर, गोराले नबुझ्ने गाली गरेर, राजनीतिक घोचपेच गरेर विरोध जनाउँथे। त्यसरी छिटोछिटो बोलेर आफ्ना असन्तुष्टि व्यक्त गर्ने परम्पराबाट र्‍याप गीत सुरु भएको मानिन्छ।

यम बुद्ध

यम बुद्ध अहिले चलेका र्‍यापर हुन्। स्कुलदेखि नै उनलाई र्‍यापमा लगाव थियो। कविता लेख्थे। 'मैले स्कुल पढ्दादेखिनै र्‍याप लेख्न सुरु गरको थिएँ,' उनी भन्छन्।

एंगो इङ्लिस स्कुल पढेका यमले १० कक्षा पुग्दासम्म त नेपाली–अंग्रेजी र्‍याप लेख्न सुरु गरिसकेका थिए। १० कक्षा पढ्दा लेखेको पहिलो र्‍यापमा कक्षाका सबै पिरियडबारे व्याख्या गरिएको उनी बताउँछन्।

कलेज पढ्दा र्‍यापप्रतिको लगाव देखेर आमाले १२ कक्षा सकेपछि एल्बम निकाल्ने वाचा गरिन्। आमाको कुराबाट हौसिएका यम रेकर्डिङका लागि स्टुडियो पुगे । तर उनी ढुक्क हुन सकेनन्। 'म योग्य भएको रहेनछु भन्ने लाग्यो,' उनी भन्छन्, 'त्यसपछि म ब्याक भएँ।'

त्यतिखेर उनी विश्वचर्चित र्‍यापरसँग परिचित भइसकेका थिए। उनले टु पाक, एमिनेम, रन डिएमसी, इजी ई, ओल्ड स्कुल र्‍यापर, विटलस्, इमोर्टल टेक्निक, जे टमाइन, भिन्नी पाज, आर्मी अफ द फारोज, राकिमजस्ता चर्चित ¥यापरका गीत सुन्थे । 'म पनि एक दिन यस्तै बन्छु,' कल्पना गर्थे।

त्यत्ति नै बेला उनी बाइक एक्सिडेन्टमा परे। एक्सिडेन्टको पीडा एकातिर छँदै थियो। तर दुई वर्षको बेड रेस्टलाई उनी उपलब्धिमूलक बनाउन चाहन्थे। त्यही बेला उनले धेरै र्‍याप सुने। प्राक्टिस गरे। र्‍याप ब्याटलप्रति लगाव झनै बढ्दै गयो। मैतिदेवीका एक गायकले उनलाई प्रस्ताव गरे– र्‍याप गीत लेखिदिने हो? उनी घोस्ट राइटर बने।

त्यसपछि बेलायत गएका उनी डेढ वर्ष फर्किएनन्। उनले लेखेको गीत त चर्चित भइसकेछ– उतै छँदा थाहा पाए। अरूले नै गाएको उनको गीत बजारमा राम्रैसँग चल्यो। ती गायकले नाम पनि कमाए। 'उनको नाम लिन चाहन्नँ,' उनी भन्छन्, 'तर उनी अहिले चर्चित छन्।'

उनलाई लाग्यो– 'आफैंले लेख्दा पनि हुँदो रहेछ।' २०११ मा बेलायतबाट फर्केपछि नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो । 'उताको मेहनत यता गर्यो भने एकैपटकमा १० काम गर्न सकिन्छ,' उनी भन्छन्, 'त्यसपछि म पूर्णरूपमा म्युजिकतिर लागेँ।'

नेपाल आएर उनले २१ गीत समेटेर एउटा एल्बम निकाले। उनले सबै गीत निःशुल्क बाँडे। यसबाट एक–दुई गीत चलेको उनी बताउँछन्। गत वर्ष एकादेशमा मिक्स टेप गरे। यही डिसेम्बर ६ मा अर्को मिक्स टेप निकाल्दै छन्। उनी भन्छन्, 'यो सबै मेरो फ्यानको लागि हो। पैसा कमाउने उद्देश्यले होइन।' यसलाई पनि उनी सित्तैमा बाँड्दै छन्।

२००७ मा उनले ब्याटल र्‍याप प्रतियोगितामा भाग लिएका थिए। प्रतिस्पर्धामा उनी उत्कृष्ट भए । 'त्योभन्दा अगाडि बेडरेस्ट गर्दा पनि वर्ड स्टेजमा इन्टरनेटमा ब्याटल ¥याप गर्थें,' उनले सुनाए।

बालेन शाह

रबार्ज र्‍याप ब्याटलबाट चर्चामा आएका एक र्‍यापर हुन्, बाले। पछिल्लो समय उनी तथ्य एल्बमसँग चर्चामा छन्। रबार्जमा उनले एक ब्याटल गरेका थिए। स्कुलदेखि नै र्‍यापमा सौखिन बालेन त्यहीँबाट चर्चामा आए। युट्युबमा उनका सातवटा गीत छन्।

'अब भने व्यावसायिक रूपमा संगीतमा लाग्छु,' सिभिल इन्जिनियरिङका विद्यार्थी बालेन भन्छन, 'अरू गीतको तयारी गर्दै छु।'

प्रेक्षा बज्राचार्य

प्रेक्षाले स्कुलदेखि नै र्‍याप लिरिक्सहरू लेख्थिन्। एमिनेम, जे बोल जस्ता र्‍यापरको गीत सुन्थिन्। उनलाई पनि यस्तै र्‍याप गर्न सकिन्छ भन्ने लाग्थ्यो। उनले पनि मौका पाइन्, रबार्जमा र्‍याप ब्याटल गर्ने। ठमेलको पर्पल हज रक बारमा अर्की र्‍यापर सामयुनसँग उनको भिडन्त भयो।

पहिलोपटक भए पनि उनलाई आत्मविश्वास थियो। हल्काफुल्का दिइहालिन्। कुपन्डोल एलबिइएसमा पढ्दै गरेकी प्रेक्षाले भनिन्, 'र्‍यापले प्रिजेन्टेसन स्किल बढाउँछ। क्राउडलाई मनोरन्जन दिनका लागि पनि र्‍याप गरिरहेको छु ।'

सामयुन कार्की

सामयुनलाई बोलिरहन मन पर्छ। बोल्ने उनको बानी हो। त्यही कारण पनि उनलाई र्‍याप ब्याटल मन पर्छ र गर्न पनि चाहन्छिन्।

सामयुनले रबार्जमा दुईवटा ब्याटल गरिसकेकी छन्। परी र रिदम अपसँग। 'ब्याटलमा भिड्दा प्रतिस्पर्धीको बारेमा धेरै कुरा थाहा भएको हुनुपर्छ,' सामयुन भन्छिन्, 'उसको कमजोरी थाहा भयो भने रिप्लाई गर्न सजिलो हुन्छ।' पहिलो ब्याटल गर्दा अलिकति नर्भस थिइन् उनी। पछि भने बानी पर्दै गएको उनी बताउँछिन्।

ल क्यापम्पसमा पढ्दै गरेकी सामयुनलाई रबार्जको तेस्रो सिजनमा पनि ब्याटल गर्ने चाहना छ। -(यो २०७० मंसिर, १५ मा प्रकाशित सामग्री हो)

प्रकाशित: २ माघ २०७३ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App